आज संविधान जारी भएको दिन स्मरण गर्दै पाँचौं संविधान दिवस मनाइँदै छ। २०७२ असोज ३ का दिन संविधानसभाबाट बनेको संघीयतासहितको नयाँ संविधान जारी भएको थियो ।
संविधान जारी भएको दिनलाई स्मरण गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको शुभकामना दिएका छन्।
उनले शुभकामना दिँदै नेकपालाई विश्वास गरी बहुमत प्रदान गरेकामा नेपाली नागरिकप्रति आभार प्रकट गरेका छन्।
भिडियोमार्फत शुमकामना दिँदै अध्यक्ष प्रचण्डले तत्कालीन कम्युनिस्टका दुई ठूला घटक (एमाले–माओवादी) को एकतालाई नेपाली जनताले सहर्ष स्वीकार गर्दै निर्वाचनमा दुईतिहाइ बहुमत दिएकोप्रति आफू ‘नतमस्तक’ रहेको उल्लेख गरेका हुन्।
उनले सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
उनले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा पनि एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए।