नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनको लागि नभई संबिधानको रक्षाको लागि बनेको बताएका छन् ।
गोरखा जिल्ला स्थित सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण लाई सम्बोधन गर्दै उनले संबिधान नै खतरामा परेका बेला बर्तमान संबिधानको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन् ।
‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन, अध्यक्ष प्रचण्डले भने, ‘संबिधान ध्वंस्त पार्ने अबस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उनले संबिधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए ।
‘पटक–पटक संबिधान च्यात्ने कोशिस भएपछि यहीँ गठबन्धनले संबिधानको रक्षा गरेको हो, उनले भने, ‘अब यसलाई मसिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’
गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन, उनले भने, ‘गोरखाको भुगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।’
उनले आफू गोरखा दुई नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भएतापनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक सम्बृद्धिको थालनी गोरखाबाट नै गर्ने बताए ।
अध्यक्ष प्रचण्डले नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक सम्बृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको बताए ।