नेपाली चलचित्र सम्पादन क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय चलचित्र सम्पादक नहकुल खड्का राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ अन्तर्गत सर्वोत्कृष्ट चलचित्र सम्पादकको सम्मानबाट विभूषित भएका छन्। सम्माननीय राष्ट्रपतिबाट पुरस्कार ग्रहण गरेका खड्काका लागि यो उपलब्धि लामो समयदेखिको निरन्तर मेहनत, समर्पण र व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धि बनेको छ।
यस वर्षको पुरस्कार प्रतिस्पर्धामा उनले सम्पादन गरेका चलचित्र ‘के घर के डेरा : घर नम्बर २’, ‘कोसेढुंगा’ र ‘हरिबहादुरको जुत्ता’ सहभागी थिए। यसअघि सम्पन्न ग्रामीण फिल्म फेस्टिभलमा समेत ‘के घर के डेरा : घर नम्बर २’ चलचित्रमार्फत उत्कृष्ट सम्पादकको अवार्ड जितेर उनले आफ्नो क्षमताको प्रमाण प्रस्तुत गरिसकेका थिए।
धनकुटामा जन्मिएका खड्का विगत १९ वर्षदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय छन्। सहायक सम्पादकका रूपमा आफ्नो करियर सुरु गरेका उनले सहसम्पादक हुँदै मुख्य सम्पादकको रूपमा स्थापित पहिचान बनाउन सफल भएका हुन्। यो अवधिमा उनले सहायक सम्पादक, सहसम्पादक तथा सम्पादकका रूपमा २०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।
चलचित्र वृत्तमा उनी शान्त स्वभाव, जिम्मेवारीबोध र कामप्रतिको उच्च प्रतिबद्धताका लागि परिचित छन्। प्रचारप्रसारभन्दा कामलाई प्राथमिकता दिने उनको स्वभावका कारण उनी पर्दापछाडिका सफल प्राविधिकमध्ये एक मानिन्छन्। लामो समय सम्पादन कक्षमा बिताएका खड्काले चलचित्रको दृश्यभाषा, कथाको संरचना र पात्रहरूको भावनात्मक यात्रालाई गहिरोसँग बुझ्ने अनुभव हासिल गरेका छन्।
खड्काले डेढ दशकभन्दा बढी समयदेखि यही जिम्मेवारीलाई निरन्तरता दिँदै आएका छन्। उनले चलचित्र सम्पादन सुरु गर्दाको एनालग प्रविधिदेखि आजको आधुनिक डिजिटल सम्पादन प्रणालीसम्मको परिवर्तनलाई नजिकबाट अनुभव गरेका छन्। नयाँ सफ्टवेयर, डिजिटल फाइल व्यवस्थापन प्रणाली तथा बदलिँदो चलचित्र निर्माण शैलीसँगै आफूलाई अद्यावधिक गर्दै उनले सम्पादन क्षेत्रमा निरन्तर सक्रियता कायम राखेका छन्।
राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ ले नहकुल खड्काको योगदानलाई राष्ट्रिय स्तरमा औपचारिक मान्यता दिएको छ। साथै, आगामी दिनमा अझ उत्कृष्ट र परिष्कृत काम प्रस्तुत गर्ने जिम्मेवारीसमेत थपिएको उनी स्वीकार गर्छन्।
उनको सफलताले चलचित्र उद्योगमा पर्दापछाडि रहेर काम गर्ने सम्पादक, छायाकार, ध्वनि प्राविधिक, कला निर्देशकलगायत प्राविधिक जनशक्तिको योगदानलाई पनि पुनः चर्चामा ल्याएको छ। चलचित्रलाई पूर्णता दिन कलाकार र निर्देशकसँगै यस्ता प्राविधिकहरूको भूमिका समान रूपमा महत्वपूर्ण भए पनि उनीहरूको योगदानबारे सार्वजनिक चर्चा तुलनात्मक रूपमा कम हुने गरेको छ।