नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेको प्रति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असहमति जनाएका छन् ।
मन्त्रीहरुको नाम टुंगो लगाउनुपूर्व अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । ओलीले मन्त्री परिषद् बिस्तार तथा हेरफेरका लागि प्रस्ताव गरेपछि प्रचण्डले थप छलफल गरेर बिस्तार गर्न आग्रह गरेका थिए ।
आफू निकटसँग प्रचण्डले भने, ‘पार्टीमा छलफल गरेर गर्नुपर्नेमा त्यसो हुन सकेन । जनताको अपेक्षा अनुसारको काम गर्ने व्यक्तिलाई मन्त्रिपरिषदमा लैजानु पर्नेमा अहिले त्यो भएन । यो स्थायी कमिटी बैठकको निर्णयको विरुद्धमा छ ।’
त्यसयता अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनकै विषयलाई लिएर धेरैपटक छलफल भयो तर सहमति जुट्न सकेको थिएन ।
प्रचण्ड व्यापक हेरफेर गर्ने मानसिकतामा थिए भने ओली खालि रहेका केही मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने पक्षमा उभिएका थिए ।
भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनको बारेमा छलफल नभएको स्रोतले दाबी गरेको छ ।तर, प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा नेकपा महासचिव विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा पार्वत गुरुङलाई नियुक्त गरेका छन् ।
लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँगै राखेर ईश्वर पोखरेललाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् ।