• सोमवार, श्रावण ११ गते २०८३

सुकरातको चेतावनी र नेपालः जब मूर्खता गर्व बन्छ र भ्रष्टाचार शक्ति

सुकरातको चेतावनी र नेपालः जब मूर्खता गर्व बन्छ र भ्रष्टाचार शक्ति

सुकरातको चेतावनी र नेपालः जब मूर्खता गर्व बन्छ र भ्रष्टाचार शक्ति

  • 43.1K
    SHARES

  • सुकरातको चेतावनी र नेपालः जब मूर्खता गर्व बन्छ र भ्रष्टाचार शक्ति

    मैले सामाजिक संजालमा एउटा महत्वपूर्ण भनाई पर्ढे, “एक समय आउनेछ, विद्धान आफू बुद्धिमान भएकोमा पछुताउनेछ, मूर्ख आफ्नो मूर्खतामा गर्व गर्नेछ र भ्रष्ट आफ्नो भ्रष्टाचारमा आनन्द मान्ने छ ।”
    यो भनाइ सामाजिक सञ्जालमा दार्शनिक सुकरातसँग जोडेर व्यापक रूपमा फैलिएको छ । यसको आधिकारिताको खोजी गर्ने प्रयाश गरे तर पहिचान गर्न सकेको छैन तथापि यही युक्तिसँग मेल खाने भनाइ भने सुकरातले व्यक्त गरेका छन् । यो वाक्यका भावार्थ आजको नेपालको सामाजिक र राजनीतिक यथार्थसँग गहिरो रूपमा मेल खान्छ । कहिलेकाहीँ, इतिहासले शब्द होइन सत्यले उधारो लिन्छ भन्ने भनाईलाई यो तथ्यले प्रमाणित गरेको आभाष हुन्छ ।
    आजको नेपाल त्यही मोडमा उभिएको छ, जहाँ ज्ञान बोझ बनेको छ, अज्ञानता आत्मविश्वासको रूपमा प्रस्तुत भइरहेको छ र भ्रष्टाचार खुलेआम शक्ति र उपलब्धिको प्रतीक बन्दै भुक्दै हिड्ने गर्छ । 
    ज्ञान किन मौन छ ?
    नेपालमा आज धेरै जसो बौद्धिक व्यक्तिहरू, शिक्षक, पत्रकार, विश्लेषक, चिकित्सक, वैज्ञानिक जस्ता व्यक्तित्व सत्य बोल्न हिच्किचाउँछन् । कारण सरल छः यहाँ ज्ञानभन्दा सत्ता बलियो छ, तर्कभन्दा पार्टी र न्यायभन्दा पहुँच ।
    सत्य बोल्नेहरूलाई “अराजक”, “राष्ट्रविरोधी” वा “विदेशी एजेन्डा बोकेको” आरोप लाग्छ । यही कारण धेरै विद्वानहरू मौन बस्न बाध्य छन् । सुकरातले चेतावनी दिएको “विद्धान पछुताउने समय” यही हो, ज्ञान भएर पनि प्रयोग गर्न नसक्नु भन्ने लाग्छ ।
    “मूर्खता जब गर्व बन्छ”
    आजको नेपाली राजनीतिमा सबैभन्दा खतरनाक प्रवृत्ति के हो भने अज्ञानतालाई आत्मविश्वासको रूपमा समपिर्त गर्नु । नीति र तथ्यभन्दा नारा बलियो छ, गल्ती स्वीकार गर्नु कमजोरी मानिन्छ र आलोचना “देशद्रोह” ठहरिन्छ ।
    कतिपय राजनेताहरू खुलेआम भन्छन्, “हामीले जे गर्यौँ, देशकै लागि गर्यौँ ।” तर वास्तविकता आफ्नै लागि र आफ्नै आसेपासेको लागि मात्र गरेका छन् । यही मानसिकताले असक्षमता, अनुभवहीनता र गैरजिम्मेवारीलाई गर्वको रूपमा स्थापित गरेको छ । यही हो, मूर्खतामा गर्व गर्ने समाज ।
    भ्रष्टाचारः लुक्ने अपराधबाट सार्वजनिक उपलब्धिसम्मः कुनै समय भ्रष्टाचार लुकाइन्थ्यो । आज भने, भ्रष्टाचार हैसियत बनेको छ । भ्रष्ट व्यक्तिहरू सार्वजनिक कार्यक्रममा सम्मानित हुन्छन्, चुनाव जित्छन्, “विकासका नायक” कहलिन्छन् । तर प्रश्न गर्ने नागरिक भने अशान्ति फैलाउने ठहरिन्छ, दमनको सिकार बन्छ, जब भ्रष्टाचार सजाय होइन, उपलब्धि बन्छ र त्यही समाज सुकरातको चेतावनीको चरम अवस्थामा पुग्छ ।
    जेन्जी आन्दोलनः मौनता तोड्ने प्रयासः
    यही पृष्ठभूमिमा जन्मियो जेन्जी आन्दोलन । बिभिन्न प्रकारको चपेटामा परेर पीडा भोगिरहेका युवा पुस्ताहरुलाई चुप लागेर बस्न दिएन । उनीहरुको रगत उम्लियो देशको अवस्थाले अनि उनीहरु जागे । यो कुनै पार्टीको थिएन, कुनै नेताको थिएन । यो थियो त भ्रष्टाचारबाट आजित युवाको अवसरबाट वञ्चित पुस्ताको र झूट र दमनबाट थाकेको आवाज । जब २०८२ साल भदौ २३ गते यो आवाज सडकमा आयो, शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग गरियो, गोली चल्यो, अश्रुग्यास र लाठीचार्ज भयो । राज्यको निर्दयीपन र मूखतापूर्ण व्यवहार प्रदर्शन भयो । धेरैको जीवन समाप्त गरियो । सबैभन्दा पीडादायी तथ्य भनेको मृतकमध्ये धेरै बालबालिका र किशोरकिशोरी थिए । धेरै आमाबुबाका काख रित्याउने गरी छोराछोरीहरू राज्यको हिंसाका सिकार बने । यस्तो अवस्थामा पनि देशको वाघडोल समालेका राजनीतिक दलका नेताहरुको निर्लज्ज प्रतिक्रिया आइरहेको छ, “यो घटना हुनुमा हाम्रो कुनै जिम्मेवारी छैन ।” यति ठूलो क्षतिपछि पनि जिम्मेवारी लिने कोही देखिएन । बरु सुनिदैछ, “हामी बाध्य भयौँ ।”, “देश बचाउनुप¥यो ।”, “हामी नै सही थियौँ ।” केही नेताहरू सार्वजनिक रूपमा भन्दैछन्, “हामी देशका लागि सबैभन्दा राम्रो गरिरहेका छौँ ।” फेरी पनि सत्तामा पुगेर देशको मुहार फेर्नुछ । ३५ वर्षसम्म आफ्नै मुहार फेरे, चप्पलबाट महल बनाए अब देशको मुहार फेर्नुछ भन्दा कति पनि संकोच छैन । कुनै लज्जा छैन । यही हो, भ्रष्टाचारमा मात्र होइन, दमनमा पनि गर्व गर्ने सत्ता ।
    अब प्रश्न सत्ताको होइन, समाज परिवर्तनको हो । जेन्जी आन्दोलनले स्पष्ट सन्देश दिएको छ, युवा पुस्ता अब चुप बस्दैन । मौलिक हक अधिकारको चेतना मार्न सक्दैन र बल प्रयोगले सत्य दबाउन सक्दैन ।
    अब नेपालले निर्णय गर्नुपर्छः मूर्खताको गर्व रोज्ने कि उत्तरदायित्वको साहस लिने?
    अन्त्यमा सुकरात आज पनि जीवित छन्, व्यक्तिका रूपमा होइन, उनको चेतनाबाट जन्मेको चेतावनीका रूपमा । नेपालले यदि अज्ञानताको गर्व, भ्रष्टाचारको संरक्षण र दमनको औचित्यकरण जारी राख्यो भने, इतिहासले कठोर फैसला गर्नेछ । विश्वको ईतिहासले प्रमाणित गरिसकेको छ । नयाँ पुस्ताको आवाज सुनेर अघि बढ्नुको कुनै विकल्प छैन ।
    धन्यवाद ।

     

    तीर्थ बहादुर रायक्षेत्री “श्रमिक”

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology