पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् ।
यस्तै काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।
आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।