यो वर्ष विद्युतीय मिडियाहरु र छापाहरुमा एउटा नाम निकै नै भाइरल भइरह्यो। त्यो नाम थियो क.बिप्लवले नेतृत्व गर्नुभएको नेकपा नेतृ क.उमा भुजेल(सिलु) को। उहाँ गएको पुस महिनामा सुनसरी जिल्लाको पत्थर घट्टाबाट गिरफ्तार हुनु भएको थियो र यो ९ महिनामा राज्यले ८ वटा जिल्लाका विभिन्न प्रहरी हिरासतका थुनामा राख्यो।
८ वटा जिल्ला घुमाउने क्रममा उहाँ १२ पटक रिहाई र १३ पटक गिरफ्तारीमा पर्नु भएको छ। अहिलेपनि उहाँ राजबिराज स्थित प्रहरी हिरासतमा हुनुहुन्छ।अहिलेको यो बहुदलीय गणतन्त्रमा गणतन्त्र ल्याउन सबैभन्दा बढी भुमिका रहेका तिनै योद्धा मध्यकि एक राजनीतिक नेतृ उमा भुजेलसँग राज्यसत्ता किन यतिधेरै कायर भइरहेको छ?
राज्यले उहाँलाई किन यतिधेरै ज्यदती गरिरहेको छ? उहाँको सम्मानजनक रिहाइको लागी चौतर्फी आवाज उठिरहँदा पनि राज्यले किन रिहाई गरिरहेको छैन ? को हुन उमा भुजेल ? के हुन् उमा भुजेल ? दुनियाँले चिन्नु भन्दा अघिको उमा भुजेलको बारेमा मैले जाने बुझेजति जस्ताको तस्तै प्रस्तुत गरेको छु।
म ४ कक्षामा पढ्थें मेरी दिदी सुशीला ६ कक्षामा पढ्थिन। प्रसंग २०४४ बाट सुरु हुन्छ। त्यतिबेला ज्ञानज्योती माबि लप्सीबोटमा कक्षा १० सम्म पढाइ हुन्थ्यो।आसपासका अरु विद्यालयमा भने ५ वा ७ कक्षा सम्म मात्र पढाइ हुने रहेछ।जिवन ज्योति प्राबि काफलडाँडाबाट पाँच पास गर्ने विद्यार्थीहरु प्राय जसो हाम्रै घरको बाटो ज्ञानज्योति माबि पढ्न जाने आउने गर्दथे।
मलाई याद छ दिदीसँग पढ्ने तिनजना साथीहरू सिता दुवाडि,उमा भुजेल र कल्पना अधिकारी पनि त्यही बाटो भएर हिंड्न थाले।हाम्रो घरमा कांक्रो,नास्पाती,निबुवा सिजन अनुसारका फलफूल हुन्थे ।कहिले काँही दिदी र दिदीका तिनै साथीहरू मिलेर ती फलफूलहरु घरमा बसेर खाएको मलाई याद छ।
अरुहरु भन्दा उनीहरु(सिता,उमा र कल्पना)अलि बढी आफ्ना आफन्त हुन् कि झैं लाग्थ्यो।हरेक वर्ष विद्यालयमा फागुन ताका खेलकुद कार्यक्रम हुने गर्दथ्यो।खेलकुद कार्यक्रममा त्यही वर्षबाट उमा दिदीको प्रतिभा प्रस्फुटन हुन थाल्यो।लामो छोटो सबै प्रकारका दौड प्रतियोगितामा उहाँ अब्बल हुन थाल्नु भयो।
सात कक्षामा पनि त्यस्तै।कक्षा ८ पढ्न मेरी दिदी चितवन झरिन।उनीहरु(दिदीका साथीहरू) त्यहीँ पढ्थे।म पाँच कक्षा र उमा दिदीहरु ७ कक्षा पढ्दै गर्दा विद्यालयमा राजनीतिक हावा सुरु भइसकेको थियो।विद्यार्थीहरु अखिल र नेबिसंघमा बिभाजित भइसकेका थिए।हामीलाई अखिल भन्थे दिदीहरु पनि अखिल रहेछन्।
यो २०४५ साल ताकाको कुरा हो जतिबेला पञ्चायत जिवितै थियो।त्यही वर्ष भदौ २४ गते नेबिसंघ भन्ने विद्यार्थीहरुले झार गाउँको जंगलमा बिपि स्मृति मनाउँदै रहेछन् उमा दिदीको एकजना नजिक का नातापर्ने छिमेकी दाइ धन बहादुर भुजेल(मंगल्या काले)को टोलिले उनीहरुलाई आक्रमण गरि तितरबितर पारेछ।
भोलिपल्ट विद्यालयमा त्यसले ठुलो झडपको रुप लियो। नेबिसँघले अखिलका विद्यार्थीलाई बेसरी चुटे।धेरै चुटिनेमा दाइहरु प्रेम अधिकारी,कृष्ण अधिकारी,टंक बहादुर दुवाडी,जिवनाथ अधिकारी,धनमान गुरुङ,देवराज गुरुङ,टुक बहादुर अधिकारी,देवी अधिकारी आदि थिए।उमादिदीहरुले त्यतिबेला धेरै राम्रो काम गर्नु भयो अखिलका दाइहरु जजसलाइ नेबिसंघले घेरा हाल्थे उहाँहरुलाइ अखिलका छात्राहरुको ठूलो टिमले घेराबाट मुक्त गर्दथ्यो।
अखिलका छात्रहरु चुटिन पिटिनबाट जोगाउन उमादिदीहरुको (छात्रा टीमको) ठुलो भुमिका हुन्थ्यो।२०४७ पौष महिनातिर नेकपा(मशाल)को एउटा टोलि राजनीतिक अभियान लिएर काफलडाँडा पुगेको थियो दिउँसो जनसभा र बेलुका साँस्कृतिक कार्यक्रम गर्ने योजना रहेछ।
दिउँसोको जनसभा त सानदार ढंगले संपन्न भयो तर बेलुकाको सांस्कृतिक कार्यक्रम भने काँग्रेसीहरुले बिथोलिदिए।त्यतिबेला सायद उमा दिदी ८ कक्षामा पढ्नु हुन्थ्यो होला।त्यसदिन हामी एकछिन पछि सुरु हुने साँस्कृतिक कार्यक्रम हेर्न सीता दिदिको घरमा थियौं तर त्यहाँ त अर्कै परिस्थिति बन्यो।काँग्रेसी गुण्डाहरुले उमादिदीको बुबालाई मरणासन्न हुने गरि पिटेछ्न।
उहाँ बेहोस हुनुहुन्थ्यो।बिष्णु दाइ(बिष्णु भुजेल जो उमा दिदीको सबैभन्दा ठुलीदिदीको छोरा हाल बेल्जियम हुनुहुन्छ)ले थालले हम्कँदै हुनुहुन्थ्यो।पछि उहाँलाई उपचार गर्न बोकेर आँपपिपल अस्पताल नै लैजानू परेको थियो।मलाई लाग्छ उमा दिदिका २ दाइहरु र ४ दिदीहरु हुन्।ती सबैका उहाँ कान्छी बहिनी।
कांग्रेसी गुण्डाहरुले बुढो बाबुलाई बेहोस हुनेगरी पिटेकाले सायद उहाँको मनस्थितिमा अत्यन्तै गहिरो चोट पर्यो।प्रतिरोध को भावना उर्लेर आयो होला।त्यही दिन एउटा टीम बनाएर काँग्रेस गुण्डाहरुप्रति प्रतिरोध कार्वाही गर्नु भएको थियो।
त्यसको भोलिपल्ट उहाँ आफैंलाई गणित पढाउने शिक्षकले नेबि सँघको बीचमा राखेर चुट्ने,पिट्ने ,कपाल भुतल्ने र विद्यार्थिका माझ बेइजत गर्ने काम गरे।दिनदिनै काँग्रेसीहरुको दुर्ब्यहार बढ्दै गयो उहाँले सहँदै जानु भयो।
२०४८ जतिबेला उहाँ ९ कक्षामा पढ्दै गर्दा तात्कालिन संयुक्त जनमोर्चा नेपालले चुनावमा भाग लियो।गोरखा निर्वाचन क्षेत्र नं.२ को उम्मेदवार क.सुरेश वाग्ले(पछि सहिद) बन्नु भयो।क.सुरेश वाग्ले को चुनाव प्रचारप्रसार टोलिमा साँस्कृतिक मोर्चाको रूपमा २महिना पढाइ नै छोडेर खट्नु भएको थियोे।
उमा र मना त्यतिबेला चुनाव प्रचारप्रसार टोलिका कलिला कलाकार थिए।त्यो चुनाव मा क.सुरेश वाग्ले झिनो मत अन्तरले पराजित हुनुभयो।चुनावी अभियान सकिएपछि उहाँले फेरि पढाईलाई नै निरन्तरता दिइरहनु भयो।
९ र १० को पढाइका दिनहरू पनि खासै सुखका दिनका रूपमा रहेनन्।विद्यालय काँग्रेसीहरुको याताना सिबिर जस्तै भइरह्यो।पढाइमा अब्बल हो भन्ने कुरा कांग्रेसी शिक्षकको पक्षपातका कारण तत्काल प्रमाणित हुन पाएन तर एसएलसीमा धेरै राम्रो पोजिसनमा उहाँ पास हुनु भयो।
एसएलसीको नतिजाले भन्यो कि उहाँ एक्सिलेन्ट विद्यार्थी हो।एसएलसी पछि उहाँ शिक्षा क्याम्पस गोरखामा पढ्न थाल्नु भयो।यो क्याम्पसमा भने अखिल क्रान्तिकारीको राम्रो प्रभाव थियो।त्यही साल क्याम्पसमा स्वबियुको चुनाव भयो उहाँ अखिलको तर्फबाट स्वबियुमा चुनिनु भयो।क्याम्पसका ती दिनहरू अखिल क्रान्तिकारीहरुका स्वर्ण दिनहरू थिए।
क्याम्पसमा दिनदिनै कार्यक्रम हुन्थे।ति सबै महान जनयुद्धका तयारीका दिनहरू थिए।मेरो आफ्नै बुबा श्रीनाथ अधिकारी र पार्टीका साथीहरू सुरेश वाग्ले, भिमसेन पोख्रेल,प्रेम ढकाल,शिव श्रेष्ठ,शंकर घिमिरे,महेन्द्र श्रेष्ठहरु दिनदिनै क्याम्पस आसपासमै बसेर जनयुद्ध को चार तयारी भन्दै विद्यार्थीहरु परिचालन गरिरहनु हुन्थ्यो।
नाच्ने,गाउने,बोल्ने,दौडने आदि सबै मेलोमा उमा दिदीको क्षमताले तिक्ष्णता पाउँथ्यो।उमादिदी र हामीहरु क्याम्पसमा दोस्रो वर्ष पढ्दा पढ्दै महान जनयुद्ध सुरु भइहाल्यो।उमा दिदी र कौशिला दिदी भुमिगत गइहाल्नु भयो।छोप्राक घर भएको मेरो रुम पार्ट्नर सुर्य नारायण श्रेष्ठ(बिबेक) पनि जनयुद्धको सुरुवातमा नै भुमिगत गयो र पछी २०५६ पौषमा रोल्पाको भुमिमा सहिद भयो।
मलाई पुर्णकालिन हुन अलि समय लाग्यो।उमा दिदी भुमिगत गएको २ महिनापछि उहाँसँग भेट भयो त्यतिबेला उहाँले ब्वाइज कट कपाल काट्नु भएको थियो।२०५३ मा म पढाई छोडेर घरमै थिएँ।काफलडाँडा ठाडस्वाराँ हरि दवाडी सरको घरमा राजनीतिक प्रशिक्षण कार्यक्रम रहेछ त्यहाँ उमादिदी,आसाकाजी श्रेष्ठ लगायतका कमरेडहरु आउनु भएको रहेछ।
उमा दिदीले "दीर्घकालीन जनयुद्ध"को रणनिति बारे प्रशिक्षण दिनु भयो।प्रशिक्षण उत्कृष्ट थियो।२०५३ सालमा जम्मा जम्मी उहाँ हाम्रो घरमा ३ पटक आउनु भयो।एक पटक रामभक्त पौडेल लगायतका कमरेडहरुसँग,अर्को पटक हरी अधिकारी क.कुमार लगायतका साथीहरूसँग अनि अर्को पटक पम्फा कुमाल लगायतका साथीहरूसंग।म २०५३ को पौष बाट २०५५ को असोज सम्म काठमाडौंमा थिएँ यो बीचमा मेरो दिदीसँग भेटघाट नै भएन।
२०५५ को मंसिर बाट म पनि भुमिगत भएँ।२०५५ पौष १३ गते केराबारीमा ठुलो हत्याकाण्ड भयो।हत्याकाण्ड हुनुभन्दा १५ मिनेट अगाडि उमादिदीसँग भेट भएको थियो।एउटा घरमा दिदी हुनुहुन्छ रे भनेर म भित्र जाँदा उहाँ रोइरहनु भएको थियो साथमा उहाँको श्रीमान भिमसेन पोख्रेल(पछी सहिद) पनि साथमै हुनुहुन्थ्यो।भिमसेन दाइलाई मैले सोध्दा उहाँ हाँसिरहनु भयो केहि भन्नु भएन ।पछी बुझ्दा तात्कालिन सेक्रेटरी क.शिशिरको अन्याय र ज्यादतीको पिडा सहन नसकेर त्यसो भएको रहेछ।
त्यही दिन हामी बसेको घरमा पुलिसले घेरा हालेर ७ जना साथीहरूको हत्या गर्यो अरु हामी ४ जनाले घेरा तोडियो। उहाँहरु ले सेल्टर लिएको घर चाहिँ घेरामा परेको थिएन र उहाँहरु सजिलै सुरक्षित हुन सफल हुनु भयो।त्यसपछिका दिनहरूमा भिमसेन पोख्रेल दाइसँग पटकपटक भेट भइरहे पनि उहाँसँग भने भेट भइरहेको थिएन।
२०५६ सालको भाद्र २३ गते छोप्राक चित्रेपोखरी सुशीला गुरुङको घरमा दिदीसँग भेट भयो।दिनभरि सुखदुःखका कुरा भइरहेका तर त्यही बेला एकाएक नरमाइलो खबर आयो क.सुरेश वाग्ले र क.भिमसेन पोख्रेल नजिकै गाँखुमा पुलिसको घेरामा पर्नु भएको छ भनेर।त्यो दिन अवेला सम्म उहाँहरु बारे प्रष्ट कुरा आउँदै आएन।
उहाँहरुले घेरा तोड्नु भयो कि!?,गिरफ्तार पो हुनु भो कि!? वा पुलिसले हत्या नै पो गर्यो कि!?रातभर पनि केहि खबर आएन।त्यो रात हामी सबैलाई अत्यन्तै उकुसमुकुस भयो।भोलिपल्ट हामी छुट्टीएपछि पो थाहा भयो उहाँहरुको त अघिल्लै दिन भदौ २३ मै साहदत भइसकेको रहेछ। त्यो दिनबाट दिदी सहिद पत्नी अर्थात एकल महिला हुनपुग्नु भयो। त्यही साल पौषतिर दिदीपनि तान्द्राङ्गबाट गिरफ्तार हुनुभएछ।
डेढ वर्षको जेल बसाई पछि उहाँ सहित ६ जना महिला राजबन्दीहरुले गोरखा जेल ब्रेक गरे जुन एउटा अन्तर्राष्ट्रिय घटना बन्यो।जेलब्रेकपछि पनि उहाँ जनयुद्ध कै मैदानमा डटिरहनु भयो।२०५८मा गठन भएको पहिलो जनसरकारमा पनि उहाँ आवद्ध हुनुहुन्थ्यो भने सायद २०५३/५४ तिरबाटै पार्टीको जिल्ला सदस्य हुनुभएको थियो।
२०५८ भदौ देखि तात्कालिन जनमुक्ति सेनाको प्लाटुन कमान्डर पनि हुनु भएको थियो।उहाँ ब्युरो सदस्य कतिबेला हुनुभयो मलाई थाहा भएन तर केन्द्रिय सदस्य भने २०६१ मंसिर देखि भएको हुनुपर्छ।बहुचर्चित चुनवाङ्ग बैठकमा समेत उहाँको उपस्थिति रहेको थियो।यही बिचमा उहाँको वसन्त श्रेष्ठसँग दोस्रो बिबाह भएको रहेछ।
२०६२ मंसिरमा कास्कीको सिक्लेसमा मैले भेट्दा उहाँ जनमुक्ति सेनाको बृग्रेड कमिसार भइसक्नु भएको थियो।बिस्तृत शान्ति संझौतापछी नेकपा(माओवादी)ले अन्तरिम ब्यवस्थापिकामा ७३ जना ब्यवस्थापिका सदस्य पठाउँदा उहाँपनि छानिनु भयो।पहिलो संबिधान सभामा पनि उहाँ समानुपातिक तर्फबाट सभासद बन्नु भयो।
क्रमशः.....
लेखक नारायण अधिकारी नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हुन्।