मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन ।
शिक्षक श्रेष्ठलाई बर्खे जंगलमा लगेर विप्लव समूहले हत्या गरेको एसपी खड्काले बताएका छन ।आज बिहान सवा ६ बजेतिर चार–पाँच जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर जंगल लगेका थिए ।
घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको प्रहरीले बताएको छ । सो घटनापछि त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
शिक्षक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको प्रहरीले बताएको छ ।
शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको एसपी खड्काले बताएका छन । ‘हाम्रो प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको छ, घटनास्थल पुगेपछि विस्तृत जानकारी आउँछ,’ खड्काले भने ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले आफूहरु पनि घटनास्थलतर्फ जाँदै गरेको बताएका छन । विप्लव समूहले भने यसबारे अहिलेसम्म केही बताएको छैन ।