काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका १५ जना नेता-कार्यकर्ता जेलमुक्त भएका छन्।
गएको फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको थियो।सहमतिमा प्रतिबन्ध फुकुवा, जेलमा रहेका नेता-कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लिने उल्लेख थियो।
विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमति अनुसार नेता-कार्यकर्ता छुट्न थालेका हुन्। १२६ जना भने जेलमै छन्। सोही सहमतिपछि विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालगायतका केही नेता छुटेका थिए।
तर, कतिपय गम्भीर प्रकृतिका मुद्दामा विप्लव नेतृत्वको नेकपाका नेता-कार्यकर्ता पक्राउ परेकाले रिहाइको विषयमा सरकारी पक्षबीचमै द्विविधा देखिन्छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले भने, ‘हामी राजनीतिक विषयमा बोल्दैनौं। १५ जना छुटेका छन्। १२६ जेलमै छन्। अरु प्रक्रियामा होला।’ १२६ मध्ये अधिकांशजसो नेता-कार्यकर्ता पुर्पक्षका लागि जेलमा छन्।
हिसांत्मक गतिविधिमा लागेको भन्दै सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि विप्लव समूहले झन् बढी हिसांत्मक बाटो अंगालेको थियो। कयौं स्थानमा विस्फोट, आगजनी, अपहरण र केही हत्याका घटनामा पनि सो समूह जोडिएको थियो।