प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मंगलबार (भोलि) सरकार विस्तार हुने र नयाँ मन्त्रीहरूले शपथग्रहण गर्नेे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । “मन्त्रिपरिषद्बारे आज टुंगिन्छ । भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । भोलि नै नयाँ मन्त्रीहरूको शपथ हुन्छ,” उनले भने ।
आजै बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन नेताबीचको भेटवार्तामा भोलि नै अपराह्न ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको छ ।
सो बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ । दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।