मैले २५ मंसिर २०८२, बिहीबार (११ डिसेम्वर २०२५) को खबरहबमा प्रकाशित एउटा अत्यन्त पीडादायी समाचार पढेँ । भारतमा ११ वर्षीय नेपाली बालक प्रकाश सार्की शंकास्पद अवस्थामा मृत भेटिएको खबरले मेरो मन गहिरो पीडाले भरियो । यो कुनै साधारण घटना होईन । यो मानवतामाथिको प्रहार, बालबालिकाको सुरक्षामाथिको गम्भीर प्रश्न र राज्यको उत्तरदायित्वमाथिको अग्नि परीक्षा हो । यही पीडाबोध र जिम्मेवारीको अनुभूतिले सरकारलाई जवाफदेही बनाउन र समाजलाई सचेत गराउने उद्देश्यसहित यो लेख तयार गरिएको हो ।
अछाम जिल्लाको ढकारी गाउँपालिका–२ निवासी प्रकाश सार्की रोजगारीका कारण भारतको पुनामा बस्दै आएका आफ्ना अभिभावकसँग थिए । परिवारका अनुसार उनी बुधबार साँझदेखि अचानक सम्पर्कविहीन बनेका थिए । रातभर परिवार, आफन्त र नेपाली समुदायले खोजी गर्दा पनि कुनै सूचना प्राप्त हुन सकेनन्। अन्ततः बिहीबार बिहान रेल्वे ट्र्याक नजिक उनको शव भेटियो । शवको अवस्थाले सबैलाई स्तब्ध बनायो । प्रारम्भिक जानकारीअनुसार उनको पेटको बायाँ भागमा गहिरो घाउ देखिएको छ र दुवै मिर्गौला निकालिएको अवस्थामा शव भेटिएको आशंका गरिएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी भए पनि घटनाले मानव अंग तस्करीसँग सम्बन्धित संगठित अपराधको आशंका बलियो बनाएको छ ।
यदि यो आशंका पुष्टि भयो भने, यो घटना केवल एउटा हत्या मात्र होईन, यो बालअधिकारको निर्मम उल्लंघन, मानव मर्यादामाथिको अपराध र सीमापार आपराधिक सञ्जालको क्रूर वास्तविकताको प्रमाण हुनेछ ।
यो एक परिवारको पीडा होइन, राष्ट्रिय चिन्ता
प्रकाश सार्कीको मृत्यु केवल उनका आमाबुबा तथा परिवारको मात्र शोक र पीडाको विषय होइन । यो घटना लाखौँ नेपाली अभिभावकको साझा पीडा हो । जीवन धान्न नसकेर परदेशिन बाध्य भएका, असुरक्षित वातावरणमा आफ्ना सन्तान हुर्काइरहेका हजारौँ नेपाली परिवारको प्रतिनिधि पीडा हो यो ।
नेपालमा बालिकाहरू बलात्कारपछि हत्या हुने समाचारहरू बारम्बार सार्वजनिक भइरहेका छन् । उता भारतमा नेपाली बालकहरू यसरी अंग तस्करीको शिकार हुने अवस्था देखिनु अत्यन्त चिन्ताजनक छ । यसले एउटा गम्भीर र यथार्थ प्रश्न उठाउँछ,
के हाम्रा छोराछोरी कतै पनि सुरक्षित छैनन् ?
राज्यको उत्तरदायित्व र कूटनीतिक दायित्व
यो घटनाले भावनात्मक सहानुभूति मात्र होइन, राज्यको पूर्ण दायित्व र ठोस हस्तक्षेपको माग गर्छ । नेपाल सरकारले यस विषयमा मौन बस्न मिल्दैन । भारत सरकारसँग कूटनीतिक तहमा तत्काल र स्पष्ट पहल गर्दै निष्पक्ष छानबिन, दोषीको पहिचान, कडा सजाय र पीडित परिवारलाई उचित क्षतिपूर्तिको सुनिश्चितता गर्नुपर्छ ।
यो केवल एउटा घटनाको मात्र न्यायको प्रश्न होइन । यदि यस्ता घटनामा नेपाल राज्य कमजोर देखियो भने, परदेशमा रहेका लाखौँ नेपाली नागरिक—विशेषगरी बालबालिका अझै ठूलो जोखिममा पर्नेछन् । सीमापार अपराधका विषयमा नेपाल सरकारले स्पष्ट नीति, सक्रिय कूटनीति र निरन्तर अनुगमन आवश्यक छ ।
परदेशिन बाध्यता ः संरचनात्मक हिंसा
यस घटनाको मूल कारणमा पुग्दा हामीले एउटा गहिरो संरचनात्मक समस्यासँग सामना गर्नुपर्छ त्यो हो परदेशिनको बाध्येता । आफ्नै देशमा रोजगारी, सामाजिक सुरक्षा, उचित शिक्षा र बाल संरक्षणको भरपर्दो व्यवस्था नहुनु नै यस्तो पीडादायी घटनाको पृष्ठभूमि हो । जब राज्यले आफ्ना नागरिकलाई सुरक्षित जीवनको आधार दिन सक्दैन, तब परदेशिन बाध्यता आफैंमा हिंसाको रूप लिन्छ । यसको सबैभन्दा ठूलो मूल्य निर्दोष बालबालिकाले चुकाइरहेका छन् ।
समाज र अभिभावकको साझा भूमिका
राज्यसँगै समाज र अभिभावकको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ । अभिभावकहरूले आफ्ना बालबालिका कहाँ छन्, कसको संरक्षणमा छन् र कस्तो वातावरणमा हुर्किरहेका छन् भन्नेबारे गम्भीर सतर्कता अपनाउन आवश्यक छ । समुदायस्तरमा बाल सुरक्षा, मानव तस्करी, अंग तस्करी र जोखिमपूर्ण श्रमबारे निरन्तर सचेतना फैलाउनु आजको अपरिहार्य आवश्यकता हो ।
निष्कर्ष ः मौनता अब विकल्प होइन
प्रकाश सार्कीको मृत्युले हामी सबैलाई एउटा स्पष्ट सन्देश दिएको छ, गरिब हुनु अपराध होइन, तर गरिबीका कारण बालक मर्न बाध्य हुनु राज्य र समाजको सामूहिक असफलता हो ।
यदि आज पनि हामीले आवाज उठाएनौँ भने, भोलि अर्को प्रकाश फेरि कुनै समाचारको शीर्षक बन्न सक्छ। त्यसैले अब शोकमा सीमित नभई जवाफदेहिता, न्याय र सुरक्षाका लागि एकजुट भएर बोल्ने समय आएको छ ।
यो लेख सहानुभूतिका लागि मात्र होइन, हामी सबैको आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीको मागका लागि हो ।
मृत प्रकाशको सम्झनाका लागि मात्र होइन, भोलिका प्रकाशहरू जोगाउनका लागि हामी सबै सचेत हुन र सचेत गराउन आवश्यक छ ।
-स्तम्भकार रायक्षेत्री मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालसँग आवद्ध हुनुहुन्छ ।)