नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एक दुईदिनमै तीनजना मन्त्री थप्ने विषयमा प्रचण्डसँग छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रचण्ड निकट स्रोतले अनुसार पार्टीमा देखिएको विवाद, पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भए पनि कुनै पनि कुरामा सहमति नभएको जनाएको छ ।
भेटवार्तामा तत्कालका लागि तीनजनालाई मन्त्री थपेर जाने र दसैँ तिहारपछि मात्रै पुनर्गठन गर्ने ओलीले प्रस्ताव गरेका स्रोतको भनाइ छ ।
नेकपा अध्यक्षद्वयबीच पटक पटक छलफल भए पनि मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुट्न सकेको छैन ।
ओलीले पुनर्गठन हुने सबैजनाको नाम आफूले टुंगो लगाउनु पर्ने बताएका छन् भने प्रचण्डले पार्टीको सहमति अनुसार नै जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा तत्काल मन्त्री थप्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । अर्थमा महासचिव विष्णु पौडेल हुनेमा लगभग अध्यक्षद्वयबीच सहमति भएको छ ।
तर, अन्य व्यक्तिका विषयमा सहमति जुट्न सकेको छैन ।