जंगलको एउटा पुरानो कथा, एकदिन सिंहले सबै जनावरलाई दरबारमा बोलायो । उसको शरीरबाट दुर्गन्ध आउन थालेको थियो । तर सलाई गन्धभन्दा बढी आफ्नो प्रतिष्ठाको चिन्ता थियो ।
उसले गर्जेर सोध्यो, “के मेरो शरीर गन्हाएको छ ?”
पहिलो जनावर डरायो र चाकडीको भाषा बोल्यो, “महाराज, तपाईं त सुगन्धित हुनुहुन्छ ।”
सिंह रिसायो किनकि उसलाई झुटो प्रशंसा मन परेन । पहिलो जनावर मारियो ।
दोस्रो जनावरले सत्य बोल्यो, “महाराज, गन्हाएको छ ।”
सिंहको अहंकारमा चोट पुग्यो, त्यो पनि मारियो ।
तेस्रो जनावर केहीबेर मौन बस्यो । अनि शान्त स्वरमा भन्यो, “महाराज, केही दिनदेखि मेरो नाकले गन्ध छुट्याउन सकेको छैन ।”
सिंह शान्त भयो, तेस्रो जनावर बाँच्यो ।
यो केवल जंगलको कथा मात्र होइन ।
यो सत्ता, डर, चाकडी, सत्य र बुद्धिमानीको कथा हो । यो सायद नेपालको परिवेशसँग मिल्दो छ ।
नेपालको राजनीतिक इतिहास हेर्दा बारम्बार यही दृश्य दोहोरिएको देखिन्छ ।
राणाकालमा सत्ता सीमित मानिसहरूको हातमा केन्द्रित भयो । जनताको आवाज दबाइयो । शिक्षा र चेतनामाथि नियन्त्रण गरियो । आलोचना अपराधजस्तै बनाइयो ।
मानिसहरू बिस्तारै डराउन सिके । डर केवल व्यवहारमा होइन, सोचाइमै बस्न थाल्यो ।
त्यसपछि वीचमा केही वर्ष प्रजातन्त्रको नाममा शासन चल्यो र पछि पंचायती व्यवस्था उदायो । राष्ट्रवाद र व्यवस्थाको नाममा फरक विचारलाई शत्रुजस्तै व्यवहार गरियो । सत्यभन्दा मौनता सुरक्षित बन्यो । चाकडी गर्नेहरू नजिक भए, प्रश्न गर्नेहरू टाढा पारिए ।
तर इतिहासले एउटा कुरा सधैं प्रमाणित गर्छ, जनताको आवाज धेरै समयसम्म थुनिएर बस्न सक्दैन ।
त्यसैले आन्दोलनहरू जन्मिए ।
रगत बग्यो ।
बलिदान भयो ।
२०४६ को अन्दोलनले जनतामा अब देश बदलिन्छ भन्ने आशा पलाएको थियो तर दशवर्षे जनयुद्धले जनता थेचिए । थोरै चेतनाको जग त बस्यो तर धेरै नरसंहार भयो, देशको धनजन क्षती भयो । त्यसपछि २०६२÷६३ ले नेपाललाई गणतन्त्र दियो । २०७२ मा नयाँ संविधान बन्यो । नयाँ सपनाहरू जन्मिए ।
तर आज पनि हजारौं युवाको मनमा एउटा गहिरो प्रश्न जीवित छ, “यति धेरै परिवर्तनपछि पनि हाम्रो जीवन किन बदलिन सकेन ?”
नेपालका गाउँहरू रित्तिँदै छन् ।
घरका आँगन सुनसान छन् ।
खेती बाँझो हुँदैछ ।
विद्यालयमा विद्यार्थी घट्दैछन् ।
हरेक दिन विमानस्थलबाट हजारौं युवा विदेशिन्छन् ।
कसैले खाडी रोजेको छ ।
कसैले जापान ।
कसैले कोरिया ।
कसैले अष्ट्रेलिया ।
अनि कतिले अमेरिका ।
उनीहरू केवल शिक्षा लिन र पैसा कमाउनका लागि मात्र गएका होइनन् ।
उनीहरू अवसर खोज्न गएका हुन्, सम्मान खोज्न गएका हुन् र असल भविष्य खोज्न गएका हुन् ।
कति आमाहरू छोराछोरी फर्किने बाटो हेरेर बसिरहेका छन् ।
कति बालबालिकाले आमाबाबुको माया मोबाइलको पर्दामा खोजिरहेका छन् ।
देश केवल भूगोल मात्र होइन, देश भनेको सम्बन्ध हो, देश भनेको भरोसा हो र जब त्यो भरोसा टुट्न थाल्छ, मानिसहरू शरीरले मात्र होइन, आत्माले पनि विदेशिन्छन् ।
आजको जेन–जी पुस्ता यही पीडाबाट जन्मिएको चेतना हो ।
उनीहरू पुरानो शैलीको राजनीति स्वीकार्न चाहँदैनन् ।
उनीहरू प्रश्न गर्छन् ।
उनीहरू परिणाम खोज्छन् ।
उनीहरू भाषणभन्दा व्यवहार हेर्छन् ।
यही कारणले रवी लामिछाने, बालेन शाहा जस्ता पात्रहरू धेरै युवाको आशाको केन्द्र बने ।
राष्ट्रिय स्वतन्त्र पाटीको उदय पनि जनताको थकान, निराशा र परिवर्तनको चाहनाबाट भएको हो भन्न सकिन्छ ।
त्यस्तै बालेन शाह जस्ता धेरै युवाका लागि केवल एउटा व्यक्ति होइनन्, एउटा प्रतीक बने ।
विद्रोहको प्रतीक ।
वैकल्पिक सोचको प्रतीक ।
पुरानो राजनीतिक संस्कृतिप्रतिको असन्तुष्टिको प्रतीक ।
आज धेरै युवाहरूको मनमा एउटा आशा छ, “यदि नयाँ पुस्ताको नेतृत्वले साँच्चै देश चलाउने अवसर पायो भने, शायद नेपाल बदलिन सक्छ ।”
तर इतिहासले यहाँ एउटा गम्भीर चेतावनी पनि दिन्छ ।
हरेक नयाँ शक्ति सुरुमा आशा बन्छ ।
तर जब उसले आलोचना सुन्न छोड्छ, त्यही आशा बिस्तारै निराशामा बदलिन थाल्छ ।
राणा शासन त्यसैले ढल्यो ।
पञ्चायत त्यसैले समाप्त भयो ।
धेरै दलहरू जनताको मनबाट त्यसैले हराए ।
किनकि उनीहरूले आलोचनालाई शत्रु ठाने ।
सत्य बोल्नेहरूलाई असहज माने ।
आफ्नो वरिपरि ताली बजाउने मानिस राखे ।
सत्ताको सबैभन्दा ठूलो शत्रु विपक्षी होइन, चाकडी हो ।
चाकडीले नेतृत्वलाई यथार्थबाट टाढा बनाउँछ ।
उसलाई लाग्छ, “सबै ठीक छ ।”
तर जनताको मौनता कहिलेकाहीँ विस्फोटअघिको सन्नाटा हुन्छ ।
त्यसैले आजको नयाँ नेतृत्व, राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवी लामिछाने र प्रधान मन्त्रि बालेन्द्र शाह आशाका प्रतीकहरू सबैले एउटा कुरा गहिरो रूपमा बुझ्न जरुरी छः
जनताले तपाईंहरूलाई भगवान बनाएर होइन, आशा बनाएर अगाडि ल्याएका हुन् । यही दलका कतिपय संसादले आफूलाई भगवान जस्तै ठानेर राष्ट्रसेवकलाई थर्काउने, जनतालाई तर्साउने जस्ता व्यवहार गरेका छन् भनेर सामाजिक संजालबाट प्रचारित भएका तथ्यहरु सुनिन्छन् । त्यसमा नेतृत्वले ध्यन दिन र त्यस्ता व्यवहारहरुलाई सही बाटोमा हिडाउन आवश्यक छ अनि मात्र जनतको विश्वास र आशालाई जोगाउन सकिन्छ ।
आशालाई जोगाउने एउटै उपाय छ,
आलोचना सुन्नु ।
असहमति सुन्नु ।
सडकको आवाज सुन्नु ।
विदेशिएको युवाको पीडा सुन्नु ।
लोकतन्त्रको सुन्दरता तालीमा होइन, प्रश्नमा हुन्छ ।
यदि नयाँ नेतृत्व पनि पुरानै अहंकारको बाटोमा हिँड्यो भने, इतिहास फेरि दोहोरिन सक्छ ।
फेरि युवाहरू निराश हुनेछन् ।
फेरि विमानस्थल भरिनेछन् ।
फेरि गाउँ रित्तिनेछन् ।
नेताहरुलाई हेलीकप्टरमा चढेर भाग्ने अवसर पनि नमिल्न सक्छ यदि युवा निरास भए भने ।
नेपाललाई अहिले केवल फोस्रो विकासको नारा होइन, सुन्ने संस्कृतिको आवश्यकता छ ।
जहाँ नागरिक डराएर होइन, खुलेर बोल्न सकून् ।
जहाँ सरकार आलोचनाबाट रिसाउने होइन, सिक्ने बनोस् ।
जहाँ नेतृत्वले गल्ती स्वीकार्न लाज नमानेको होस् ।
किनकि जुन देशमा नागरिक डराउँछन्, त्यो देश कहिल्यै समृद्ध बन्न सक्दैन र जुन देशमा युवाले भविष्य देख्दैनन्, त्यो देशको भविष्य पनि सुरक्षित रहँदैन ।
सायद नेपाललाई अब ठूलो भाषण होइन, ठूलो मन भएको नेतृत्व चाहिएको छ ।
सायद नेपाललाई अब जनता विदेश पठाउने देश होइन, विदेशिएका नागरिक फर्किन चाहने मातृभूमि बनाउनुपर्छ ।
त्यो दिन मात्रै नेपाल साँच्चै सुन्दर हुनेछ, जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युवाहरू बिदा हुन होइन, फर्किन लाइन लाग्नेछन् ।
जब आमाबुबाले आफ्ना सन्तानलाई मोबाइलको पर्दामा होइन, आफ्नै आँगनमा भेट्नेछन् ।
जब नेपाल केवल जन्मभूमि मात्र होइन, भविष्यको भूमि बन्नेछ ।
धन्यवाद ।