नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ।
यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको हो।
‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने तय त केन्द्रीय समितिले गर्छ तर सर्छ,’ सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने।
‘सभापतिलाई केही काम नै गर्न नदिने, जे गरे पनि विरोध गर्ने, जिल्ला सभापतिहरूलाई सदस्यताको फाराम नै लैजान नदिने अनि महाधिवेशन भएन भनेर सभापतिलाई मात्रै दोष दिएर होला?’ नेता विश्वकर्माले भने।
कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको छ।