साँझ घर फर्किने बाटोमा एउटी छोरीले आफू सुरक्षित छु भन्ने अनुभूति गर्न पाउनुपर्छ । एउटी आमाले आफ्नी छोरी ढोका खोल्दै घरभित्र पस्ने प्रतीक्षा गर्दा मनमा डर होइन, विश्वास बोकेकी हुनुपर्छ । तर दुःखको कुरा, नेपालमा हरेक केही समयपछि कुनै न कुनै छोरीको नाम फेरि समाचारको शीर्षक बन्छ, हत्या, हिंसा, बलात्कार, उत्पीडन वा रहस्यमय मृत्युको पीडादायी कथासँगै ।
केही दिनअघि काठमाडौंकी ईश्वरी भुजेलको हत्या भयो । नेपाली सेनामा कार्यरत ईश्वरी राष्ट्रसेवाको आफ्नो कर्तव्य पूरा गरेर घर फर्किंदै गर्दा ज्यान गुमाउन बाध्य भइन् । प्रारम्भिक अनुसन्धान अनुसार घटना घरेलु विवादसँग जोडिएको बताइएको छ । तर एउटा तथ्य निर्विवाद छ, एक छोरी, एक महिला, एक नागरिक र एक राष्ट्रसेवकले आफ्नो जीवन गुमाएकी छन् । उनका सपना, परिवारका आशा र भविष्यका योजनाहरू एकै क्षणमा समाप्त भए ।
ईश्वरीको घटना सेलाउन नपाउँदै भक्तपुरकी ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको दुःखद मृत्युको खबर आएको छ । आफ्नै श्रीमान्को आक्रमणबाट उनको ज्यान गयो । त्यो घटनामा उनको आठ वर्षीय छोरा समेत घाइते भए । एउटा आमाको जीवन मात्र समाप्त भएन, एउटा बालकको बाल्यकाल पनि गहिरो मानसिक आघातले भरियो । उसले अब जीवनभर आफ्नो आँखाअघि घटेको त्यो पीडादायी दृश्य बोकिरहनुपर्नेछ ।
यसअघि झापाकी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणले देशलाई स्तब्ध बनाएको थियो । सुर्खेतकी किशोरी इनिशा विकको घटनाले हजारौँ नागरिकलाई सडकमा उत्रन बाध्य बनायो। न्याय र सुरक्षाको माग फेरि एकपटक बुलन्द बन्यो । सामाजिक सञ्जालदेखि सडकसम्म एउटै प्रश्न गुञ्जियो, हाम्रा छोरीहरू सुरक्षित कहिले हुन्छ ?
तर यी घटनाहरू केवल केही दिनको समाचार मात्र हुन्छन् अनि सेलाउँदै जान्छन् ? यो अवस्थामा हामीले कहिलेसम्म बस्ने हो ।
हामीले निर्मला पन्तलाई बिर्सेका छैनौँ । बैतडीकी भागरथी भट्टलाई पनि बिर्सेका छैनौँ । बझाङकी सम्झना कामीको पीडा पनि हाम्रो स्मृतिमा ताजै छ । देशका विभिन्न कुनामा हत्या, बलात्कार, घरेलु हिंसा, लैङ्गिक हिंसा र बालिका विरुद्धका अपराधका घटनाहरू दोहोरिरहेछन् । नाम फरक छन्, जिल्ला फरक छन्, तर पीडा एउटै छ, एक छोरीको सपना बीच बाटोमै समाप्त भएको पीडा ।
रुपन्देही देवदहकी अंगिरा पासीको घटना पनि नेपाली समाजले कहिल्यै बिर्सन सक्दैन । अन्तरजातीय बालविवाह, यौन हिंसा र सामाजिक दबाबको चपेटामा परेकी अंगिराले न्याय नपाएको अनुभूतिसँगै अन्ततः जीवन त्याग्न बाध्य भइन् । उनको मृत्युले केवल एउटा परिवारलाई होइन, सिंगो राष्ट्रको अन्तरात्मालाई झस्काएको थियो ।
बझाङकी सम्झना कामीको हत्या प्रकरणले ग्रामीण भेगका महिला तथा किशोरीहरूको असुरक्षाको कठोर यथार्थ उजागर ग¥यो । बैतडीकी भागरथी भट्ट विद्यालयबाट घर फर्किंदै गर्दा बलात्कारपछि हत्या गरिइन् । त्यो घटनापछि देशभर न्यायको माग उठ्यो, आन्दोलन भए, प्रतिबद्धताहरू गरिए । तर त्यसपछि पनि यस्ता घटनाहरू रोकिएनन् ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपालको न्याय प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ । वर्षौँ बितिसक्दा पनि निर्मलाको नाम केवल एउटा अपराधको पीडितका रूपमा होइन, न्यायको प्रतीक्षामा रहेको एउटा प्रतीकका रूपमा स्मरण गरिन्छ । निर्मलासँगै एउटा परिवारको सपना मात्र टुटेन, न्यायप्रति आम नागरिकको विश्वाससमेत गम्भीर रूपमा आहत भयो ।
त्यसपछि पनि पीडाको शृङ्खला रोकिएन । नवलपुरकी गोमा लम्सालको घटनाले फेरि एकपटक बालिकामाथि हुने यौन हिंसा र शोषणका घटनाहरू कति गम्भीर छन् भन्ने प्रश्न उठायो । हरेक घटनापछि समाज आक्रोशित हुन्छ, केही दिन बहस चल्छ, न्यायको माग उठ्छ, तर फेरि अर्को छोरीको नाम समाचारको शीर्षक बन्न पुग्छ ।
आज ईश्वरी भुजेल, सलिना तोलाङ्गे विश्वकर्मा, रमा तिवारी र इनिशा विकका घटनाहरूले फेरि त्यही प्रश्न हाम्रो सामुन्ने उभ्याएका छन्, हामी आखिर कहिलेसम्म आफ्ना छोरीहरू गुमाइरहने छौँ?
यी घटनाहरूले केवल पीडित परिवारलाई मात्र असर गरेको र्छैन । यस्ता अपराधले सम्पूर्ण समाजलाई घाइते बनाएको छ । हरेक घटना पछि हजारौँ अभिभावकको मनमा डर बढ्छ । छोरीहरूलाई पढ्न, काम गर्न, यात्रा गर्न वा आफ्नो भविष्य बनाउन स्वतन्त्र वातावरण दिनुपर्ने समाजमा उल्टै सुरक्षा चिन्ता बढ्दै जान्छ । जब कुनै समाजका महिलाहरू र बालिकाहरू सुरक्षित महसुस गर्दैनन्, त्यो समाजको विकास, सभ्यता र न्याय प्रणालीमाथि नै प्रश्न उठ्छ ।
सबैभन्दा दुःखद पक्ष के छ भने यस्ता घटनापछि पनि हामी मूल समस्यामाथि पर्याप्त बहस गर्न सकिरहेका छैनौँ । कहिलेकाहीँ सामाजिक सञ्जालमा पीडितमाथि नै प्रश्न उठाइन्छ । चरित्रहत्या गरिन्छ । अपुष्ट कथा र अफवाह फैलाइन्छ । पीडितले कहाँ गइन्, कसलाई भेटिन्, किन यस्तो भयो भन्ने प्रश्नहरू उठाइन्छन् । तर एउटा कुरा स्पष्ट छ, कुनै पनि परिस्थितिमा हिंसा, हत्या वा यौन अपराधको जिम्मेवारी पीडितको होइन, अपराधीको हुन्छ ।
हामीले यो सत्यलाई समाजको चेतनामा गहिरो गरी स्थापित गर्नुपर्छ । कुनै महिला स्वतन्त्र रूपमा हिँडेको, काम गरेको, अध्ययन गरेको वा आफ्नो निर्णय गरेको कारण हिंसाको पात्र बन्नु हुँदैन । कुनै सम्बन्धमा विवाद भयो भन्दैमा समाधान हिंसा होइन । कुनै सम्बन्ध टुट्यो भन्दैमा हत्या स्वीकार्य हुँदैन । कुनै अस्वीकारलाई हिंसाले उत्तर दिन मिल्दैन ।
आज आवश्यकता केवल दोषी पक्राउ पर्नु मात्र होइन । आवश्यकता छ निष्पक्ष अनुसन्धान, शीघ्र न्याय, पीडितमैत्री कानुनी प्रक्रिया र अपराधप्रति शून्य सहनशीलताको ।
विशेषगरी महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा आघात–संवेदनशील न्यायिक अन्तर्वार्ता ९त्चबगmब–क्ष्लायचmभम ँयचभलकष्अ क्ष्लतभचखष्भध० को अभ्यास गर्न र यसलाई प्रभावकारी बनाउन आवश्यक छ । पीडित वा पीडित परिवारसँग गरिने सोधपुछले उनीहरूलाई थप पीडा होइन, सम्मान, सुरक्षा र विश्वास दिनुपर्छ । न्याय खोज्ने प्रक्रियाले पुनः पीडितीकरण गर्नु हुँदैन । अनुसन्धान प्रणालीले प्रमाण सङ्कलन, मनोसामाजिक सहयोग र कानुनी प्रक्रियालाई मानव अधिकारमैत्री बनाउनुपर्छ । पीडिले अब म सुरक्षित छु भन्ने आभासका साथ आफ्ना पीडा पोख्ने वातावरण पाउनुपर्छ ।
हामीले आफ्ना छोराहरूलाई पनि सिकाउनुपर्छ कि सम्बन्ध स्वामित्व होइन, सम्मान हो । प्रेम नियन्त्रण होइन, विश्वास हो । अस्वीकार, विवाद वा सम्बन्ध विच्छेदको उत्तर हिंसा हुन सक्दैन । क्रोध, ईष्र्या, स्वामित्वको भावना र हिंसात्मक सोचलाई सामान्य मान्ने संस्कृतिको अन्त्य हुनुपर्छ । महिला र पुरुषबीच समानता, सम्मान र मानव मर्यादाको शिक्षा परिवारदेखि विद्यालयसम्म निरन्तर दिनुपर्छ ।
अभिभावक तथा परिवार सचेत हुनुपर्छ । विद्यालयले मूल्यमान्यतामा आधारित तथा असल चरित्रतामा आधारित शिक्षा दिनुपर्छ । समुदायले हिंसाका संकेतहरू देख्दा मौन बस्नु हुँदैन । स्थानीय सरकारदेखि संघीय सरकारसम्म सबै निकायले कानुन कार्यान्वयनमा कुनै सम्झौता गर्नु हुँदैन । प्रहरी, न्यायालय, सामाजिक संस्था, सञ्चारमाध्यम र नागरिक समाज सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि संवेदनशीलता अपनाउन आवश्यक छ । आफ्नो भ्यूवर र फलोर बढाउने उद्देश्यले समाचारलाई सनसनी बनाउने होइन, सत्य र न्यायको पक्षमा उभिने संस्कृति विकास गर्नुपर्छ । पीडितको गोपनीयता, सम्मान र मानव मर्यादाको रक्षा गरिनुपर्छ ।
ईश्वरी, सलिना, रमा, इनिशा, गोमा, निर्मला, भागरथी, सम्झना, अंगिरा र अन्य नामसमेत सार्वजनिक हुन नसकेका असंख्य छोरीहरू केवल समाचारका शीर्षक होइनन् । उनीहरू अधुरा सपनाहरू हुन् । उनीहरू अपूरा रहन पुगेका भविष्य हुन् । उनीहरूका आमाबुबाका आँखामा आज पनि बगिरहेका आँसु हुन् । जबसम्म एउटा पनि छोरी डर बिना विद्यालय जान, काम गर्न, यात्रा गर्न र घर फर्किन सक्दिनन्, तबसम्म हाम्रो विकास, हाम्रो सभ्यता र हाम्रो लोकतन्त्र अपूर्ण रहनेछ ।
आज ईश्वरी भुजेल, सलिना तोलाङ्गे विश्वकर्मा, रमा तिवारी, इनिशा विक, भागरथी भट्ट, निर्मला पन्त, सम्झना कामी, अंगिरा पासी, गोमा लम्साल तथा हिंसाका कारण ज्यान गुमाएका असंख्य महिला तथा बालिकाहरूको सम्झनामा हामीले एउटा सामूहिक प्रतिबद्धता गर्नुपर्छ ।
हामी मौन बस्ने छैनौँ ।
हामी अन्यायलाई सामान्य मान्ने छैनौँ ।
हामी पीडितको पक्षमा उभिनेछौँ ।
हामी तथ्य, न्याय र मानवताको पक्षमा आवाज उठाइरहनेछौँ ।
किनकि एउटी छोरी साँझ घर फर्किँदा सुरक्षित महसुस गर्दिनन् भने त्यो समाज कति सभ्य छ भनेर प्रश्न उठ्छ । एउटी आमाले आफ्नी छोरीको सुरक्षाको चिन्ताले रातभर निदाउन सक्दिनन् भने त्यो केवल परिवारको समस्या होइन, सम्पूर्ण राष्ट्रको असफलता हो, असक्षमता हो ।
एउटा छोरीको सुरक्षा केवल उसको परिवारको मात्र चिन्ता होइन, त्यो राष्ट्रको नैतिकताको परीक्षा हो ।
छोरीको सुरक्षा केवल परिवारको मात्र जिम्मेवारी होइन, यो राज्य, समाज, समुदाय र हामी सबैको साझा दायित्व हो ।
स्वर्गीय ईश्वरी भुजेल, सलिना तोलाङ्गे विश्वकर्मा, रमा तिवारी, इनिशा विक, भागरथी भट्ट, निर्मला पन्त, सम्झना कामी, अंगिरा पासी, गोमा लम्साल तथा हिंसाका कारण ज्यान गुमाएका सम्पूर्ण महिला तथा बालिकाहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
उहाँहरूको सम्झनामा एउटै संकल्प गरौँ,
“अब अर्को निर्मला, अर्को भागरथी, अर्को सम्झना, अर्को अंगिरा, अर्को गोमा, अर्को इनिशा, अर्को रमा, अर्को सलिना र अर्को ईश्वरी बन्न नपरोस् । अब कुनै आमाले आफ्नी छोरीको तस्बिर अगाडि रोइरहन नपरोस् । अब कुनै छोरीले आफ्नो सपना पूरा गर्नुअघि अकालमा जीवन गुमाउन नपरोस् ।”
यही हाम्रो आवाज हो । यही हाम्रो जिम्मेवारी हो । यही न्यायप्रतिको हाम्रो प्रतिबद्धता हो ।
धन्यवाद ।
(लेखकः “श्रमिक” मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्य गर्ने अभियानमा क्रियाशील सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ ।)