सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा बोलोभियालाई ५-० ले पराजित गरेको छ ।
ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले २ गोल गर्दा फिलिपे कोउटिन्हो र मार्किन्हसले १-१ गोल गरे । एक गोल भने आत्मघाती भएको थियो । डिफेन्डर ड्यानीलोको क्रसमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै दक्षिण अमेरिकी च्यापियनलाई अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा नेयामार र रेनान लोडीले पेनाल्टी क्षेत्रभित्र वन-टु पास खेलेपछि लोडीले दिएको क्रसलाई फिर्मिनोले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यस्तै ४८ औं मिनेटमा नेयामारको क्रसमा फिर्मिनोको प्रहार गोलरक्षकको खुट्टा मुनिबाट छिर्दै गोलमा परिणत भयो । ६६ औं मिनेटमा फिलिपे कोउटिन्होको क्रस पेनाल्टी क्षेत्रभित्र रहेका बोलिभियाको डिफेन्डर जोसे मारिया करास्कोको पेटमा लाग्दै गोल भएको थियो ।
७३ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ५ गोलको अग्रता दिलाए । उनले नेयमारको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । ७८ औं मिनेटमा नेयमारले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै उक्त गोललाई मान्यता दिएनन् ।