पार्टीभित्रको विवाद समाधान गर्नेको लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ।
प्रतिवेदन छिटै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइने तयारी गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
शनिबार वा आइतबार सम्म बुझाउँछौं, हामीले काम सकेर अन्तिम चरणमा पुगेका छौं। ती सदस्यले भने, ‘प्रतिवेदन कार्यान्वयन भए पार्टीको विवाद समाधान हुन्छ।’
दुवै अध्यक्षलाई जिम्मेवार बनाउने गरी प्रतिवेदन तयार भएको छ,’ कार्यदलका ती सदस्यले भने, ‘एकले अर्कालाई असहयोग होइन कि सहयोग र सहकार्य गरेर सहमतिमै एकता महाधिवेशन टुंगो लगाउनेसम्मको कार्ययोजना बनाएका छौं।’
प्रतिबेदनमा कार्यकारी अध्यक्ष प्रचण्ड ले पार्टी एकताको काम सकेर केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशनको तयारी गर्ने गरी कार्यविभाजन गरिएको छ ।
त्यस्तै अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने क्रममा महत्वपूर्ण नियुक्तिका विषयमा पार्टीमा छलफल र निर्णय गरेर गर्ने गरी अगाडि बढ्नुपर्ने विषय समेटिएको छ।
नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गत शुक्रबार गठन भएको थियो ।