• शनिवार, कार्तिक ८ गते २०७७

को हुन् जगतबहादुर श्रेष्ठ (जीवनी )

को हुन् जगतबहादुर श्रेष्ठ (जीवनी )

को हुन् जगतबहादुर श्रेष्ठ (जीवनी )

  • 601
    SHARES

  • को हुन् जगतबहादुर श्रेष्ठ (जीवनी  )

    मेयर सिंह श्रेष्ठका नाति नर बहादुर श्रेष्ठका काँइला छोरा क.जगत बहादुर श्रेष्ठको जन्म १९८६ सालमा सिरानचोक गाउँ पालिका-८ जौवारीको हटियामा भएको थियोे।२००७ साल सम्म अर्थात २१ वर्षको  युवा अवस्था सम्म उहाँ निरक्षर हुनुहुन्थ्यो।

    २१ वर्षको उमेरबाट मात्र उहाँले क,ख,र A,B,C,D सिक्न थाल्नु भएको रहेछ। २००७ साल देखि २०१० साल सम्म उहाँले गोरखा जिल्लाकै जौवारी र शक्ति स्कुलमा पढ्नु भएको थियो ।

    गोरखाको शक्ति स्कुलमा पढ्दा २००८ सालमा  काठमाडौंबाट गएका दुई विद्यार्थी नेताहरु अरबिन्दनाथ रिमाल र रामचन्द्र शर्माले उहाँ लगायत सुर्य बहादुर मास्के,यमुना न्यौपाने,रामनाथ श्रेष्ठ,लक्ष्मणबाबु श्रेष्ठ र अरु ७-८ जना विद्यार्थी सम्मीलित `अखिल नेपाल विद्यार्थी फेडेरेशन,गोरखा´ गठन गराइदिए।

    उहाँ त्यही बेला देखि राजनीतिमा जोडिनु भयो।त्यसताका गोरखामा पार्टी सेक्रेटरी बैकुण्ठ कट्टेल थिए।२००८ देखि २०११ सम्म क.जगत श्रेष्ठले गोरखामा  नै बामपंथी विद्यार्थी राजनीति गर्नु भयो।

    २०११ सालमा गोरखा कै वार्पाक -सुलिकोट गाउँपालिका वार्ड न  ४ मा पर्ने स्वाँराको नेवार गाउँमा `अखिल नेपाल विद्यार्थी फेडेरेशन,गोरखा´को प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्य हुनुभयो।

    त्यही साल उहाँले जिल्ला पार्टी सचिब क.बैकुण्ठ कट्टेलको सहयोगमा क.पुन्य प्रताप राणासँग पार्टी सदस्यता पनि लिनु भएको थियो।२०१२ सालमा कक्षा ८ पढ्न उहाँ काठमाडौं जानु भयो र सिताराम प्रौढ हाइस्कुलमा  रात्रिकालिन पढाइ सुरु गर्नु भयो।

    त्यहाँ साहाना प्रधान र पुष्पलाल श्रेष्ठका भाइहरु शिक्षक थिए।त्यसपछि त उहाँलाई कम्युनिस्ट राजनीति झन धेरै लाग्यो।२०१४ सालमा २८ वर्षको उमेरमा उहाँले एसएलसी पास गर्नु भयो।

    उहाँको पहिलो बिबाह २००८ सालमा २२ वर्षमा भएको रहेछ तर त्यो सफल भएन।फेरि २०१८ सालमा उहाँको दोस्रो बिबाह भएको रहेछ।२०१२ साल देखि २०१४ साल सम्ममा कम्युनिष्ट पार्टीका धेरै नेताहरूसँग उहाँको बाक्लो भेटघाट हुन पुग्यो।

    यसबिचमा उहाँ पार्टी राजनीतिमा धेरै नै खारिनु भएको थियो। क.पुस्पलाल श्रेष्ठ,केशरजंग रायमाझी,हिक्मत सिंह भण्डारी,क.निर्मल लामा आदि संग उहाँको घनिष्ठ सम्बन्ध  थियो।

    नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनमा प्रतिनिधि भएर उहाँले भाग लिनु भएको थियो।२०१५ सालको आम निर्वाचनमा उहाँलाई  नेपाल कम्युनिष्ट पार्टीले गोरखाको उत्तरी क्षेत्रबाट उम्मेदवार बनायो।

    उहाँ उम्मेदवार भएको क्षेत्रमा कांग्रेसबाट कृष्ण प्रसाद भट्टराई र गोरखा परिषदबाट बिश्वनाथ सुवेदी चुनाव लडेका थिए।बिश्वनाथ सुवेदीले ३,१३३भोट ल्याइ चुनाव जिते।कृष्ण प्रसाद भट्टराईले २,८०८  भोट ल्याए । जगत श्रेष्ठको ५४५ भोट आयो। २०१५ र २०१६ सम्म उहाँले गोरखा र काठमाडौंमा रहेर पार्टी राजनीति गर्नु भएको थियो।

    २०१५ सालमा उहाँहरुले गोरखा जिल्ला पार्टीको `प्रथम जिल्ला भेला´ धुवाँकोटको रातमाटेमा गर्नु भएको थियो।त्यो भेलाले इन्द्रदत्त पन्तलाई पार्टी सेक्रेटरीमा चुनेको थियो।त्यस भन्दा अगाडिका पार्टी सचीव बैकुण्ठ कट्टेल थिए।

    २०१७ सालमा राजा महेन्द्रले निर्दलिय पञ्चायती ब्यवस्था सुरु गरे।यसपछि सबै राजनीतिक दलमाथी प्रतिबन्ध लाग्यो।कम्युनिष्ट पार्टीको प्रतिबन्ध सँगै क.जगत श्रेष्ठ चितवन बसाइँ सर्नु भएछ।

    चितवन झरेसँगै उहाँ शिक्षक लगायत विभिन्न पेसामा आवद्ध हुनुभएको  रहेछ।२०२४ सालमा त उहाँ ३८ वर्षको पुगिसक्नु भएको थियो।त्यही ताका उहाँ ,आनन्ददेव भट्ट,मथुरा श्रेष्ठ र गुण बहादुर घले मिलि `स्वतन्त्र समुह´(Non center group)गठन गर्नु भएछ।Non center group को प्रभाव चितवनमा व्यापक पनि बनेछ।

    पछि २०२८ सालमा Non center group लाई उहाँहरुले का.मोहन बिक्रम सिंहले नेतृत्व गर्नु भएको `केन्द्रिय न्युक्लस´मा ध्रुवीकरण गराउनु भएछ।त्यही `केन्द्रिय न्युक्लस´को मूल धार पछि नेकपा(चौम),  नेकपा(मशाल) , नेकपा(एकता केन्द्र),नेकपा(माओवादी), एकीकृत नेकपा(माओवादी) ,नेकपा-माओवादी र आजसम्म आइपुग्दा नेकपा(क्रान्तिकारी माओवादी) बनेको छ।

    क.जगत श्रेष्ठ पनि यी पार्टी संगठनका  विभिन्न जिम्मेवारी बहन गर्दै नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रिय सल्लाहकारको हैसियतमा जीवन पर्यन्त हुनुहुन्थ्यो।

    ९१ वर्षको उमेरमा आज असोज ८ गते अपरान्ह ४:१५ मा उहाँको निधन हुन पुगेछ। उहाँको निधनले  गोरखा र सिंगो देशको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अपुरणिय क्षति हुन पुगेको छ।आदरणीय अग्रज कम्युनिष्ट योद्धा क.`जगत बा´ प्रति भावपुर्ण श्रद्धाञ्जली!

    लेखक -नारायण अधिकारी (निश्चल) नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हुन्। 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology