काठमाडौं । रोटरी क्लब अफ मातृभूमी बालुवाटारले देशव्यापी खुला वक्तृत्वकला सम्पन्न गरेको छ । देशभरबाट सबैका लागि खुला गरिएको वक्तृत्वकलामा दर्जनौंले सहभागीता जनाएका थिए ।
भर्चुअल माध्यमबाट गरिएको आह्वानमा सहभागीहरुले ५ मिनेटको भिडियो बनाएर ‘समाजसेवामा रोटरी’ शिर्षकमा आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए । सहभागीहरुमध्येबाट अन्तिम चरणमा १० जना छनौट भएका थिए । कोभिड १९ ले पारेको प्रभावका बीच गरिएको कार्यक्रम र यो समयलाई अवसरमा परिणत गर्नका लागि वक्तृत्वकलाको आयोजना गरिएको र यसले राम्रो सन्देश प्रवाह गरेको आयोजक रोटरी क्लब अफ मातृभूमी बालुवाटारका पेसिडेन्ट अनुज थापाले जानकारी दिए ।
रोटरी लिटरेसी मिसन नेपालका चेयर एवं पूर्व मुख्य सचिव तीर्थमान शाक्य, कवि गीता त्रिपाठी र कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ को निर्णायक मण्डलले ३ जनालाई उत्कृष्ट घोषणा गरेको थियो । जसमा आयुष्मा पोखरेल प्रथम, रोजिना आचार्य क्षेत्री द्धितिय र स्मारिका न्यौपाने तृतीय भएका थिए । विजेताहरुले जनही क्रमशः २० हजार, १५ हजार र ५ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
वक्तृत्वकला कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी डिस्ट्रीक ३२९२ का डिस्ट्रीक गभर्नर राजिव पोखरेलले यस्ता खालका कार्यक्रमहरुले मानिसको क्षमता अभिवृद्धिका साथै समाजसेवाका क्रियाशील व्यक्ति र संस्थाको विकासमा टेवा पुग्ने बताए ।
