• सोमवार, श्रावण ११ गते २०८३

दुष्टताको खोज भित्रैः चेतना, सोच र न्यायको कथा

दुष्टताको खोज भित्रैः चेतना, सोच र न्यायको कथा

दुष्टताको खोज भित्रैः चेतना, सोच र न्यायको कथा

  • 36.7K
    SHARES

  • दुष्टताको खोज भित्रैः चेतना, सोच र न्यायको कथा

    “एउटा सहरमा फैलिएको एउटा हल्लाले एक निर्दोष व्यक्तिलाई अपराधी बनायो । भनियो, उ अलछिना छ र अशुभ छ, उसको मुख देख्ने जो–कोहीलाई अनिष्ट हुछ । हल्ला यति धेरै फैलियो कि मानिसहरूले उसलाई देख्नै नचाहने भए । अन्ततः यो कुरा राजाको कानसम्म पुग्यो । राजा हल्लालाई सिधै सत्य मान्ने व्यक्ति थिएनन् र मानिसहरूको सोच किन यति कठोर भयो भन्ने कुरा बुझ्न उनले त्यस व्यक्तिलाई दरबारमा बोलाएर राख्ने आदेश दिए ।

    अर्कोदिन बिहान राजा सबेरै उठे । कुनै सेवक वा दरबारीको मुख नहेरी सिधै त्यस व्यक्तिलाई राखिएको कोठामा पुगे र उसको अनुहार हेरे । राजा संयोगवश, त्यस दिन दरबारको काममा अत्यन्त व्यस्त रहे । बैठक, छलफल र भेटघाटहरूमा अल्झिँदा राजाले दिनभर भोजन गर्न पाएनन् । साँझपख राजालाई स्मरण भयो, “आज बिहान मैले सबैभन्दा पहिले त्यही मानिसको मुख देखेको थिएँ र आज म दिनभर भोकै रहनु प¥यो । त्यो साँच्चिकै अलच्छिन नै रहेछ ।”

    आफ्नो विचारलाई सत्य ठानेर राजाले सेनापतिलाई बोलाए र तुरुन्तै उसलाई मृत्युदण्ड दिने आदेश दिए । यो आदेशको खबर मन्त्रीसम्म पुग्यो । मन्त्रीले तुरुन्तै सेनापतिलाई रोकेर राजासमक्ष उपस्थित भए र विनम्र तर दृढ स्वरमा प्रश्न गरे, “महाराज, यो मानिसले के अपराध गरेको छ ? उसलाई मृत्युदण्ड दिनु पर्ने कारण के हो ?” राजाले उत्तर दिए, “आज बिहान मैले उसको मुख देखेँ अनि आजै मैले दिनभरी भोजन गर्न पाइनँ । यस्तो अलच्छिनलाई जीवित राख्नुहुँदैन । यो मेरो निर्णय हो ।” राजाले कडा स्वरमा भने ।

    मन्त्री केही क्षण मौन रहे । त्यसपछि उनले शान्त तर गहिरो स्वरमा भने, “महाराज, रिसाउन माफ होस्, त्यस मानिसले पनि आज बिहान सबैभन्दा पहिले हजुरकै मुख देखेको थियो । उसको मुख देख्दा हजुरले भोजन गुमाउनुभयो तर हजुरको मुख देख्दा उसले जीवन नै गुमाउने अवस्था आयो । अब भन्नुहोस्, को बढी अलच्छिन ?” मन्त्रिीको कुरा सुनेर राजा झसङ्ग भए । उनले आफ्ननो सोचलाई अर्को कोणबाट हेरे । मन्त्रीले थपे, “महाराज, संसारमा कुनै मानिस जन्मजात लच्छिन वा अलच्छिन हुँदैन । अनुहार ईश्वरको देन हो । लच्छिन र अलच्छिन त हाम्रो दृष्टि र सोचमा मात्रै हुन्छ ।”

    त्यही क्षणमा राजालाई एकदिन एक महात्माले भनेको वाक्यको स्मरण भयो, “जब मैले दुष्टता खोज्दै गएँ, कहीकतै कुनै दुष्टता भेटिनँ । जब मैले मेरो हृदय खोजेँ, मैले मभन्दा खराब कोही भेटिनँ ।”

    राजाले आफ्नो गल्ती स्वीकार गरे र तुरुन्तै त्यस निर्दोष मानिसलाई मुक्त गर्न आदेश दिए । त्यो दिन राजाले शासनभन्दा ठूलो कुरा आत्मबोधको पाठ सिके ।”

    यो कथा केवल अन्धविश्वासको विरुद्धको भाव तथा आलोचना मात्र होइन; यो मानव मन, सोच र निर्णय प्रक्रियाको गहिरो अध्ययन हो । मानिसले संसारलाई जस्तो देख्छ, संसार उसको लागि त्यस्तै बन्छ । हामी यथार्थलाई सिधै अनुभव गर्दैनौँ, हामी यथार्थको अर्थ अनुभव गर्छौँ । यही अर्थ निर्माणको प्रक्रियाले हाम्रो व्यवहार, निर्णय र सम्बन्ध निर्धारण गर्छ ।

    मानव मस्तिष्क निरन्तर अर्थ खोज्ने संरचना हो । कुनै घटना घटेपछि मस्तिष्कले तुरुन्तै “किन?” भन्ने प्रश्न गर्छ । यदि हाम्रो चेतनशी वा भित्री सोच कमजोर भयो भने, संयोगलाई पनि कारण बनाइन्छ । राजाले दिनभर खाना नपाउनु कार्यव्यस्तताका कारण थियो, संयोग थियो तर उनले त्यसलाई बिहान देखिएको अनुहारसँग जोडे । यही गलत अर्थ निर्माणले निर्दोष मानिसमाथि अन्याय भयो । यही कारणले झण्डै उसको ज्यान गएन ।

    न्यारोलोजिष्टका अनुसार मानव मस्तिष्कको एक महत्वपूर्ण भाग हो एमिग्डाला (Amygdala) । यसको मुख्य काम उत्पन्न खतरा चिन्नु र तुरुन्त प्रतिक्रिया दिनु हो । जब कुनै घटना हाम्रो डर, विश्वास वा अन्धविश्वाससँग मेल खान्छ, एमिग्डाला सक्रिय हुन्छ र सोच्नुभन्दा पहिला प्रतिक्रिया जन्मिन्छ । राजाको हकमा पनि यही भयो । ‘अलच्छिन’ भन्ने सामाजिक हल्ला पहिल्यै उनको अवचेतनमा थियो । जब दिनभर भोजन गर्न नपाउने घटना घट्यो, एमिग्डालाले त्यसलाई अशुभ संकेतसँग जोड्यो ।

    मानव मस्तिष्कको अर्को महत्वपूर्ण भाग हो प्रि–फ्रन्टल कर्टेक्स (Prefrontal Cortex) । यही भागले विश्लेषण, विवेक, नैतिकता र दीर्घकालीन परिणामबारे सोच्ने काम गर्छ । जब भावनात्मक प्रतिक्रिया अत्यधिक हुन्छ, यो भाग अस्थायी रूपमा निष्क्रिय जस्तै हुन्छ । यदि राजाको प्रि–फ्रन्टल कर्टेक्स सक्रिय भएको भए, उनले त्यो व्यक्तिलाई मृत्युदण्डको आदेश दिनुभन्दा पहिला उनले प्रश्न गर्न सक्थे, “के आज म भोकै बस्नुको कारण साँच्चै यही व्यक्ति हो, कि मेरो कार्यव्यस्तता ?”

    न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (NLP) का अनुसार मानिसको मस्तिष्कमा संसारको एउटा आन्तरिक प्रतिरूप हुन्छ, जसलाई मानसिक नक्सा (Mental Map) भनिन्छ । हामीले वास्तविकतामा होइन, हाम्रो मानसिक नक्साको माध्यमबाट संसार बुझ्छौँ । त्यो सहरका मानिसहरूको मानसिक नक्सामा त्यो व्यक्ति ‘अलच्छिन’ को रूपमा कोरिएको थियो । राजाले लहैलहैमा त्यही नक्सा प्रयोग गरे । यसरी व्यक्तिगत अनुभवभन्दा सामूहिक विश्वास बलियो बन्न पुग्यो ।

    यहाँ मन्त्रीको भूमिका केवल राजनीतिक मात्र होइन, मनोवैज्ञानिक पनि देखियो । उनले घटनालाई अर्को कोणबाट हेरे । एउटै घटनालाई नयाँ अर्थ दिनु नै री–फ्रेमिङ (Reframing) हो । “यदि महाराजको मुख देख्दा उसले ज्यान गुमाउने अवस्था आयो भने, को अलच्छिन?” भन्ने प्रश्नले राजाको मानसिक ढाँचा हल्लाइदियो । त्यही क्षणमा राजाको विवेक पुनः सक्रिय भयो ।

    राजाले सम्झेको वाक्य आत्मअन्वेषणको चरम अवस्था हो । जब मानिस बाहिर दोष खोज्न छाडेर भित्र हेर्न थाल्छ, मस्तिष्कमा नयाँ स्नायु–सम्बन्धहरू निर्माण हुन थाल्छन् । यस प्रक्रियालाई न्यूरो–प्लास्टिसिटी (Neuroplasticity) भनिन्छ । यसले देखाउँछ, सोच स्थिर हुँदैन, पूर्व बुझाइ र अन्धविश्वास परिवर्तन हुन सक्छ ।

    आजको समाजमा पनि हामी फरक–फरक रूपमा ‘अलच्छिन’ भाव दिने व्यवहार गरिरहेका हुन्छौँ, फरक विचार राख्ने, फरक पहिचान भएका, वा पीडित प्रभावितहरूलाई उनीहरुको वास्तविकता भन्दा पनि फरक दृष्टिकोण बनिहाल्छ । सामाजिक सञ्जाल र अपूर्ण जानकारीले हाम्रो एमिग्डालालाई निरन्तर उत्तेजित बनाइरहेको हुन्छ । त्यसैले आज सबैभन्दा ठूलो आवश्यकता हो चेतनशील सोच, आत्मपरीक्षण र विवेकपूर्ण निर्णय ।

    यो कथाले हामीलाई स्पष्ट रूपमा एउटा गहिरो अर्थ दिन्छ कि दुष्टता अनुहारमा होइन, सोचको ढाँचामा हुन्छ । न्याय बाहिर खोजिँदैन, पहिले आफ्नै मनमा खोजिन्छ । जब हामी आफ्नो सोचमाथि प्रश्न गर्न सिक्छौँ, तब मात्र व्यक्ति, संस्था र समाज रूपान्तरणतर्फ अघि बढ्छ । यही नै साँचो प्रेरणा हो ।

    सन्दर्भ:

    • Daniel Kahneman – Thinking, Fast and Slow
    • Joseph LeDoux – The Emotional Brain
    • Norman Doidge – The Brain That Changes Itself

    तीर्थ बहादुर रायक्षेत्री “श्रमिक”

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology