जनकपुर - मधेश प्रदेशको विभिन्न ठाउमा आगो बलेको छ। मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदको पुत्ला जलाएका हुन् ।
२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन ।
८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताए । उनले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटिएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिए ।
त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।
यता, प्रदेश सरकारले प्रदेशको नामाकरण मधेस प्रदेश र राजधानी जनकपुर भएको खुसीयालीमा मंगलबार सार्वजनिक विदा दिएको थियो । त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । सोमबार प्रदेशसभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा आज सार्वजनिक विदा दिएको हो ।
उपेन्द्र यादब भने मक्ख
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन्।
प्रदेश सभाको बैठकले प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताए।
मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको उल्लेख गर्दै उनले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेश सभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गरेका थिए।