बुबा संगै क,ख पढ्ने एउटै उमेरका स्थानेश्वर अधिकारी जो बुबाको भतिज हुनुहुन्छ उहाँबाट पनि बुबाको जिवनी विवरणको केही अंश लिन सकिन्छ।लुइँटेल पढ्दाताकाका बुबाका सहपाठी साथीहरू मोदनाथ मरहट्टा,पुर्ण बहादुर गुरुङ लगायतका अभिभावकहरु अहिलेपनि हामी परिवारसँग निरन्तर संपर्कमा नै हुनुहुन्छ। पुल्चोक इन्जिनियरिङ कलेज पढ्ताका सहपाठी इन्जिनियर गोपाल बस्नेतले पनि बुबासंगको कलेज जिवनका अनुभुतिहरु मलाई सुनाउनु भएको थियो।उहाँले पनि संस्मरण अनुभुती लेखिदिन सक्नु हुन्छ भन्ने बिश्वास छ।

हंसपुर-लप्सिबोट गोरखाका २०३६ देखि २०४६ सम्म पञ्च र कांग्रेसहरुले उग्रवादीको आरोपमा सिध्याउने षडयन्त्रमा परेका ४ नाथहरु (श्रीनाथ ,भवनाथ,डालनाथ,होमनाथ) मा बुबा श्रीनाथ बाहेक अरु तीन जना जिवितै हुनुहुन्छ।जनयुद्धकालमा बेपत्तामा पारिनु भएका बुद्धिबल बिक,चन्द्र खनाल,भरत अधिकारी र माधव अधिकारी पनि बुबाको राजनीतिक जिवनसंग अलग्याउनै नसकिने पात्रहरु हुनुहुन्छ।

उहाँहरुको परिवारका सदस्यहरूबाट पनि बुबालाई केहि भन्नुपर्ने भावनाका ब्यथा कथा पक्कै होलान्।पञ्चायतकालमा गाउँमा बुबालाई प्रारम्भमा बामपंथी आन्दोलनमा साथ दिनुहुने बुबाका सहयोध्दाहरु: नन्दलाल अधिकारी(लप्सीबोट लामिडांडा), बाबुराम अधिकारी(दिवंगत)(लप्सीबोट लामिडांडा) ,छवि अधिकारी (लप्सीबोट लामिडांडा), गोरी हजुरआमा(लप्सीबोट लामिडांडा),नेत्र बहादुर बिक(लप्सिबोट लामिडांडा),डालनाथ अधिकारी,(लप्सीबोट)दिननाथ अधिकारी(लप्सीबोट),हरीचन्द्र अधिकारी(दिवंगत)(लप्सीबोट),होमनाथ अधिकारी(शिक्षक)(लप्सीबोट),फडिन्द्र अधिकारी(लप्सीबोट),एकदेव अर्याल(लप्सीबोट),शशिधर धिताल(लप्सीबोट),डा.बाबुराम अधिकारी(लप्सीबोट),हरीराम अधिकारी(लप्सीबोट),चन्द्र अधिकारी (लप्सिबोट),म बुद्धिवल बिक(राज्यद्वारा बेपत्ता) (लप्सीबोट), बामदेव अधिकारी(दिवंगत)(लप्सीबोट),धन बहादुर नेपाली(नम्की),झुमनाथ अधिकारी (हंसपुर), तुलसी अधिकारी(हंसपुर), खेमराज दवाडी(हंसपुर),भरत अधिकारी(राज्यद्वारा बेपत्ता)(हंसपुर),पद्मनाथ खनाल(हंसपुर),चन्द्र खनाल (राज्यद्वारा बेपत्ता) (हंसपुर),कुश्माखर अधिकारी(काफलडांडा),मायानाथ अधिकारी(शिक्षक)(लप्सीबोट),रुद्र अधिकारी (लप्सिबोट),लुमनाथ अधिकारी (लप्सीबोट ), मुक्ति बिक (लप्सिबोट),माधव अधिकारी(राज्यद्वारा बेपत्ता)(काफलडांडा),माधव अधिकारी(शिक्षक)(काफलडांडा),भिमसेन भुजेल(भच्चेक),कमान बहादुर भुजेल(काफलडांडा),हिमलाल दवाडी(दिवंगत)(काफलडांडा),राम प्रसाद अधिकारी(काफलडांडा),बिश्वनाथ अधिकारी(काफलडांडा),गंगा बहादुर भुजेल(काफलडांडा),धन बहादुर भुजेल(काफलडांडा), मुक्ति अधिकारी(डिटार),ए कदेव दुवाडी (काफलडांडा), भोजनाथ धिताल(लप्सीबोट),उदय घिमिरे(दिवंगत)(लप्सीबोट), बुद्दिराज गुरुङ(बुद्धसिं),पुर्ण बहादुर गुरुङ(बुद्धसिं),कृष्ण अधिकारी(बुद्धसिं), सोमनाथ अधिकारी (बुद्धसिं),हरिराम दवाडी (काफलडांडा),बिष्णु भुजेल(काफलडांडा),पुर्ण दवाडी (काफलडांडा),गुण बहादुर अधिकारी(काफलडांडा) मध्य जो जो जिवित हुनुहुन्छ उहाँहरुबाटपनि बुबाबारे केहि न केहि मुल्यांकन पक्कै गरिरहनु भएको छ।स्मृति ग्रन्थमालामा संभव भएसम्म उहाँहरु मध्ये कसै न कसैको स्मरणको सत्यकथा समेट्न पाए हुन्थ्यो भन्ने लाग्छ।

२०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा तत्कालीन नेकपा (चौम) को चुनाव बहिष्कार गर्ने निति रहेछ क्यारे हाम्रो गाँउमा पुर्ण बहिष्कार भएछ त्यो बहिष्कार आन्दोलनको नेतृत्व बुबाले गर्नु भएको रहेछ।२०३९ बैशाख १ गते बुबा गिरफ्तार हुनुभयो।६ महिनाको जेल बसाइपछि दसैंभन्दा थोरै अगाडि छुट्नु भयो।बुबा गिरफ्तार हुँदा दिदि ८ वर्ष,म ५वर्ष,उत्तम २वर्ष,शकुन्तला जम्मा २० दिनकि थिइ।उज्जल जन्मिएको थिएन।बुबा गिरफ्तार हुँदा आमा २० दिनको सुत्केरी हुनुहुन्थ्यो।त्यो बर्ष हामीलाई धेरै दुख भयो।बुबाको माइलो मामा चन्द्र खनाल (जनयुद्ध कालमा राज्यद्वारा बेपत्ता)को सहयोगमा हामीले त्यो वर्खा छिचोलियो।

साँस्कृतिक रुपान्तरण अभियान बुबाले घरबाटै थाल्नु भएको हो।कान्छो भाइ उज्जल जन्मिएको बेलामा न्वारान गर्ने कर्म नयाँ भयो।पुरेत नबोलाइ नाम राख्ने कार्यक्रम हामी आफैंले गर्यौं।समाजमा ठुलै तरङ्ग आयो।बुबा प्रायजसो घर बाहिर हुनुहुन्थ्यो।घरमा हुँदा पुलिस पक्डन आइरहन्थ्यो।हजुरबुबा/हजुरआमा र कान्छी फुपू शान्ता दिदीले सिकाइरहनु हुथ्यो पुलिसलाई ढांट्नु पर्छ भनेर।

भच्चेक चौकीका पुलिसहरु बारम्बार आइरहन्थे हामी उनीहरुसंग सत्य बोल्दैनथ्यौं।उनीहरुले बुबाको बारेमा सोधे भने `घरमा हुनुहुन्न थाहा छैन भन्थ्यौं।´हामी हुर्कंदै गयौं पढाइमा कक्षा चढ्दै थियौं।खर्च बढ्दै गयो।बुबाले खेतबारी बेच्दै खर्च चलाउँदै जान बाध्य हुनुभयो। २०४० बाट २०४५ सम्म आउँदा २५ रोपनी भन्दा बढी खेतीयोग्य जमिन सकियो। ४० मुरी धान भित्रीने हाम्रो घरमा २० मुरी भन्दा कम भित्रीने गरि खुम्चियो।साउन,भदौ,असोज ३ महिना खान नपुग्ने भयो।

त्यसपछि हामीले अरुको अधियाँ गर्न बाध्य भयौं।पञ्चायत ढल्यो बहुदल आयो तर हाम्रो गरिबीले झन तिक्ष्णता पायो।बुबा भुमिगत राजनीतिबाट खुला राजनीतिमा त आउनु भयो तर झन धेरै समय पार्टी काममा ब्यस्त हुनुभयो।बहुदल आएपछि हामी केटाकेटीले झन धेरै सास्ती पायौं।गाउँमा कांग्रेसको बोलबाला अत्यधिक बढ्यो।स्कुलमा हरेक दिन कांग्रेसीहरुद्वारा अखिलका विद्यार्थीहरु चुटिन पिटिन थाले।प्रेम अधिकारी(लप्सीबोट),कृष्ण बहादुर धिताल (लप्सीबोट),बिष्णु चन्द्र अधिकारी(लप्सीबोट), टंक दुवाडी(काफलडांडा),कृष्ण अधिकारी (लप्सीबोट), राम प्रसाद अधिकारी(काफलडांडा),देवि प्रसाद अधिकारी(काफलडांडा), धनमान गुरुङ(बुधसिं),देवराज गुरुङ(बुधसिं),त्रिलोचन धिताल(खरीबोट),राजेन्द्र रेग्मी(केरावारि),हरिशंकर रेग्मी(केराबारी),सिताराम रेग्मी(केराबारी),डोलनाथ दवाडी (काफलडांडा),प्रेमनारायण दवाडी(काफलडांडा),टुक बहादुर अधिकारी(काफलडांडा),दुर्गा प्रसाद भट्टराई(मुच्चोक),उमा भुजेल(काफलडांडा) लगायतका विद्यार्थीहरु दिनहुँ स्कुलमा पिटिन्थे। विद्यालय अखिल विद्यार्थीका लागि याताना शिबिर भएको थियोे।

नेबिसंघले शिक्षकहरुकै निर्देशनमा अखिलका विद्यार्थीमाथी भौतिक हमला गर्थ्यो।२०४८ सालको निर्वाचनमा सुरेश वाग्ले एउटा टिम लिएर हाम्रो गाउँ पुग्नु भयो।काँग्रेसिहरुको आततायी जत्थाले भौतिक आक्रमण गर्‍यो।चुनावको दिनमा संयुक्त जनमोर्चाका मतदान केन्द्रका प्रतिनिधि होमनाथ अधिकारी र तुलसी अधिकारीलाइ गम्भीर घाइते बनाए।होमनाथ अधिकारीको त मान्छेको रिस गोठको भैंसी माथी समेत पोखे।गोठको भैसिलाइ कुटेर घाइते बनाए।संयुक्त जनमोर्चाका मतदाताहरुको प्रत्येक घरमा ढुङ्गामुढा प्रहार गरेर क्षति पुर्‍याए।

बुबा पनि त्यो वर्ष क्षेत्र नं.१ बाट चुनाव उठ्नु भएको थियो।त्यतिबेला म जम्मा आठ कक्षामा पढ्थें।बुबा लगायत संयुक्त जनमोर्चा को उम्मेदवारहरु तिनै जना चुनावमा पराजित हुनुभयो।बुबाको चुनाव मा भएको पराजयले हजुर आमालाई ठुलो चोट परेको अनुभुति मैले नजीकबाट महसुस गरें।चुनावपछि मेलापात,चाड्पर्व,भारापर्म आदि सबैमा कम्युनिष्ट र कांग्रेसको स्पष्ट दुई कित्तामा समाज बाँडियो।

कांग्रेसहरु उत्पिडक र कम्युनिष्ट उत्पिडित बन्न पुगे।गाउँमा घटेका यी तमाम घटनाले बुबाको मनोबिज्ञानमा गहिरो प्रभाव पारेकै थियो।माथी उल्लेख गरिएका मित्रहरूमा बुबाको पिडाका भावना सँधैभरी हुर्रिएर पुगिरहेको हुन्थ्यो।संभवत आजसम्म पनि उहाँहरुको केहि संस्मण छचल्की रहेको हुनुपर्छ।बुबालाई चुनावमा धेरै ऋण लाग्यो।चुनाव खर्च पार्टीले ब्यहोर्न सकेन।आर्थिक पक्ष मा अत्यन्तै कमजोर भइयो।

दिदीको त्यही साल बिबाह भयो।२०५१ साउनमा अकस्मात हजुरआमा बिरामी पर्नुभयो र भदौ १६ गते ६१ वर्षकै उमेरमा असामयिक रुपमा उहाँको निधन भयो।हजुरआमाको कर्म बुबाले चलीआएको परंपरागत तरिकाले नै गर्नुभयो।यता पार्टीले `दीर्घकालीन जनयुद्ध´को घनिभुत तयारी गर्दै थियोे ।जनयुद्ध सुरु हुनु एकवर्ष अगाडि बाटै बुबा भुमिगत भइसक्नु भएको थियो।जब जनयुद्ध सुरु भयो गोरखाका १७ जना नेता/कार्यकर्ता एकैपटक भुमिगत गए।डा.बाबुराम भट्टराई,सुरेश वाग्ले(सहिद),श्रीनाथ अधिकारी,खोप बहादुर कँडेल,शंकर घिमिरे (दिवंगत), भिमसेन  पोख्रेल (सहिद),प्रेम ढकाल (सहिद),कौशिला गुरुङ (सहिद),उमा भुजेल, पुर्ण कुमारी कँडेल,महेन्द्र श्रेष्ठ,लगायत ले जनयुद्ध थालनी गर्नुभयो। जनयुद्ध थालनी गर्दाताका रोमाञ्चकारी दिनहरूको अनुभव गर्ने ब्यक्तिहरु केहि भौतिक रूपमा जिवित नभए पनि कोहि त जिबितै हुनुहुन्छ।जिवित मध्येका कोहि न कसैले बुबासंग सहकार्य गरेका दिनहरूको रोमाञ्चकारी संस्मरण कथा लेखिदिन सक्नु हुनेछ भन्ने बिश्वास छ। त्यतिबेला म क्याम्पस भर्ना त भएको थिएँ खर्च अभावले निरन्तरता दिन सकिन।

जनयुद्ध दीर्घकालीन थियो।केहि समय पछि बुबाको कार्यक्षेत्र धादिङ भयो।बुबाको कार्यक्षेत्र धादिङ हुँदा को को कमरेडहरुसँग सहकार्य भयो मलाई त्यति थाहा भएन। पुस्पबिक्रम मल्ल सँग घनिष्ठ संबंध रहेछ पछि थाहा पाएँ। धादिङका राजु नेपाल त्यतिबेला काठमाडौं पढ्नु हुन्थ्यो उहाँको कोठा बुबाको मुख्य सेल्टर थियो।आमा बिरामी हुँदा राजु नेपाल कै मुख्य आडेस लिएर उपचार गरिन्थ्यो।गाउँका दाइहरु हरिराम दवाडी र बिष्णु भुजेल किर्तिपुरमा एउटै कोठामा डेरा गरेर पढ्नु हुन्थ्यो।

बुबालाई धेरै कुराको तारतम्य मिलाइदिने उहाँहरु पनि हो।दाइहरु हरिराम दवाडी र बिष्णु भुजेलको बुबासंगको सहसबंधका कथाहरुपनी अनगिन्ती छन।२०५४ साउनमा बिष्णु दवाडी रक्त क्यान्सरबाट बित्नु भयो। उहाँ पनि गोरखा लप्सीबोटकै हुनुहुन्थ्यो र बुबासँगै धादिङ कार्यक्षेत्र थियोे।उपचारको क्रममा काठमाडौंमा रहँदा धेरै दुख गरियो तर कसैगरी सञ्चो गराउन सकिएन।

म त्यतिबेला मोहनमाला ईंग्लिश स्कुल झोर,काठमाडौंमा पढाउँथे।घर नगएको एक वर्ष भएको थियो। तर गाउँमा भएको घटनामा मलाईपनि मुछेर झुट्टा मुद्दा हालिएछ।मुद्दा लगाइएका ४७ जनामा म पनि एक रहेछु।अहिले पनि रहस्य छ त्यो मुद्दामा मलाई किन मुछियो होला?मलाई अदालतले पुर्जी काट्यो।यतिबेला सम्म बुबाको कार्यक्षेत्र धादिङबाट चितवन हुँदै रुपन्देही पारिइसकेको रहेछ।

कान्छी फुपू शान्ता दिदिले दिएको संपर्क लिएर आमा र मैले बुबालाई बुटवलमा भेट्यौं।त्यो २०५५ भदौको कुरा थियो।त्यहीँ हामीले परिवार लाई पार्टीकरण गर्ने निर्णय गर्‍यौं।२०५५ असोजमा मैले स्कुल पढाउन छोडिदिएँ।जनयुद्ध आधार इलाका निर्माण गर्ने चरणमा पुगिसकेको थियो म गाउँबाटै अभियानमा जोडिएँ।आमा बुबासँगै रुपन्देहीमा रहनु भयो।त्यो वर्ष उत्तम र शकुन्तलाले एसएलसि दिए। उज्जल धेरै नै सानै थियो। दिदी सुशीला,उत्तम,शकुन्तला र उज्जलले पनि आफैंले भोगेका,ब्यहोरेका कथा-ब्यथाहरु कति छन कति।बुबाका बारेमा एउटा एउटा चित्र उनीहरुले पनि उतार्न सक्छन्।

म अभियानमा जोडिइसकेपछी कृष्ण धिताल `बिजय दाइ´ ले पार्टीमा राम्रै सन्देश छ भन्नु भयो। नेताहरुले आफ्ना छोराछोरीलाई जनयुद्धमा ल्याउन सुरु गरेको सन्देश गएको बताउनु भयो।२०५५ मंसिर २६ गते थुमी बाँसपुर हत्याकाण्ड घट्यो।पुलिसले ८ जना साथीहरूको हत्या गर्‍यो। फेरि २०५५ कै पौष १३ गते केराबारी हत्याकाण्ड घट्यो। ७ जना साथीहरूकोशाहद्त भयो। केराबारीमा घटना हुँदा म त्यँही थिएँ संयोगले बाँचियो। २०५६ साउन तिर राजकाजी गुरुङ `करण´ संग भेट भयो।उहाँले घर कास्की भन्नू हुन्थ्यो तर पर्वत रहेछ।

२०५६ भाद्र २३ मा सुरेश वाग्लेको साहदत भयो त्यसताका बुबा रुपन्देही हुनुहुन्थ्यो।सुरेश वाग्लेको साहदतले बुबालाई अत्यन्तै गहिरो चोट परेको थियो।राजकाजी गुरुङ `करण´ परिवार/आफन्त बुटवल बस्नुहुने हुँदा २०५६ को तिहार ताका उहाँ र म पोखरा हुँदै बुटवल गयौं।बुबा,आमा,शान्ता दिदी,पुर्ण कुमारी कँडेल दिदी,रेखा र रोशनले सँगै मनायौं बुटवलमा। बुबाआमाले भाडामा एउटा कोठा लिनु भएको रहेछ बुटवलमा।त्यो कोठामा राम बहादुर थापा बादल,टोप बहादुर रायमाझी,राम प्रसाद बञ्जाडेहरु आउने जाने गरिरहँदा रहेछन्।

फर्कंदा चेपेको किनारमा रहेको `मुगे बजार´मा दंगा प्रहरीसँग भेट भयो त्यहाँपनि संयोगले बाँचियो।बुटवल बस्दा बुबाको स्टाप बिरु नाम गरेका एकजना कमरेड थिए।अहिले उनी कहाँ के गर्दै होलान्? रुपन्देहीमा रहँदा बुबा सुरुमा जिल्ला सेक्रेटरी र पछी जिल्ला इन्चार्ज हुनुहुन्थ्यो।उहाँले २वर्ष त्यहाँ काम गर्नु भयो।२ वर्ष काम गर्दा त्यहाँपनि थुप्रैसँग संगत भयो होला।उनीहरुलेपनी केहि न केहि संस्मरण अनुभुति लेखिदिन सक्नु हुन्थ्यो कि ?

२०५७ देखि बुबाको कार्यक्षेत्र फेरि चितवन हुन थाल्यो।चितवनमा बुबाको बसाई लामै भयो।कहिले चितवन-नवलपरासी कहिले चितवन-तनहुँ गरि २/२ जिल्लाको इन्चार्जपनि हुनुभयो।राज्यपक्षले माओवादी नेताहरूको टाउकाको मुल्य घोषणा गर्दा उहाँपनि रेड्कर्नर नोटिस् मा पर्नु भएको थियो। चितवन कार्यक्षेत्र हुँदा उहाँ धेरै मान्छेहरुको संगतमा पुग्नुभएको रहेछ त्यो कुरा उहाँ बुबा बिरामी भएर क्यान्सर हस्पिटलमा लिएर बस्दा थाहा भयो। चितवन पछी फेरि बुबाको कार्यक्षेत्र गोरखा-लम्जुङ्ग भयो।

यही बेला ब्यूरो सदस्यबाट केन्द्रिय सदस्यमा समेत जिम्मेवारी थपियो।उहाँ केन्द्रिय समितिमा रहँदा तत्कालीन नेकपा(माओवादी) को केन्द्रिय समिति ९५ जनाको थियो।सायद सबैले बुबालाई चिन्थे होलान् कि!? खुला राजनीतिमा आएपछि उहाँको कार्यक्षेत्र धादिङ र गोरखा थियो।२०६३ असोज २०६४ को असोज सम्म गोरखाको इन्चार्ज हुनुहुन्थ्यो।२०६४ असोज/कार्तिकबाट स्कुलिङ्ग बिभाग को जिम्मामा काठमाडौंमा रहन थाल्नु भयो।२०६४ को चुनावमा गोरखा र काठमाडौंमा खट्नु भयो। चुनाव पछि केही समय भक्तपुर जिल्लाको इन्चार्जको जिम्म लिनुभयो।यसरी यो अवधिमा पनि धेरै ब्यक्तिहरुसँग बुबाको संगत हुन पुग्यो।

२०६५ मंसिरबाट पार्टीमा भीषण दुइलाइन संघर्ष सुरु भयो।अतरसँघर्ष चर्किएकै बेला फेरि उहाँको कार्यक्षेत्र तमुवान राज्यसमितिमा सह-इन्चार्ज को भुमिका रहने गरि भयो।तत्कालीन एकीकृत नेकपा(माओवादी) को २०६९ असारमा बिभाजन भयो।बिभाजनपछि मोहन बैध `किरण´ ले नेतृत्व गर्नु भएको नेकपा -माओवादीमा संबंधित रहँदै तमुवान राज्यसमितिको इन्चार्जको जिम्मेवारी बहन गर्न थाल्नु भयो।नेकपा-माओवादी गठन हुँदा उक्त पार्टीको केन्द्रिय समिति ४५ जनाको थियो।

केन्द्रिय समितिका सबै नै बुबासंग चिरपरिचित थिए।२०७० को चुनावमा पार्टीले बहिष्कार गर्ने निति लियो।बहिष्कार आन्दोलनमा तमुवान राज्यसमितिको नेतृत्व उहाँ आफैंले गर्नुभएको थियो।चुनाव पछी पार्टी भित्रको एउटा समूहले अर्कै पार्टी खोल्यो।तर हाम्रो पार्टी नेकपा-माओवादी नै रह्यो।यतिबेला सम्ममा बुबा पोलिट्ब्युरोको जिम्मेवारीमा पुगिसक्नु भएको थियो।२०७२ कार्तिक २२ नेकपा-माओवादी र अर्को एउटा समुहको एकतापछि पार्टी नाम नेकपा(क्रान्तिकारी माओवादी) भयो।

बुबा सो पार्टीको पनि पोलिट्ब्युरो सदस्य र तमुवान राज्यसमितिको सेक्रेटरी हुनुभयो।२०७४ असोजमा भएको राष्ट्रिय संमेलनबाट पनि बुबाको जिम्मेवारी यथावत नै रहिरह्यो।२०७४ पुर्वी नवलपरासी,बागलुङ र म्याग्दीपनि जोडिएपछि यो ४ नं. प्रदेश समिति भनिन थालियो। बुबाले ४ नं.प्रदेश समितिको अन्तिम बैठकको अध्यक्षता २०७५ मंसिर २२ र २३ मा गर्नु भएको थियो।राजनीतिक कार्यक्रमको हिसाबले २०७५ पौष ११ गतेको माओदिवसमा प्रमुख अतिथिको रूपमा प्रशिक्षण-मन्तव्य दिनुभयो।यसपछि कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुनै सक्नु भएन।

२०७५ को दसैंमा हामी २५ वर्षपछि गाउँ गोरखा हंसपुरमा जमघट भयौं।दशैं मनाएपछि हामी पोखरा फर्क्यौं भने बुबा-आमा गाउँमा नै हुनुहुन्थ्यो।२०७५ कार्तिक १७ गते पार्टीको पोलिट्ब्युरो मिटिङ्गका लागि बुबा गाउँ गोरखाबाट सिधै काठमाडौं जानुभयो।पोलिट्ब्युरोको मिटिङ्ग सकिएपछि कार्तिक २८ मा चितवनमा जगत बा को जगत श्रेष्ठ अभिनन्दन´कार्यक्रममा सहभागी हुनुभएछ। लगत्तै मंसिर ५ गते हरिराज अधिकारी `कुमार´ दाइको छोरी प्रगतिको बिबाहमा सहभागी हुनुभएछ ।

त्यहाँबाट मंसिर ८ बुटवल आउनु भयो।त्यतिबेला मपनी बुटवल पुगेको थिएँ।२०७५ मंसिर ११ बाट केन्द्रिय समितिको बैठक सुरु भयो। मंसिर ८ गते मैले भेट्दा बिरामी हुनुहुन्थ्यो।खोकी लागेको थियो,स्वर भासिएको थियो।रुघाले समेत दुख दिइरहेको थियो। ११ गते स्थानीय नेता क. बिनोद मर्सानीले थर्मस किनेर ल्याइदिनु भयो। तातोपानी थर्मसमा राखेर पिउँदा पनि रुघाखोकी सञ्चो भएन।

मंसिर १४ गते बेलुका लुम्बिनी हस्पिटलमा चेकजाँच गरियो।हस्पिटलले सामान्य निमोनिया हो भनेर केहि औषधि लेखिदियो।१७ गते बैठक सकियो।१८ गते बुबा नारायणघाटमा `जगत बा´ लाई भेटेर बेलुका भाइ उत्तमको घरमा बस्न जानुभयो म पोखरा आएँ।मंसिर २० गते बुबा पोखरा आउनु भयो।क.सिपी गजुरेल `गौरव´ हेड्क्वाटरबाट बैठक बसाल्न आउनु भएको थियो।

४ नं.प्रदेश पार्टीको २२ र २३ को दुईदिने बैठक बुबाकै अध्यक्षता बस्यो।बुबाको स्वास्थ्य झन्झन् बिग्रदैं थियो।मंसिर २४ गते गण्डकी क्षेत्रीय हस्पिटल पोखरामा चेकजाँच गराउँदा यस्तो त पेटको रोग ग्याष्ट्रिकले हुन्छ भनेर पौष १३ गते सम्मलाई औषधि दियो।गण्डकी क्षेत्रीय हस्पिटल पोखराको औसधिले सञ्चोमा सुधार ल्याउन सकेन।पौष १३ गते पुनः सोही हस्पिटल पुगियो।डाक्टरले पौष १८ गते सम्मलाई पुनः औसधि थप गर्‍यो।पौष १८ गते छात्तीको एक्स रे र सिटिस्क्यान गर्न भनियो।सिटिस्क्यानको रिपोर्ट १९ गते आयो।

सिटिस्क्यान हेरेपछि डा.ढाका श्रेष्ठले क्यान्सरको आशंका गरी बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुरलाई रेफर लेखिदिनु भयो।सबैभन्दा पहिले मैले यो कुराको जानकारी पार्टी महासचिव क.मोहन बैध `किरण´लाई गराएँ।उहाँले तुरुन्तै भरतपुर झर्न निर्देश गर्नुभयो।१९ गते सुशीला,उज्जल,शान्ति,आकाश गौतम र मैले सल्लाह गर्‍यौं र भोलि नै बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुर जाने निधो गर्‍यौं।

संयोगले १९ गते बेलुका भक्ती लामिछाने काका बुबा संगै रातबस्नेगरि पोखरा आइपुग्नु भएको थियो।२० गते बुबाले पत्रकार राजु क्षेत्रीसंग गाडीको सहयोग माग्नु भयो।उहाँले पनि सहज स्विकार गरि एउटा सुबिधायुक्त जिप तत्कालै पठाइदिनुभयो।उहाँको त्यो सहयोग नै बुबाको उपचारमा सहयोग आउने प्रक्रियाको पहिलो थालनी बन्न पुग्यो।बुबा र म २० गतेको १० बजे गाडी चडयौं। डेराबाट निस्कने बितिक्कै बुबाले मलाई अमृत(अमृत चपाईँ)लाई फोन गर्न भन्नुभयो।

मैले अमृतलाई जानकारी गराएँ। मुग्लिनको पुल भन्दा थोरै अगाडि पिसाब फेर्न ओर्लँदा छाया सानीमा(छाया रेग्मी) भेटहुनुभयो उहाँ स्कुलको शैक्षिक भ्रमणमा निस्कनु भएको रहेछ।आफन्त भेट्दा सान्त्वना त भयो तर के काममा लागी चितवन झर्दैछौँ भन्न सकियन। हाम्रो अनुहारमा आएको मलिनताले उहाँले केहि अनुमान गर्नुभयो होला।मुग्लिन कटेपछी सकुन्तलालाई फोन गरें फोन लागेन।एसएमएस गरें रामनगर पुगेपछि रिप्लाई आयो उ त शैक्षिक भ्रमणमा पुर्व बिराटनगर पुगेकी रहिछ।

मुग्लिन पुगेपछि क.अम्बिका मुडभरी`अन्जना´को फोन आयो।उहाँले हाम्रो जानकारी लिनुभयो। उहाँलाई अमृतले जानकारी दिनुभएछ। १:०० बजे २४ कोठी ओर्लंदा अम्बिकाको नेतृत्वमा चितवन पार्टीको एउटा टीम जुटिसकेको रहेछ।उहाँहरुले नै डा.भक्तमान श्रेष्ठ र डा.बिनय ठाकुरसँग बुबालाई अलग अलग भेटाउनु भयो र चेकजाँच सुरु गराइहाल्नु भयो।

२१ गते सनिवार भएकोले २२ गतेबाट संपुर्ण चेकजाँदा र उपचार बिपि मेमोरियल क्यान्सर हस्पिटलमा गर्ने निधो भयो।२० गतेदेखि अम्बिका कै घरमा बस्न थालियो। शान्ता दिदी र उत्तमलाई मैले त्यहीँबाट फोनमा जानकारी गराएँ।भोलिपल्ट अशोक लम्साल `अनुकुल´ आउनु भयो।बुबालाई नआत्तिन भनेर धेरै सम्झाउनु भयो।

२२ गते डा.बिनय ठाकुरलाई भेटेर बायोस्पीको प्रक्रिया अगाडि बढाइयो।डा.खगेन्द्र देवकोटा र कृष्णसागर पौडेलसंगपनि निरन्तर परामर्शमा रहियो।बायस्पीको रिपोर्ट भरपर्दो आएन।त्यसपछि एफएनएसि गरियो।एफएनएसि रिपोर्ट हेरेपछि डा.बिनयले अप्रेसन हुँदैन केमोथेरापी गर्नुपर्छ भने।केमोथेरापीको उपचार डा.खगेन्द्र देवकोटाको टिमबाट हुनेगरी सेटिङ्ग भयो।

माघ २ गते डा.बिनयले उपचारको बिधि फाइनल गरिदिएपछि सोही दिन कत्तिपनि ढिलोनगरी डा.खगेन्द्र देवकोटाले फाइल बनाउनु भयो।रोगको नाम left lung carcinoma III `B´ (देब्रे फोक्सोको क्यान्सर) रहेछ।माघ ४ गते पहिलो केमो दिने डिसिजन भयो।त्यसको संपुर्ण तारतम्य सबै डाक्टर सा`प( डा.खगेन्द्र देवकोटा)ले नै मिलाउनु भयो।पहिलो केमो दिएको दिन परिवारका प्राय सबै ,चितवन पार्टीका साथीहरूको एउटा टीम र पोखराबाट राजु क्षेत्री,कोमल बराल,झलकपाणि तिवारी र बिश्व प्रकाश लामिछानेपनि पुग्नु भएको थियो।

त्यही पोखराबाट जाने टीम मध्येका एकजना झलकपाणि तिवारीले सामाजिक संजालमा बुबाको फोटो राखी स्वास्थ्य लाभको कामना राख्नु भएपछि बुबाको बिरामीबारे सबैतिर सार्वजनिक भएछ।

क्रमस….