सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।
अर्का अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित छैनन् ।
पार्टीभित्र उत्पन्न संकट समाधानका लागि अध्यक्ष प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् ।पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निर्क्योल हुने सचिवालयका एक सदस्यले बताए ।
बिहीबार अध्यक्ष केपी शर्माओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन ।गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए ।