उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा मनास्ल हिमाल आरोहण दिवस मनाइने भएको छ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ ईमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु सेर्पाले पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८ औं मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको बुधबार सदरमुकाममा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो । सोही समयदेखि अन्तराष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ ।
धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले यसअघि काठमाण्डौँमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिएपनि गाउँपालिकाले भने पहिलोपटक दिवस मनाउन लागेको जानकारी दिनुभयो । दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकहरुलाई सम्मान गर्ने, प्रकृति पूजा गर्ने लगायत अन्य स्थानीय सँस्कृतिको उजागर गर्ने गरी साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष लामाको भनाई छ ।
‘‘सोही अवसरमा पर्वतारोहण संघको झण्डा र व्यानर सहित ¥याली निकाल्ने कार्यक्रम पनि रहेको छ, उहाँले भन्नुभयो, ‘‘त्यसवाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।’’यस बर्षदेखि नियमित रुपमा स्थानीय सरकारले नै स्वामित्व लिएर दिवस मनाउन लागिएको उहाँको भनाई छ । यसले गोरखाको पर्यटन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु संरक्षण क्षेत्र ट्रेकिङ टुरिजममा पहिलो गन्तव्य बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।पत्रकार सम्मेलनमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले जिल्लामै मनास्लु हिमाल आरोहण दिवस मनाउने श्रृखलाको सुरुवात हुनु गोरखाका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
‘‘मनास्लु हिमाल आरोहण गर्नका लागि स्वेदशी तथा विदेशी पर्यटकको आर्कषण पनि बढ्दै गएको छ, उहाँले भन्नुभयो, ‘‘यसलाई थप प्रर्वद्धन गर्दै मनास्लु हिमालको प्रचारप्रसारका लागि दिवस मनाउन लागिएको हो ।’’ मनाास्लु हिमाल आरोहणका लागि जापान सहित नर्वे, संयुक्त राज्य अमेरिका, डेनर्माक, क्यानडा, चेक रिपब्लिक लगायतका थुप्रै विदेशी पर्वतारोहीको रोजाईमा पर्ने गरेको उहाँको भनाई छ । गोरखाको नुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमश्रृखला हो । मनास्लु संरक्षण आयोजना कार्यालय गोरखामा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पत्रकार सम्मलेनमा कार्यालयका लेखापाल छाङ दोर्जे लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।