• सोमवार, श्रावण ११ गते २०८३

बालबालिकाको रिसः अनुशासनको समस्या कि वयस्कहरूको असफल संवाद?

बालबालिकाको रिसः अनुशासनको समस्या कि वयस्कहरूको असफल संवाद?

बालबालिकाको रिसः अनुशासनको समस्या कि वयस्कहरूको असफल संवाद?

  • 39.1K
    SHARES

  • बालबालिकाको रिसः अनुशासनको समस्या कि वयस्कहरूको असफल संवाद?

    बालबालिकाको रिस अनुशासनको असफलता होइन; यो प्रायः वयस्क र बालबालिकाबीचको संवाद असफल भएको संकेत हो ।

    जब बालबालिकालाई बुझिन्छ, सुन्निन्छ र सम्मान गरिन्छ, तब उनीहरू भावनात्मक रूपमा सुरक्षित महसुस गर्छन् र रिस स्वाभाविक रूपमा घट्दै जान्छ ।

    हामीले बालबालिकालाई ‘रिस नगर्न’ सिकाउनुभन्दा पहिले, उनीहरू किन रिसाइरहेका छन् भन्ने कारण बुझ्नुपर्छ ।

    रिसलाई दबाउने होइन, सुन्ने र अर्थ लगाउने संस्कृतिले मात्र भावनात्मक रूपमा स्वस्थ, जिम्मेवार र सन्तुलित पुस्ता निर्माण गर्न सक्छ ।

    आज धेरै अभिभावक, शिक्षक र समाजले एउटै गुनासो दोहो¥याइरहेका हुन्छन्,

    “आजका बालबालिका धेरै रिसाउने भए”,

    “सानो कुरामा पनि झर्किन्छन्”,

    “भनेको नमान्ने, अटेरी हुने र तुरुन्तै जवाफ फर्काउने वा प्रतिक्रिया दिने बानी बढेको छ”

    “हामीले त यस्तो कहिल्यै गरेनौ”

    यस्ता अभिव्यक्तिहरू प्रायः बालबालिकाको व्यवहारलाई केन्द्रमा राखेर गरिन्छन् । तर गम्भीर प्रश्न भनेको के वास्तवमै समस्या बालबालिकाको स्वभाव वा अनुशासनमा कि उनीहरूलाई हुर्काइरहेका वयस्कहरूको संवाद शैली, बुझाइ र प्रतिक्रिया प्रणालीमै कमजोरी छ ?

    बालबालिकाको रिसलाई केवल अनुशासनहीनताको रूपमा व्याख्या गर्नु सजिलो छ, तर त्यो वैज्ञानिक र मनोवैज्ञानिक रूपमा गलत दृष्टिकोण हो । रिस आफैंमा खराब भावना होइन; यो त व्यक्तिले भोगिरहेको आन्तरिक असहजता, अन्याय, डर, असुरक्षा वा बुझ्न नसकेको भित्री पीडाको संकेत हो । विशेषगरी बालबालिकाका लागि रिस उनीहरुले बोल्ने भाषा हो जब उनीहरूसँग आफ्ना भावना शब्दमा व्यक्त गर्ने क्षमता अझ विकसित भइसकेको हुँदैन अनि रिसको रुपमा प्रस्तुत हुन्छन् ।

    रिस भनेको के हो? (बालमनको दृष्टिबाट)

    रिस मानिसमा स्वाभाविक रूपमा उत्पन्न हुने भावना हो । जब कुनै व्यक्तिको अपेक्षा पूरा हुँदैन, आवश्यकता सुनिदैनन्, सीमा उल्लङ्घन हुन्छ वा आफू असुरक्षित महसुस गर्छ, तब रिस उत्पन्न हुन्छ । यो भावना आफैंमा न राम्रो हो न खराब; यो केवल आन्तरिक असन्तुलनको संकेत हो ।

    बालबालिकाको सन्दर्भमा रिसलाई अझ संवेदनशील ढंगले बुझ्न आवश्यक हुन्छ । बालबालिकाले रिस देखाउँदा उनीहरू जानाजानी समस्या सिर्जना गरिरहेका हुँदैनन्; उनीहरू आफ्नो भावना, चाहना वा असहजतालाई व्यक्त गर्न संघर्ष गरिरहेका हुन्छन् । वयस्कहरूले जस्तो सोच्ने, आत्मनियन्त्रण गर्ने र भावनालाई शब्दमा व्यक्त गर्ने क्षमता उनीहरूमा अझै पूर्ण रूपमा विकास भइसकेको हुँदैन । यसै कारण बालबालिकाको रिस प्रायः चिच्याहट, रुवाइ, जिद्दी, सामान फ्याँक्ने, मौनता अपनाउने वा अचानक आक्रोश देखाउने व्यवहारको रूपमा देखा पर्छ । यी व्यवहारलाई समस्या मान्नु भन्दा पनि यसलाई भित्रको भावनात्मक अवस्थाको बाहिरी संकेतका रूपमा बुझ्न आवश्यक हुन्छ ।

    बालबालिका हुने रिसका प्रमुख कारणहरू

    १. भावनालाई बुझ्न नसक्नु

    बालबालिकाले आफ्ना भावना स्पष्ट शब्दमा व्यक्त गर्न सक्दैनन् । जब उनीहरूले आफूलाई नबुझेको, नसुनेको वा बेवास्ता गरिएको महसुस गर्छन्, अनि रिस उनीहरूको भावनात्मक भाषा बन्छ ।

    धेरैपटक वयस्कहरू व्यवहारमा मात्र केन्द्रित हुन्छन् र भन्छन् रोयो, करायो, झर्कियो भनेर । तर वास्तविक समस्या व्यवहारभन्दा भित्र हुन्छ ।

    “किन रोइरहेको छ?” भन्दा पनि “यसले के महसुस गरिरहेको छ?” भन्ने प्रश्नले बालबालिकाको मनसम्म पुग्न मद्दत गर्छ । जब उनीहरुको भावना स्वीकारिँदैन, तब रिस नै आफूलाई देखाउने माध्यम बन्छ ।

    २. असुरक्षा र डर

    घरभित्रको झगडा, हप्काइ, ठूलो स्वर, करकाप, चिच्याहट, अस्थिर पारिवारिक सम्बन्ध वा अत्यधिक नियन्त्रणले बालबालिकाको मनमा सुरक्षित अनुभूति हराउँछ ।

    बालबालिकाले आफू सुरक्षित छु भन्ने महसुस नगर्दा डर जन्मिन्छ । यो डर सिधै भन्न नसक्दा रिसको रूपमा देखापर्छ ।

    धेरै रिसाउने बालबालिका वास्तवमा डराइरहेका हुन्छन् विशेषत गाली, हप्काई, कुटाई खाने जस्ता डर, अस्वीकार हुने डर आदिले उनीहरुमा डर पैदा भएको हुन्छ । यही नदेखिने डरले रिसको रूप लिन्छ ।

    ३. अत्यधिक नियन्त्रण वा अपेक्षा

    हरेक कुरामा आदेश दिनु, अरूसँग तुलना गर्नु, सधैँ राम्रो हुन दबाब दिनुले बालबालिकाको स्वाभिमान र पहिचानमा दबाब बन्छ । आफ्नो चाहना, विचार र निर्णयले महत्व नपाउँदा बालबालिकाले आफू ‘म जस्तो हुनु गलत हो’ भन्ने सन्देश पाउँछन् । यही दबिएको भावना भित्रै थिचिरहँदा अन्ततः रिसका रूपमा बाहिर निस्कन्छ । यो रिस अवज्ञा होइन; आत्मसम्मान, सहयोग र स्वीकृतिको खोज हो ।

    ४. स्पष्ट सीमाको अभाव

    अनुशासन र नियन्त्रण एउटै होइनन् । अनुशासन भनेको बालबालिकालाई सुरक्षित महसुस गराउने स्पष्ट सीमा देखाउनु हो, जबकि नियन्त्रण भनेको डर देखाएर दबाउनु हो । जब नियमहरू स्पष्ट र स्थिर हुँदैनन्, कहिले चल्ने, कहिले नचल्ने; आज ठीक, भोलि गलत जस्ता चलन र प्रक्रियाले बालबालिका अन्योलमा पर्छन् । यही अन्योलताले असुरक्षा जन्माउँछ र असुरक्षाले रिसलाई बढावा दिन्छ । तर जब सीमा स्पष्ट, निरन्तर, वास्ता र माया सहितका व्यवहार हुन्छन्, बालबालिकाले आफू सुरक्षित महसुस गर्छन् र रिस स्वाभाविक रूपमा कम हुँदै जान्छ ।

    ५. वयस्कको व्यवहारको प्रतिरूप

    बालबालिका प्रवचन, उपदेश जस्ता कुरा सुनेरभन्दा पनि देखेर सिक्ने उमेरको अवस्था हुन् । घरमा वयस्कहरूले कसरी रिस व्यक्त गर्छन्, कसरी विवाद समाधान गर्छन्, कसरी बोल्छन् त्यही व्यवहार बालबालिकाले नक्कल गर्छन् ।

    यदि घरभित्र निरन्तर वादविवाद, अपमान, दोषारोपण र रिस देखिन्छ भने बालबालिकाले त्यही शैली सामान्य ठान्छन् र यस्तै गर्नुपर्ने रहेछ भनेर उनीहरुको मष्तिष्कमा छाप पर्छ ।

    यसैले बालबालिकाको रिस बुझ्ने हो भने, पहिला वयस्कहरूले आफ्नो व्यवहार बुझ्न वा आफैलाई ऐनामा हेर्नु आवश्यक हुन्छ ।

    रिस र अनुशासनः भ्रम र वास्तविकता

    प्रःया वयस्कले रिस व्यक्त गर्ने बालबालिकालाई “अनुशासनहीन” ठान्छन् । तर वास्तविक अनुशासन भनेको डर, दण्ड वा नियन्त्रणबाट होइन, आन्तरिक बुझाइ र आत्म–नियन्त्रणबाट उत्पन्न हुन्छ ।

    दण्ड वा सजायले बालबालिका डराउन सक्छन्, तर त्यसले उनीहरूलाई वास्तवमा अनुशासन भन्ने कुरा बुझाउँदैन । डरले केवल रिसलाई अस्थायी रूपमा दबाउन सक्छ, तर समस्या समाधान हुँदैन । दबिएको रिस समयसँगै अझ गहिरो रूपमा देखा पर्न सक्छ, विशेष गरी किशोरावस्थामा, जसले विद्रोह, आक्रामकता, आत्मग्लानि, वा आत्मविश्वासको कमी जस्ता चुनौतीपूर्ण व्यवहारमा परिणत हुन सक्छ ।

    सही अनुशासन भनेकोः

    भावना स्वीकार गर्नु ।

    व्यवहारलाई मार्गदर्शन गर्नु ।

    के गर्नु हुन्छ वा के गर्नहुँदैन भन्ने सीमालाई स्पष्ट तर सम्मानजनक राख्नु हो  ।

    वयस्कहरूको असफल संवादः समस्या कहाँ छ?

    १. सुन्नेभन्दा सुधार्ने हतार

    बालबालिकाले कुरा गर्न खोज्दा धेरै वयस्क तुरुन्तै समाधान दिन खोज्छन्, “त्यस्तो सोच्नु हुँदैन”, “त्यो केही होइन”, “किन यस्तो ग¥यौ?”

    यसले उनीहरुमा आफ्नो भावनालाई नसुनेको र बुझ्न नसकेको अनुभूति बढाउँछ ।

    २. भावनालाई नकारात्मक लेबल

    “रिसाउनु खराब हो”, “रुनु कमजोर हो” भन्ने सन्देशले बालबालिकालाई आफ्नै भावनासँग लड्न सिकाउँछ । यसको अर्थ हो, जब बालबालिकालाई “रिसाउनु खराब हो” वा “रुनु कमजोरी हो” भनेर भनिन्छ, तब उनीहरूले आफूले महसुस गरेको भावना बुझ्ने र व्यक्त गर्ने तरिका सिक्दैनन् । बरु, ती भावनाहरू गलत हुन् भनेर सोचेर दबाउने, लुकाउने र आफैंसँग संघर्ष गर्ने बानी सिक्छन् । यसले भावनात्मक रूपमा स्वस्थ बन्न होइन, भित्रै–भित्रै तनाव र द्वन्द्व बढ्न मद्दत गर्छ । रिस दबाउन सिकाउनु होइन, त्यसलाई बुझ्न, नाम दिन र सुरक्षित तरिकाले व्यक्त गर्न मार्गदर्शन गर्नु नै बालबालिकालाई भावनात्मक रूपमा बलियो बनाउने उपाय हो ।

    ३. संवाद होइन, आदेश

    आदेशले आज्ञा त गराउँछ, तर सम्बन्ध कमजोर बनाउँछ। सम्बन्ध कमजोर हुँदा रिस बढ्छ ।

    ४. अस्थिर व्यवहार तथा प्रतिक्रिया

    कहिले धेरै मायापे्रम, कहिले वेवस्ता, कहिले पूर्ण बेवास्ता र कहिले कडा सजाय जस्ता अस्थिर व्यवहार तथा प्रतिक्रिया बालबालिकाका लागि ठूलो भ्रमको स्रोत बन्छ । उनीहरूलाई “कुन व्यवहार ठीक हो” भन्ने स्पष्ट सन्देश मिल्दैन, जसले असुरक्षा बढाउँछ र रिस झन बनाउँछ ।

    बालबालिकालाई रिससँग जुध्न सिकाउने उपाय

    बालबालिकाले रिस नियन्त्रण गर्न सिक्ने प्रक्रिया निर्देशनभन्दा धेरै अनुभव, सम्बन्ध र उदाहरणबाट विकास हुन्छ । त्यसैले वयस्कको भूमिका रिस दबाउने होइन, उनीहरुको रिसलाई बुझ्ने र सुरक्षित तरिकाले रूपान्तरण गर्न सहयोग गर्ने हो ।

    १. भावना स्वीकार गर्ने भाषा प्रयोग गर्नु

    रिस देखिँदा सबैभन्दा पहिला आवश्यक कुरा उसको भावनाको मान्यता हो । “तिमी अहिले रिसाएको छौ भन्ने कुरा मैले बुझेकोछु” जस्ता वाक्यहरूले बालबालिकालाई दुई महत्त्वपूर्ण सन्देश दिन्छ,

    (क) तिमी गलत छैनौ

    (ख) म तिमीलाई सुन्दैछु

    यसले उसको व्यवहार ठीक हो भनेर भनेको होईन तर उसको भावनालाई सम्मान गरेको हो । जब भावनालाई स्वीकारिन्छ, बालबालिकाको मन शान्त हुन थाल्छ र रिसको तीव्रता घट्छ । भावना अस्वीकार हुँदा भने बालबालिका अझ प्रतिरोधी बन्छन् ।

    २. रिसको समयमा होइन, शान्त अवस्थामा शिक्षा दिनु

    रिसको क्षणमा बालबालिकाको सोच्ने र तर्क गर्ने क्षमता निस्क्रिय हुन्छ जुन कुरा वयष्कमा पनि लागू हुन्छ । त्यो बेलामा उपदेश, तर्क वा सजायको लागि उपयुक्त हुँदैन । रिस शान्त भएपछि मात्र बालबालिकाको मस्तिष्क सिक्न तयार हुन्छ । त्यसैले “किन यस्तो ग¥यौ?” भनेर रिसकै बेलामा सोध्नु भन्दा, शान्त अवस्थामा

    “त्यो बेला तिमीलाई के महसुस भइरहेको थियो?” भन्ने जस्ता प्रश्न धेरै प्रभावकारी हुन्छन् । हामीले बुझ्नुपर्छ कि रिसको समयमा सुरक्षा र शान्ति दिनु हो; अर्ति, उपदेश र शिक्षा होईन ।

    ३. विकल्प दिनु, आदेश होइन

    बालबालिकालाई “नकराऊ”, “चुप लाग” भन्दा पनि “चिच्याउनुको सट्टा के गर्न सक्छौँ?”

    भन्ने प्रश्नले उनीहरूलाई सोच्न र जिम्मेवारी लिन सिकाउँछ । कुनै विकल्प दिनुले बालबालिकालाई आफू निर्णय गर्न सक्छु वा म आफैले आफैंलाई नियन्त्रण गर्न सक्छु भन्ने अनुभूति दिन्छ । यसबाट यसले रिसलाई दबाउने होइन, रिससँग सुरक्षित तरिकाले जुध्ने सीप विकास गर्छ ।

    ४. स्पष्ट र मायालु सुरक्षात्मक घेराको सीमा

    बालबालिकालाई माया मात्र पर्याप्त हुँदैन; उनीहरूलाई सुरक्षित अनुभूति दिलाउने सुरक्षात्मक घेरा पनि आवश्यक हुन्छ । यदि माया त हुन्छ तर सुरक्षात्मक घेरा हुँदैन भने बालबालिका के ठीक हो र के गलत हो भन्नेमा अन्योलमा पर्छन् । यदि सुरक्षात्मक घेरा त हुन्छ तर माया हुँदैन भने बालबालिकाले डर, असुरक्षा र अस्वीकारको अनुभूति गर्न थाल्छन् । त्यसैले प्रभावकारी पालन–पोषण भनेको माया र सुरक्षात्मक घेराको सन्तुलन हो ।

    स्पष्ट, स्थिर र मायालु सुरक्षात्मक घेरा बालबालिकाका लागि सजाय होइन; भावनात्मक र मानसिक सुरक्षाको आधार हो ।

    “म तिमीलाई माया गर्छु, तर यो व्यवहार स्वीकार्य छैन” भन्ने सन्देशले दुई महत्वपूर्ण कुरा एकैचोटि सिकाउँछ,

    पहिलो, तिमी मूल्यवान छौ र दोस्रो, व्यवहारका पनि सुरक्षित दायरा हुन्छन् ।

     

    यसरी बनाइने सुरक्षात्मक घेराले सम्बन्ध बिगार्दैन; उल्टै विश्वास र आत्मसम्मान बलियो बनाउँछ ।

    बालबालिकाले क्रमशः स्वतन्त्रता प्रयोग गर्न र त्यससँगै जिम्मेवारी लिन सिक्छन्, जसले रिस घटाउँछ र आत्मनियन्त्रण विकास गर्छ ।

    ५. आफैं उदाहरण बन्नु

    बालबालिका उपदेश सुनेर होइन, वयस्कले देखाएको व्यवहार नक्कल गरेर सिक्छन् । वयस्कले रिसमा कसरी बोल्छन्, कसरी शान्त हुन्छन्, कसरी माफी माग्छन् त्यही शैली बालबालिकाको मनमा बस्छ ।

    यदि वयस्कले आफ्नो रिसलाई शब्दमा व्यक्त गर्न, सास फेर्न, शान्त हुन सक्छन् भने बालबालिकाले पनि त्यही सिक्छन् ।

    विद्यालय र समाजको भूमिका

    विद्यालय केवल पाठ्यक्रम सिकाउने ठाउँ मात्र होइन; यो बालबालिकाको भावना बुझ्ने, व्यवस्थापन गर्ने र व्यक्तित्व विकास गर्ने महत्वपूर्ण थलो हो । मस्तिष्क विज्ञानको अध्ययनले देखाउँछन् कि बालबालिकाको मस्तिष्कमा भावनासँग सम्बन्धित क्षेत्र—विशेषगरी एमिग्डालाको भाग (मष्तिष्कमा देशीबदामको आकारमा हुने भाग), जुन डर, रिस, र तनावजस्ता भावना तुरुन्तै उत्पन्न गर्ने जिम्मेवार हुन्छ, र अग्र–मस्तिष्कको अगाडि भाग (प्रिफ्रन्टल कर्तेक्स), जुन सोच, निर्णय, आत्म–नियन्त्रण र भावनालाई सम्हाल्ने कार्य गर्छ यी भागको विकास भईरहेको हन्छ ।

    यसको अर्थ, बालबालिकाले रिस वा तनाव देखाउँदा त्यसलाई केवल अनुशासनको कमी भनेर हेर्नु गलत हो । उनीहरूको मस्तिष्क प्राकृतिक रूपमा विकासको क्रममा भएकाले, तत्काल प्रतिक्रिया प्रायः भावनाले नियन्त्रण गर्ने हुन्छ र सोच्ने क्षमतामा अस्थायी कमजोरी आउँछ ।

    जब बालबालिकाको रिसलाई बुझेर सुन्ने, मार्गदर्शन गर्ने र समाधान सिकाउने वातावरण तयार गरिन्छ, उनीहरूको एमिग्डालामा उत्पन्न ती तीव्र प्रतिक्रिया क्रमशः प्रिफ्रन्टल कर्तेक्सद्वारा नियन्त्रण गर्न सक्ने अभ्यास हुन्छ । यसले उनीहरूमा आत्म–नियन्त्रण, सामाजिक समझ र भावनात्मक साक्षरता बढाउँछ ।

    साथै, परिवार र समाजले पनि बालबालिकाका भावनालाई मान्यता दिनु जरुरी छ । “रिसाउनु खराब हो“ भन्नुको सट्टा, “के महसुस गर्दैछौ?“ जस्ता प्रश्नले उनीहरूलाई आफ्ना भावना बुझ्न र सन्तुलित तरिकाले व्यक्त गर्न सिकाउँछ । यसरी विद्यालय, परिवार र समाज मिलेर बालबालिकामा सकारात्मक सोच, आत्मविश्वास, र सामाजिक जिम्मेवारी विकास गर्न सक्छन् ।

    धन्यवाद।

    (स्तम्भकार मानव बेचबिखन र लैंगिक हिंसा बिरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालसँग आवद्ध हुनुहुन्छ ।)

    तीर्थ बहादुर रायक्षेत्री “श्रमिक”

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology