१९८९ डिसेम्बर ६, यो दिन क्यानडाको इतिहासमा मात्र होइन, विश्वकै सामूहिक चेतनामा गहिरो चोट दिने पीडादाय दिन बन्यो । क्यानडाको मोन्ट्रियलस्थित एक प्रतिष्ठित प्राविधिक कलेजमा घटेको क्रूर हिंसाले त्यो दिनलाई कालो दिवसको रूपमा चिनायो ।
उज्यालो भविष्यको सपना बोकेर कलेज पुगेका १४ जना होनहार छात्राहरूलाई एक युवकले छानेर हत्या गरेको घटनाले विश्वभरका अभिभावक, शैक्षिक समुदाय तथा नागरिक समाजमा ठूलो शोक, आक्रोश र आत्ममन्थन निम्त्यायो ।
२५ वर्षका एक युवकले हतियारसहित कलेजमा प्रवेश गरी महिला विद्यार्थीलाई लक्षित गरेर गरेको क्रूरतापूर्ण आक्रमण १२ देखि २० मिनेटभित्रै भयावह त्रासदीमा बदलियो । यो केवल एक आपराधिक घटना मात्र थिएन; यो महिलाको अस्तित्व, क्षमता र सम्भावनाप्रति गहिरो घृणाबाट जन्मिएको चरम हिंसा थियो ।
उक्त अन्धकारमय क्षणले मानवताका आधारभूत मूल्यहरूलाई चुनौती दियो र विश्वलाई पुरुषहरूको मौनताले हिंसालाई अझ गहिरो बनाउने रहेछ भन्ने चेतना जगायो ।
पुरुष–नेतृत्वको पहिलो जागरणः सेतो रिबन अभियानको जन्म
यस हृदयविदारक घटनाले क्यानडाका सचेत युवाहरूलाई मौन बसिरहन दिएन । उनीहरूले बुझेर पनि नबुझेको, देखेर पनि नदेखेजस्तो व्यवहार गर्न सकिन्न भन्ने सोचमा बस्नुहुन्न भनी ठाने । त्यो विभत्स घटनाको ६ महिना बित्न नपाउँदै, युवाहरूको एउटा समूहले विश्वकै पहिलो पुरुष–नेतृत्वको महिलामाथि हुने हिंसा अन्त्य गर्ने अभियान सुरु गरे, सेतो रिबन अभियान ।
अभियानको प्रतीक बन्यो, उल्टो ‘ख्’ आकारको सेतो रिबन, जसलाई पुरुषहरूले हातमा बाँधेर हिंसाविरुद्धको आफ्नो प्रतिज्ञा सार्वजनिक रूपमा व्यक्त गरे । त्यसको केही सातामै एक लाखभन्दा बढी युवा सडकमा उत्रिए । उनीहरूको प्रतिज्ञा थियो, “म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकारमा अगाडि बढ्छु ।”
सेतो रिबन केवल कपडाको टुक्रा थिएन । त्यो प्रतिबद्धता, इमान्दारी, आत्मसम्मान र जिम्मेवारीको प्रतीक बनेर पुरुषहरूको मौनता टुटाउने शक्ति बन्यो ।
विश्वव्यापी अभियानसँगको सरोकार
सेतो रिबन अभियान हाल विश्वभर चलाइने १६ दिने महिलामाथिको हिंसा विरुद्धको अभियानभित्र एक महत्वपूर्ण माइलस्टोन मानिन्छ । यसले “पुरुष पनि समाधानको हिस्सा हुन्” भन्ने धारणा सुदृढ बनायो । समयसँगै धेरै देशहरूमा युवाहरू, विद्यार्थी समूह, समुदाय र विभिन्न संस्थाहरूले यो अभियानलाई समाज परिवर्तनको रुपमा नेतृत्व गर्न थाले ।
नेपालमा हरेक वर्ष महिला, किशोरी र बालिकामाथि हुने, लैङ्गिक हिंसा, साइबर दुव्र्यवहार, बलात्कार, बालविवाह, कार्यस्थल र शैक्षिक संस्थामा हुने दुव्र्यवहार जस्ता घटनाहरू बढ्दो रुपमा देखिएका छन् ।
सबैभन्दा चिन्ताजनक कुरा के छ भने, विद्यालय, कलेज, होस्टेल, बजार, सार्वजनिक स्थल वा कार्यस्थलजस्ता स्थानमा कयौँ महिला तथा किशोरीहरू मानसिक, सामाजिक, भावनात्मक वा साइबर हिंसाबाट त्रसीत छन् । केहीले पीडा खप्न नसकेर जीवनको सम्भावना नै गुमाउनुपरेका उदाहरणहरूले हामीमा गम्भीर प्रश्नहरु उब्जेका छन्, “हामीले कहाँ गल्ति गरिरहेका छौँ ? हामी कस्तो संसारमा बाँचिरहेका छौं”
हिंसा केवल शारीरिक मात्र हुँदैन; अपमानजनक शब्द, गलत दृष्टि, असुरक्षाको वातावरण, सामाजिक सञ्जालमा गरिने आक्रमण जस्ता सबै हिंसाका रूप हुन् र तिनको रोकथामका लागि युवा पुस्ताको नेतृत्व निर्णायक बन्छ ।
युवाबाट सुरु हुने परिवर्तन
आजको युवा पुस्ता सक्षम, सचेत र परिवर्तनका लागि तयार छन् । यदि युवाहरूले स्पष्ट रूपमा “म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसाको प्रतिकारमा म अगाडि बढ्छु ।” भनेर आफ्नो प्रतिबद्धतालाई व्यवहारमा परिवर्तन गर्न साथ भोलिको समाज सुरक्षित, सम्मानपूर्ण र न्यायपूर्ण बन्नेछ । युवा नेतृत्व यतिबेला, यही ठाउँबाट, अहिले नै सुरु हुनुपर्छ । परिवर्तनको यात्रा अरुबाट होइन, आफैँबाट सुरु हुन्छ ।
६ डिसेम्बरको अर्थः स्मरण मात्र होइन, प्रतिबद्धताको सुरुवात हो ।
सेतो रिबनले हामी सबैलाई सम्झाउँछ, “महिलामाथिको हिंसा मानवतामाथिको दमन हो र हामी मूकदर्शक भएर बस्दैनौँ ।”
६ डिसेम्बर केवल एक दुःखद इतिहास सम्झिने दिन मात्रलहोइन; यो जिम्मेवारी उठाउने, परिवर्तन स्वीकार गर्ने, र नयाँ पुस्ताको नेतृत्व पहिचान गर्ने दिन हो । यसले हामी सबैलाई एकै स्वरमा भन्न प्रेरित गर्छ, “म हिंसा गर्दिन, म हिंसा सहन्न, र म हिंसाको विरुद्ध उभिन्छु ।”
(स्तम्भकार मानव बेचबिखन र लैंगिक हिंसा विरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालसँग आवद्ध हुनुहुन्छ ।)