काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वउपाध्यक्ष विक्रम पाण्डे नेकपामा प्रवेश गर्न लागेको विषयले राप्रपामा चर्को बहस सुरु भएको छ ।
‘नेकपाका दुई अध्यक्षबीच प्रतिद्वन्द्विता उत्कर्षमा पुगेका बेला पाण्डे नेकपा प्रवेश गर्ने चर्चाले केहि दिनयता राप्रपाभित्र अर्को तरंग ल्याएको छ,’ राप्रपाका एक केन्द्रीय सदस्यले भने।
गतसाता पूर्वमहामन्त्री सुनिलबहादुर थापा केन्द्रीय सदस्यहरुको एउटा दलबलसहित कांग्रेस प्रवेश गरेका थिए।
राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको पाँच महिना हुँदा पनि सुल्झाउन बाँकी रहेका केहि विषयमा सहमति गर्न बिहीबार बसेको नेताहरुको बैठकमा समेत पाण्डे नेकपा प्रवेश गर्न लागेको विषय उठेको थियो।
बिहीबार बसेको बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, श्याम तिमल्सिना, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, जयन्त चन्दसहितका नेताहरुको सहभागिता थियो।
नेपालको पहिलो नम्बरका निर्माण व्यवसायी पाण्डे चितवनमा राजनीतिक पकड भएका नेता हुन्।
