• शुक्रवार, आश्विन ९ गते २०७७

आउनुहोस्- ओलीविरुद्ध संयुक्त मोर्चा कसौँ !

आउनुहोस्- ओलीविरुद्ध संयुक्त मोर्चा कसौँ !

आउनुहोस्- ओलीविरुद्ध संयुक्त मोर्चा कसौँ !

  • 223
    SHARES

  • आउनुहोस्- ओलीविरुद्ध संयुक्त मोर्चा कसौँ !

    चितवनबाट पत्रकार सूर्य बरालले अपरान्हतिर यो सूचना ट्याग गरिदिनुभएको रहेछ, ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, रातो खबर पत्रिकाका निर्देशक एवम् क्रान्तिकारी लेखक अनिल शर्मा ‘विरही’ लाई भरतपुर अस्पतालबाट गुपचुपमा अपहरण शैलीमा बेपत्ता बनाउने तयारी भइरहेको जानकारी प्राप्त भयो । उहाँलाई असार ३ गतेको नक्कली डिस्चार्ज पेपर बनाई आजै रातीसम्म बेपत्ता बनाउन खोजिएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । अहिलेको विषम परिस्थितिमा कारागारमा राखिएका कैदी बन्दीलाई कोरानाले सङ्क्रमित भइरहेकोले ती बन्दीहरूलाई समेत कैद मिनाहा गरी छाड्ने चर्चा चलिरहेको बेला सुगर, प्रेसर, मिर्गौलालगायतका रोगबाट ग्रसित ढाडले समेत राम्रोसँग काम नगरेको अवस्थामा अस्पतालबाट अन्येत्र लैजानु भनेको उहाँको जीवन खतरामा पार्ने कार्य हुने परिवारहरूको दाबी छ । अतः सरकार बिरामी अवस्थाका स्रष्टालाई अन्येत्र बेपत्ता पार्ने गलत कार्य नहोस् । चितवन जिल्ला अदालतको आदेशअनुसार उहाँको रिहाइ र थप उपचारमा कुनै दख्खल नदिइयोस् ।’

    सामाजिक सञ्जाल त भयो, एकैछिनमा समाचारहरू भाइरल भइहाले । ओली सरकारको यो किसिमको निकृष्ट हर्कतको सबैतिरबाट आक्रोशपूर्ण भनाइहरू ओइरिए । विभिन्न माध्यमबाट कुराकानी पनि हुन थाले । मूलतः प्रायः सबै अनलाइन पोर्टलहरूले यो समाचारलाई महत्वका साथ कभरेज गर्न थाले । समाचारको ट्रेन्ड र भाषाको एकरूपताले एक किसिमको प्रतिरोध, एक प्रकारको विद्रोहको आभास भयो । यो एक प्रकारको ओली सरकारको सशक्त भण्डाफोर पनि थियो । यस प्रकारको गलत कार्यको विरुद्ध आ–आफ्ना ठाउँबाट प्रतिरोध भए पनि यो परिघटनाले एक प्रकारको नमाइलो नरमाइलोजस्तो, आक्रोश आक्रोशजस्तो, पीडा पीडाजस्तो अनुभूति पनि भयो । तर पनि ओलीको कलममाथिको यो निसानाको उद्देश्य बुझ्न कुनै कठिनाइ हुने कुरा भएन । निकै अगाडिदेखि नै देशका लेखक, कवि, कलाकारलाई ओली सरकारले निसाना साँध्दै आएको छ । ओली सरकारले आजको दुनियाँमा पनि भिन्न विचारलाई निषेध गर्ने र विद्रोही विचार राखेकै आधारमा दमन गर्ने नीति अख्तियार गरिरहेको छ । अनिल शर्मामाथिको ज्यादती ओली सरकारको दमनकारी नीतिको पछिल्लो शृङ्खला हो ।

    नेपालको हरेक परिवर्तनकारी अभियानमा लेखक, साहित्यकारहरूले अग्रमोर्चा सम्हाल्दै आएका छन् । जनतालाई ब्युँझाउन र शासकलाई झुकाउन कवि, लेखक, कलाकारहरूले सशक्त र काबिल प्रस्तुति दिँदै आएका छन् । नेपालको राजनीतिक, सामाजिक एवम् सांस्कृतिक परिवर्तनको पक्षमा कवि, लेखक, कलाकारहरूको सक्रिय खबरदारी र प्रतिरोध हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । यतिबेला नेपालमाथि चौतर्फी हमला भइरहेको छ । नेपालमा भारतीय साम्राज्यवादले एकपछि अर्को गर्दै लेन्डुपेहरू जन्माइरहेको छ । विभिन्न शक्तिकेन्द्रले नेपालमा आ–आफ्ना दलाल शिविर खडा गरेका छन् । यहाँका दलाल शासकहरू तिनै मालिकहरूको योजनाबद्ध निर्देशनमा नेपाली जनताको शिरमा जाँतो घुमाइरहेको छ । ओली सरकार स्वाभिमानी देशभक्त क्रान्तिकारी जनताको छातीमा परेड खेलिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीमाथि ओली सरकारले लगाएको राजनीतिक प्रतिबन्ध त्यसैको एउटा कडी थियो । यसलाई नेपालका कवि, लेखक, कलाकारहरूले चर्को विरोध र सशक्त प्रतिवाद गर्दै आएका छन् । ओली सरकारको दमनका विरुद्ध विदेशी भाइचारहरूले पनि प्रतिवाद गर्दै आएका छन् । नेपालका कवि, लेखक, कलाकारमाथिको दमनका विरुद्ध चौतर्फी प्रतिरोधी आवाज उठ्नु सकारात्मक कुरा हो ।

    ओली सरकार अलिकति पनि आलोचना सुन्न तयार छैन । उसले फरक विचारप्रति चरम असहिष्णुता प्रदर्शन गरिरहेछ । कवि, लेखक, कलाकारहरूको दिमागमा विचार हुन्छ, हातमा कलम र कापी हुन्छ, अनि हार्मोनियम, गिटार र बाँसुरी न हुन्छ । शासकलाई यही कुरा भारी भएको छ । क्रान्तिकारी कवि, लेखक, कलाकारहरू जब साम्राज्यवादी तथा सबै खाले प्रतिक्रियावादका अत्याचारका विरुद्ध कविता लेख्न थाल्छन्, लेख लेख्न थाल्छन्, त्यहीँ कुरा दलाल शासकको स्वार्थमा ठेस लाग्न पुग्दछ । कुनै पनि शासक आफ्नो लुट र बदमासी कसैले पनि थाहा नपाऊन् भन्ने चाहन्छ । तर, जनताका कवि, लेखक, कलाकारले यस्तो बद्मासी सजिलै थाहा पाइहाल्छन् । उनीहरूले शासकका सबै किसिमका अन्याय, अत्याचार र दमनलाई कलात्मक प्रस्तुतिका माध्यमबाट जनतालाई ब्युँझाउन थाल्दछन् । सत्तामा दलालै दलाल भरिभराउ भएको यतिबेला राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा साहित्य सिर्जना गर्नु ठूलो र अक्षम्य अपराध भएको छ । त्यसैले त पटक–पटक समातिन्छन्– अनिल शर्मा, माइला लामा र खेम थपलियाहरू !

    कवि, लेखक, कलाकारले रगत नबगाएको र जेल–हिरासत नबसेको नेपालको कुन ठाउँ बाँकी छ र ! ओली–शासनमा सयौँ कवि, लेखक, कलाकारहरूले जेल–हिरासतको यात्रा गर्नुपरेको छ । चर्को भौतिक तथा मानसिक यातना खेप्नुपरेको छ । उनीहरूको घर–परिवारमा आतङ्क सिर्जना गरिएको छ । विचार र पार्टी छोड्न दबाब दिइएको छ । कतिपयलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको छ । कतिपयलाई स्रष्टालाई पटक–पटक धम्क्याइएको छ । सत्ताधारीहरूबाट कतिपयलाई पार्टी छोडाउने प्रपञ्च गरिएको छ । योजनाबद्ध रूपमा कतिपयले पार्टी छोडेको अफवाह पनि फैलाइएको छ । कसैलाई पुर्जी काटिएको छ । थुप्रै कवि, लेखक, कलाकारहरू अहिले पनि पनि जेल–हिरासतमा हुनुहुन्छ । कैयौँले घरमा बस्न पाएका छैनन् । कैयौँले घर–परिवारको अवस्थासमेत बुझ्न पाएका छैनन् । कतिले जीवन निर्वाहको लागि अपनाइरहेको पेसा–व्यवसाय छाड्नुपरेको छ । कोहीले कलेजको पढाइ नै छाड्नुपरेको छ । कलेजका गेटमा ओली सरकारले कवि, कलाकार विद्यार्थीहरूलाई पक्राउ गर्न प्रहरी तैनाथ गरिरहेको छ । अस्पतालको त के कुरा गर्नू ! बिरामी अवस्थामा रहेका लेखकहरू, कविहरू, कलाकारहरू अस्पताल गएर उपचार गर्ने वातावरण नै हुँदैन । गम्भीर बिरामी अवस्थामा रहनुभएका अनिल शर्मालाई फेक डिस्चार्जको कागजको आबरणमा कब्जामा लिई कपोलकल्पित मुद्दामा धनुषा रवाना गराइनुले ओली सरकारको कवि, लेखक, कलाकारप्रतिको रवैया छर्लङ्ग हुन्छ ।

    ओली सरकारले नेपालमा पूर्वी क्षेत्रमा जनक्रान्तिको सुरुआतदेखि नै ठूलो दमन गर्दै आएको छ । उसले कवि, लेखक, कलाकार, पत्रकार, मानव अधिकारकर्मी कसैलाई पनि बाँकी राखेन । ओली सरकारले कवि, कथाकार एवम् पत्रकार लम्जेल सङ्घर्षशीललाई पनि छोडेन । उहाँ मुटुको गम्भीर बिरामी पनि हुनुहुन्थ्यो । काठमाडौंस्थित गङ्गालाल अस्पतालबाट ठूलो अपरेसनबाट आफ्नो ज्यान बचाउनुभएको लम्जेललाई धरानमा हत्कडीसहित घिसारेर अस्पतालको बेडमा पु¥याइयो । ओली सरकार मान्छेको ज्यान जाने बेला हुँदा पनि हत्कडी फुकाल्दैन भन्ने कुराको प्रमाण हो यो । एकजना स्थापित कवि, सक्रिय पत्रकार एवम् सम्मानित नागरिकलाई आस्थाकै आधारमा झुट्टा मुद्दा लगाएर हत्कडीसहित बौलट्ठीपूर्ण तरिकाले घिसार्नु के सामान्य घटना हो र ! साथै, पुर्वेली जनताका अत्यन्त लोकप्रिय गायक स्लाम गजमेरलाई पनि पटक–पटक पक्राउ गरेर यातना दिइयो । गम्भीर बिरामी उहाँले समयमा औषधी पनि खान पाउनुभएन । पूर्वका कवि, लेखक, कलाकारहरूको ओली सरकारबाट धेरै नै प्रताडित हुनुपरेको छ । तर पनि यो क्षेत्रबाट फासिवादी ओली–शासनका विरुद्ध भएको प्रतिरोध अविस्मरणीय रहेको छ ।

    तराई–मधेसका कवि, लेखक, कलाकारहरू पनि ओली सरकारको निसानामा पर्नुपरेको छ । तराई–मधेसका स्थापित पारस ठाकुरलाई पटक–पटक गिरफ्तार गरेर दुःख दिइयो । उहाँ पनि गम्भीर स्वास्थ्य समस्यामा हुनुहुन्थ्यो । उहाँ नेपालीलगायत मैथिली र भोजपुरी भाषामा राम्रो गीत–कविता लेख्नु गर्नुहुन्छ । क्रान्ति र प्रतिक्रान्तिको किल्लाको रूपमा परिभाषित तराई–मधेसमा ओली सरकारले निरन्तर दमन बढाएको छ । नेपालको पश्चिमी क्षेत्रको त झन् के कुरा गर्नू ! ओली सरकारले खोमा तरामु, पारश पहाडी मगर, हरिलाल महतरा, सिद्धराज खड्कालगायत ठूलो सङ्ख्याका कवि, लेखक, कलाकारहरूलाई गिरफ्तार गर्ने, यातना दिने, झुट्टा मुद्दा लगाउने गरेको छ । हरिलाल महतरा र सिद्ध खड्का त शिक्षक पनि हुनुहुन्छ । उहाँहरू सुर्खेतका स्थापित कवि तथा लेखक पनि हुनुहुन्छ तर पनि उहाँहरूले ठूलो मानसिक यातना खेप्नुप¥यो । सुर्खेतमा गिरफ्तार हुनुभएका कवि, लेखक, कलाकारलाई सत्तारुढ पार्टीमा भित्र्याउने योजनाअनुरूप चर्को हल्लाखल्ला पनि गरियो । त्यो हल्ला काठमाडौंसम्म पनि आइपुग्यो । पछि वस्तुस्थिति बुझेपछि तिनका षड्यन्त्र चकनाचुर भयो । यसरी पनि ओली सरकार क्रान्तिकारी कवि, लेखक, कलाकारहरूको तेजोबध गरिरहेको छ । यी क्षेत्रबाट पनि ओली–शासनका विरुद्ध सशक्त प्रतिरोध भइरहेको छ ।

    ओली सरकारले उपत्यकावरिपरि झन् चर्को दमन गरिरहेको छ । यो उसको श्वेतक्षेत्र पनि हो । ओली सरकारले उपत्यकाका कवि, लेखक, कलाकारहरूलाई प्रत्यक्ष निसानामा पार्ने गरेको छ । ओली सरकारले पटक–पटक माइला लामा, खेम थपलिया, कुशल बोगटीहरूलाई पक्रेको छ, जेल तथा हिरासतमा राखेको छ । प्रतिबद्ध, वीपी विद्रोही, रसुवाली कवि, वैरागी जेठाहरूलाई गिरफ्तार गरेर दुःख दिएको छ । जनकलाकार कुशल बोगटीले विनाकारण डेडवर्ष जेल बस्नुप¥यो । कवि सङ्गीत स्रोतालाई प्रशासनले झुक्किएर पक्राउ गरिएको भनेर जग हँसायो । ओली सरकारले नाटक लेखेको, सरकारविरुद्ध लेख लेखेको र कार्यकर्तालाई प्रशिक्षण दिएको आरोपमा खेम थपलियालाई पटक–पटक गिरफ्तार गर्ने, हिरासतमा राख्ने, झुट्टा मुद्दा लगाउने कूकृत्य ग¥यो । उसले चार सय बढी माक्र्सवादी किताब र कम्प्युटरसमेत उठाएर लग्यो । लेखनकार्य गरिरहेको लेखकलाई हत्कडी लगाएर चार–चार घन्टासम्म उसकै कार्यालयमा उभ्याएर सियो खोजेजस्तो गरी खोजेर सारा चीजसहित हिरासतमा पु¥याइनु सभ्य समाजका लागि असामान्य परिघटना थियो । सिर्जनात्मक र विचारधारात्मक कार्यक्षेत्र भएका कवि, लेखक, कलाकारहरूलाई ओली सरकारले महादुश्मन देखिरहेको छ । ओली सरकारले कवि, लेखक, कलाकारहरूको कलमलाई बम, बारुद र क्षेप्यास्त्र देखिरहेको छ ।

    यथार्थतः ओली सरकार कवि, लेखक, कलाकारहरूबाट सर्वाधिक आतङ्कित बनेको छ । यो क्षेत्रबाट ओली–शासनका विरुद्ध भएको प्रतिरोध ऐतिहासिक छन् ।
    ओली सरकारले जनताका कलाकार सामना सांस्कृतिक परिवारलाई पनि छोडेन । उसले सामना परिवारका दर्जनौँ कलाकारलाई गिरफ्तार ग¥यो । थुप्रै ठाउँमा सांस्कृतिक कार्यक्रम गर्न दिइएन । कलाकारलाई कार्यक्रमस्थलबाटै गिरफ्तार गरेर झुट्टा मुद्दा लगाइयो । सरल माझी, आरोह नेपाली, लक्ष्मण पाख्रिनलगायतका कलाकार पटक–पटक ओली सरकारको निसानामा पर्नुप¥यो । आरोह नेपालीले लामो समय जेल जीवन गुजार्नुपरेको थियो । उहाँहरूलाई स्वतन्त्र रूपमा नाच्न, गाउन दिइएको छैन । गीत गाउनु र नाच्नुलाई अपराधको रूपमा व्याख्या गर्दै ओली सरकारले जनताका कलाकारलाई यो धर्तीमै खुट्टै राख्न नदिने हर्कत देखाउँदै छ । जनयुद्धको उठान, विस्तार र विकासमा महत्वपूर्ण भूमिकाका साथ महान् इतिहासको रचना गर्दै आएको सामना परिवारलाई यतिबेला सांस्कृतिक कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । ओली सरकार सामना परिवारको नामोनिसान मेटाउन मरिमेटिरहेछ । ओली सरकार चुनु गुरुङ, शारदा श्रेष्ठ, हर्षबहादुर शाही र च्याङ्बा लामाहरूको ठूलो अपमान गरिरहेछ । आजको प्रतिकूल परिस्थितिमा पनि सामना परिवार जनताको घर–दैलोमा जनताकै माया र स्नेहले बाँचिरहेको छ । उसले आफ्नो कला र गला तिखारिरहेको छ ।

    कृष्ण सेन ‘इच्छुक’ को हत्यारा ‘पुलिस अफ दि इयर’ को उपाधिद्वारा सुशोभित हुने देश हो नेपाल । आज हामीलाई शक्तिशाली कवि र कविता चाहिएको छ । आँटिलो र धारिलो लेखक चाहिएको छ । आज हामीलाई युद्धप्रसाद मिश्रको जस्तो ‘रित्ता वर्तन जाग–जाग चुहुने नाङ्ला र डाला उठ’ कविता चाहिएको छ । हामीलाई धरणीधर कोइरालाको ‘जाग जाग अब जाग न जाग’ जस्तो जागरण गीत चाहिएको छ । यतिखेर हामीलाई दर्जनौँ गोकुल जोशी, पूर्ण विराम र निभा शाहहरू चाहिएको छ । यतिखेर हामीलाई इच्छुकको स्पिरिट पक्रने सांस्कृतिक अभियन्ता चहिएको छ । यतिखेर हामीलाई पूर्ण विरामको ‘बारुद पड्काउँदै जनयुद्धकै भयानक गीत गाइदिए कसो होला’ जस्ता कविता चाहिएको छ । यद्यपि, ओली सरकारको फासिवादी दमन र नेपाली धर्तीमा जारी नयाँ स्वरूपको वर्गसङ्र्षको भट्टीबाट अदम्य साहस र प्रतिभाशाली स्रष्टाहरूको जन्म हुँदै छ । नेपाल यस्तो देश भएको छ, जहाँ अदालतले निर्दोष भनेर रिहा गर्ने आदेश दिन्छ, फासिवादी सत्ता त्यहीँ ठाउँको ठाउँ झम्टिन्छ । ओली सरकार कवि, लेखक, कलाकारको घाइते छातीमाथि उफ्रँदै ‘हीप हिप हुर्रे’ को नारा लगाउँदै छ । आदरणीय र प्रिय आस्थाका सतिसाल, साहसी, जोदाहा कवि, लेखक कलाकारहरू हाम्रा आदर्श र निष्ठाका प्रतीक हुन् ।

    गोलघर बन्दीगृहमा कविता फुर्दा कपी नपाएर चुरोटको खोलमा कविता लेखेको गफ दिने तिनै केपी ओली आज जनताका कवि र कवितामाथि प्रतिशोध साँधिरहेका छन् । ओलीको हददर्जाको निकृष्ट व्यवहारबारे प्रवुद्ध वर्गले भनिरहेका छन्– बिरामीलाई अस्पतालको बेडबाटै गिरफ्तार गर्ने राज्यसत्ता खरानी बनोस् ! हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को दार्शनिक पुस्तकहरू, अनिल शर्माले कविता लेख्ने कलम र माइला लामाले सङ्गीत निकाल्ने हार्मोनियम र गिटारहरू ओली–शासनका लागि बमसरह बनेका छन् । कलम, कुची र हार्मोनियम चलाउने यिनै हातहरूले साँच्चै बन्दुक चलाउन थाल्यो भने के होला ? यतिबेला टर्कीका हेलेन बोलेक, इब्रु तिम्तिकहरूले बलिदान दिइरहेका छन् । जेनएन साइबाबा, वरवर रावहरू भारतीय जेलभित्रै सङ्घर्ष गरिरहनुभएको छ ।

    नेपालमा हेमन्तप्रकाश ओली, अनिल शर्मा र माइला लामाहरू जेल तथा हिरासतमा कठोर जीवन बिताइरहनुभएको छ । फासिवादी ओली सरकारले निसाना कवि, लेखक र कलाकारलाई साँधिरहेछ, जनताको साहित्यिक सम्प्रभुतामाथि गम्भीर आघात पु¥याइरहेछ । सिङ्गो देश बन्दीगृहमा परिणत भएको यतिबेला हामी एकताबद्ध हुनुको कुनै विकल्प छैन । त्यसैले आउनुहोस्– सामाजिक फासिवादका विरुद्ध संयुक्त मोर्चा कसौँ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology