नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद वार पारको अवस्थामा पुगेको छ ।
दश दिनयता दुवै नेताको संवाद हुनसकेको छैन । संवादको माहोल बनाउन ओली पक्षका नेताहरु सक्रिय भएपनि प्रचण्ड अब बालुवाटार नधाउने टुंगोमा पुगेका कारण सम्भब भएको छैन ।
ओली र प्रचण्डको विवादले केन्द्रमा मात्र नभई प्रदेश र स्थानीय तहसम्म असर गरिसकेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता, पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा मुकेश चौरसियाको मृत्यु भएपछि दुई अध्यक्षको दुरी झनबढ्न थालेको हो।
यतिबेला नेकपाभित्र ओली हटाउन अविश्वासको प्रस्ताव सम्मको तयारी भएको हल्ला चल्न सुरु भएको छ। यसमा प्रचण्ड र बरिष्ट नेता माधवकुमार नेपालबीच सहमति समेत बनेको श्रोतले बताएको छ ।
प्रचण्ड-माधबको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म बहुमतको अवस्था छ । तर, संसदीय दलमा ओली या उनी इतर समूहमध्ये कसैको बहुमत रहे नरहेको स्पष्ट छैन ।
शक्ति आर्जन गर्दै नेपाल
नेकपाभित्र ओली र प्रचण्डबीच विवादले चर्को रुप लिंदा माधवकुमार नेपाल झन् शक्तिशाली बन्दै गएका छन् । अब उनले जुन पक्षलाई साथ दिन्छन् उही बलियो हुनेछ । यसकारण नेपाल निर्णायक शक्ति बनेका छन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन माधव नेपालले प्रचण्डलाई साथ दिनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव रोक्न पनि माधव नेपालकै भूमिका निर्णायक हुन्छ ।
आफूविरुद्ध घेराबन्दी भएको र सत्ता ढाल्ने खेल बढेको सूचना पाएर ओलीले माधव नेपालसँग हात मिलाउन खोजेका छन् । उनले दशैं अगाडि माधव नेपालसँग बालुवाटारमा भेटेर गत मङ्गलबार पनि महत्वपूर्ण कुराकानी गरी राजनीतिक लेनदेनको कुरा गरे । तर, नेपाल विश्वस्त हुन सकेका छैनन् ।