नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन्।
बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उक्त अभियान चलाउने बताए। ‘देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ,’ रावलले भने, ‘यसै दिशामा हाम्रा कदम अगाडि बढ्नेछन्।’
रावलले प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने भनी आक्रोश समेत पोखे।
उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र!’
यही पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो।