काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिवेशन नगरेर आफूलाई कलंकको टिका लगाउन रहर नभएको स्पष्ट पारेका छन्।
कांग्रेसको काधमा तीनवटा जिम्मेवारी रहेको वताउँदै जिम्मेवारी पुरा नगरे कालो अन्धकारमा फस्ने चेतावनी दिएका वरिष्ठ नेता रामचन्द्र पौड्यालाई मुख भरिको जवाफ दिदै देउवाले यस्तो वताएका हुन्।
पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि महाधिवेशन गर्न सकिने उपया देखाउदै पौड्यालले भने, ‘यसबारे पार्टीमा गहन छलफल गरौं, विधानअनुसार त निर्वाचित केन्द्रीय समिति नै चाहिन्छ।’
कांग्रेसका काँधमा अहिले मुख्यत: कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, प्रतिनिधि सभा विघटन भएकोले पुनर्स्थापनाका लागि आवश्यक कदम अगाडि बढाउने र कोरोना कहरबीच नै महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी रहेको वरिष्ठ नेता पौडेल बताउँछन्।
‘यी कुरामा सफल भएनौं भने भविष्य अन्धकार छ, कामना गरौं हामी सफल हुनेछौं,’ उनले भने।
रामचन्द्र पौड्यालको कुरा सकिने वित्तिकै सभापति देउवाले कोरोना महामारीबीच पनि महाधिवेशन गर्ने बाटो खोजी गर्नुपर्ने बताए।
‘रामचन्द्र पौडेलजीले पार्टी अधिवेशनको कुरा गर्नुभएको छ। अधिवेशन गरेन भन्ने कलंक म व्यहोर्न चाहन्नँ,’ देउवाले भने, ‘म तपाईंसँगै जेलमा पनि बसेको हुँ। कसरी महाधिवेशन गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो।’
‘कोरोना आयो त के गर्ने? यस्तो बेला भेला गरेर मानिस मर्न सक्छन्,’ उनले भने।
कोरोना महामारीबीच नै प्रविधि प्रयोग गरेर महाधिवेशन गर्न सकिने सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
‘प्रविधिमार्फत् नै क्रियाशील सदस्यता वितरणदेखि उम्मेदवारी दर्ता, भोटिङ र मतगणना गर्न सकिने व्यवस्थापन मिलाउन सकिन्छ,’ शर्माले भने, ‘भौतिक रूपमा महाधिवेशन गर्न सक्ने अवस्था रहेन भने पनि प्रविधिमार्फत् गर्छौं।’