काठमाडौं– विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ। युरोपबाट अमेरिका प्रवेश गरेको यो नयाँ कोरोना भाइरस पहिलेको तुलनामा बढी संक्रामक भए पनि कम हानिकारक रहेको अनुसन्धाताहरूको टोलीले उल्लेख गरेको छ। भन्नुको मतलब, यसले पहिलेभन्दा धेरैलाई संक्रमण गर्न सक्छ, तर संक्रमित व्यक्ति बिरामी पर्ने सम्भावना कम हुन्छ।
वैज्ञानिक जर्नल ‘सेल’ मा प्रकाशित अध्ययनअनुसार पछिल्लो समय यही परिवर्तित स्वरूपको कोरोना भाइरस बढी फेला परेको छ। यसले एउटा प्रश्न जन्माएको छ– कोरोनाविरुद्ध अनुसन्धान क्रममा रहेको खोप परिवर्तित स्वरूपको भाइरसमा प्रभावकारी हुन्छ कि हुँदैन?
कोरोनाविरुद्ध खोप बनाइरहेका अधिकांश अनुसन्धान संस्थाहरूले पुरानो स्वरूपको भाइरसको नमूनालाई आधार मानेका थिए। खोप बनिसकेपछि नयाँ खालको भाइरस रोक्न प्रभावकारी साबित हुन्छ कि हुँदैन भन्नेमा अनुसन्धाताहरूले शंका व्यक्त गरेका छन्।
‘संसारभरिको कोरोना संक्रमण तथ्यांक केलाउँदा हामीले पुरानोभन्दा नयाँ स्वरूपको भाइरस तीव्र गतिले फैलिएको पायौं,’ अनुसन्धानमा संलग्न जैविक वैज्ञानिक बेट्टे कोर्बरले जर्नलमा लेखेका छन्, ‘नयाँ भाइरस पहिलेको दाँजोमा बढी संक्रामक रहेको हाम्रो निष्कर्ष छ।’
‘तर, यसले संक्रमित व्यक्तिलाई पहिलेजस्तो थला पर्ने गरी बिरामी पारेको भेटिएको छैन,’ उनले भने।
यस आधारमा वैज्ञानिकहरू के अनुमानमा पुगेका छन् भने, कोभिड–१९ जति फैलिँदै जान्छ, यो कम भयानक हुँदै जानेछ। संक्रमित व्यक्तिको संख्या बढ्दै गए पनि गम्भीर रूपले बिरामी हुने वा मृत्युको मुखसम्म पुग्ने सम्भावना कम हुन्छ।
उनीहरूका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस मान्छेको माथिल्लो श्वासप्रश्वास प्रणालीमा तीव्र गतिले वृद्धि हुने गरेको पाइएको छ। यसमा नाक, घाँटी लगायत भाग पर्छन्। त्यही भएर यो भाइरसले धेरै जनालाई संक्रमित पार्न सक्छ।
अनुसन्धान टोलीले युरोप र अमेरिकाभरिका विभिन्न कोरोना बिरामीको नमूना संकलन गरी यो निष्कर्ष निकालेको हो। अनुसन्धाताहरूले पहिले र अहिलेको भाइरस संक्रमणको प्रवृत्ति विश्लेषण गरेका थिए। सिएनएन
