• सोमवार, श्रावण ११ गते २०८३

राजनीति भौतिकशास्त्रभन्दा कठिन किन हुन्छ? चुनावको संघारमा नेपाली चेतना, नेतृत्व र युवाको भूमिका

राजनीति भौतिकशास्त्रभन्दा कठिन किन हुन्छ? चुनावको संघारमा नेपाली चेतना, नेतृत्व र युवाको भूमिका

राजनीति भौतिकशास्त्रभन्दा कठिन किन हुन्छ? चुनावको संघारमा नेपाली चेतना, नेतृत्व र युवाको भूमिका

  • 34.3K
    SHARES

  • राजनीति भौतिकशास्त्रभन्दा कठिन किन हुन्छ? चुनावको संघारमा नेपाली चेतना, नेतृत्व र युवाको भूमिका

    राजनीति कठिन हुन्छः भौतिकशास्त्र नियमले चल्छ, तर राजनीतिमा भावना, अहंकार र शक्तिको खेल हाबी हुँदा तर्क कमजोर हुन्छ ।
     चुनावअघि एउटै वाचा, सत्तामा पुगेपछि फरक व्यवहार, यो दोहोरिँदै आएको राजनीतिक संस्कार हो भन्ने कुरा विगतको ३५ वर्षले देखाएको छ ।
     एनएलपी र न्यूरोसाइन्सले भन्छकि निर्णय भावनाबाट चल्दा देशको दिशा बिग्रिन्छ ।
     देशको ऊर्जा, नयाँ सोच र प्रविधि–सम्बन्धी क्षमता युवासँग छ; अब नेतृत्वको अग्रपंक्ति उनीहरूले लिनुपर्छ ।
     जनताले विवेकले भोट दिनुपर्छ, र नेताहरूले अब झूटा वाचा होइन, परिणाममुखी सेवा दिनुपर्छ ।

    मानिसले परमाणुको रहस्य पत्ता लगायो । अन्तरिक्षमा पुग्न सफल भयो । प्रविधि र विज्ञानका क्षेत्रमा अचम्मका उपलब्धिहरू हासिल गरिरहेको छ । तर एउटा प्रश्न अझै मानव सभ्यताको अगाडि खडा छ। “किन मानिसले आफ्नै समाजका राजनीतिक समस्या समाधान गर्न सकेको छैन?” यही प्रश्नको जवाफमा महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, “राजनीति भौतिकशास्त्रभन्दा अझ कठिन हुन्छ ।” यो वाक्य केवल विज्ञान र राजनीति बीचको तुलना मात्र होइन, मानव मनोविज्ञान र सामाजिक व्यवहारको गहिरो सत्य हो। भौतिकशास्त्र नियमले चल्छ, राजनीतिमा मन, भावना, अहंकार, डर, लोभ, छलछाम, धूर्तता र शक्तिको खेलमा चल्छ । जहाँ भावना तीव्र हुन्छ, त्यहाँ तर्क कमजोर हुन्छ । त्यसैले राजनीतिमा समस्या जटिल हुन्छ, समाधान ढिलो हुन्छ, र परिणाम कहिलेकाहीँ अपेक्षाभन्दा फरक हुन्छ ।
    स्नायु (मस्तिष्क) विज्ञानले भन्छ, मानिसको निर्णय सधैं तर्कबाट मात्र हुँदैन । हाम्रो मस्तिष्कमा दुई प्रकारका प्रणालीहरू काम गर्छन् । एउटा तर्क र विश्लेषण गर्ने भाग, जसलाई प्रायः “प्रिफ्रन्टल कोर्टेक्स” भनिन्छ । अर्को भाग भावना, डर, सुरक्षा र प्रतिक्रिया नियन्त्रण गर्ने “लिम्बिक सिस्टम” हो, जसमा “एमिग्डाला” जस्ता संरचनाहरू हुन्छन् । जब मानिस डर, क्रोध, असुरक्षा वा पहिचानको संकटमा हुन्छ, एमिग्डालाले छिटो प्रतिक्रिया दिन्छ । त्यस अवस्थामा तर्क गर्ने क्षमता घट्छ । यसलाई आधुनिक मनोविज्ञानमा कहिलेकाहीँ “एमिग्डाला हाइज्याक” भनिन्छ । यही कारणले राजनीतिमा भावनात्मक नारा, पहिचानको राजनीति, डर र आश्वासनले मानिसलाई सजिलै प्रभावित पार्छ । वैज्ञानिक सत्यभन्दा भावनात्मक कथन धेरै शक्तिशाली बन्न सक्छ ।
    न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (एनएलपी) को दृष्टिकोणबाट हेर्दा राजनीति केवल नीतिको विषय होइन, भाषा र मानसिक ढाँचाको खेल पनि हो । मानिसले संसारलाई वास्तविक रूपमा होइन, आफनो मनभित्र बनेको मानसिक नक्सा (मेन्टल म्याप) अनुसार बुझ्छ । यदि कसैको मनमा कुनै दल, जाति, क्षेत्र वा नेताप्रति गहिरो भावनात्मक छाप बसेको छ भने, त्यो व्यक्तिले तथ्यभन्दा भावना अनुसार निर्णय गर्न सक्छ । यही कारणले एउटै भाषणले विभिन्न मानिसलाई फरक–फरक अर्थ दिन सक्छ । कतिपयलाई आफ्नो नेता जतिसुकै भ्रष्ट र अन्यायी भए पनि प्रिय नै लाग्न सक्छ, आशा, भरोसा जाग्न सक्छ र यही कारणले उसकै भक्तीभावमा लिन हुन्छन् । वर्तमानको यथार्थता हो यो । राजनीति कठिन हुनुको एउटा कारण यही हो, “यो तथ्यभन्दा धेरै मानिसको मानसिक छवि, भाषा र अनुभूतिमा आधारित हुन्छ ।”
    नेपालको राजनीतिक यात्रालाई हेर्दा परिवर्तनको सूची लामो देखिन्छ । एक समय नेपालमा राणा शासन थियो, जहाँ सत्ता केही परिवारको हातमा केन्द्रित थियो । जनताको आवाज दबाइएको थियो, अवसर सीमित थियो, शिक्षाको अवसर थिएन र राजनीतिक अधिकार लगभग शून्य थियो । तर नेपाली जनताको चेतना र संघर्षले त्यो व्यवस्था अन्त्य भयो । राणा शासन समाप्त भयो, प्रजातन्त्रको ढोका खुल्यो, जनताले केही अधिकार पाए । त्यसपछि पनि नेपालको राजनीति स्थिर रहेन । पञ्चायत व्यवस्था आयो, त्यसको अन्त्य भयो, बहुदलीय व्यवस्था पुनःस्थापित भयो, जनआन्दोलनहरू भए, सशस्त्र द्वन्द्वको पीडा भोगियो, गणतन्त्र आयो, र अन्ततः नयाँ संविधान बनेको छ ।
    न्यूरोसाइन्सको दृष्टिले हेर्दा, हरेक राजनीतिक परिवर्तनले जनताको सामूहिक मस्तिष्कमा नयाँ आशा र नयाँ अपेक्षा जन्माउँछ । जब परिवर्तनको नारा आउँछ, मस्तिष्कमा डोपामिन जस्ता रसायन सक्रिय हुन्छन्, जसले आशा र उत्साह बढाउँछ । तर जब अपेक्षा पूरा हुँदैन, निराशा, अविश्वास र क्रोध बढ्न थाल्छ । लामो समयसम्म यस्तै अनुभव दोहोरिँदा समाजको सामूहिक मनोविज्ञान नकारात्मक बन्न सक्छ । त्यसैले तीन दशकभन्दा बढी समयदेखि दोहोरिएको निराशाले आज धेरै नेपाली नागरिकमा राजनीतिक अविश्वास बढाएको देखिन्छ ।
    यति धेरै राजनीतिक परिवर्तन भए पनि जनताको दैनिक जीवनमा आएको सकारात्मक परिवर्तन अपेक्षाअनुसार देखिँदैन । आज पनि हजारौँ युवा रोजगारीका लागि विदेशिन बाध्य छन् । किसान उत्पादनको उचित मूल्य नपाएर निराश छन् । ग्रामिण क्षेत्रको बस्ती प्राःय शुन्य छ, शिक्षित युवाहरू बेरोजगारीको पीडामा छन् । युवाजमात विदेशियको छ, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा असन्तुलन देखिन्छ । नाफामा चलेका कयौँ कलकारखाना निजीकरणको नाममा बन्द भए । हिजो सडकमा देखिने नेता आज महलको ऐशमा देखिन्छन् । भ्रष्टाचारको चर्चा सामान्य विषय बनेको छ । यसले एउटा गम्भीर प्रश्न उठाउँछ, के हाम्रो समस्या केवल प्रणालीको हो, कि चेतनाको हो ?
    एनएलपीको भाषामा भन्ने हो भने, समस्या केवल संरचनाको होइन, “आन्तरिक प्रोग्रामिङ” को पनि हो । यदि नेतृत्वको मानसिक ढाँचा सेवामुखी होइन, शक्तिमुखी छ भने, प्रणाली परिवर्तनले मात्र परिणाम दिँदैन । यदि जनताको मानसिकता पनि विवेकभन्दा भावनामा आधारित छ भने, राम्रो नेतृत्व टिक्न गाह्रो हुन्छ । राजनीति त्यसैले कठिन हुन्छ, किनकि यो केवल कानून वा संविधानको विषय होइन, मानिसको आन्तरिक सोच, विश्वास र भावनाको विषय हो ।
    नेपालको राजनीतिमा एउटा समान दृश्य बारम्बार देखिन्छ । चुनावअघि सबै दलका नेता र कार्यकर्ताले एउटै अर्थ दिने भाषण गर्छन् । सबैले विकास, सुशासन, रोजगारी र समृद्धिको कुरा गर्छन् । मञ्चमा उभिँदा सबैको भाषा लगभग एउटै हुन्छ, नारा एउटै हुन्छ, भविष्यको चित्र एउटै हुन्छ । तर व्यवहारमा ठूलो अन्तर देखिन्छ । सत्तामा पुगेपछि जनतासँगको दूरी बढ्छ, शक्ति प्रदर्शन बढ्छ, र चुनावअघि गरेका धेरै प्रतिबद्धता बिर्सिँदै जान्छन् । यो अवस्था आजको मात्र होइन, तीन दशकभन्दा बढी समयदेखि दोहोरिँदै आएको छ ।
    न्यूरोसाइन्स भन्छ, मानिसको मस्तिष्क आदत अनुसार चल्न रुचाउँछ । यदि नेतृत्व लामो समयसम्म शक्ति, सुविधा र नियन्त्रणमा बस्न अभ्यस्त हुन्छ भने, मस्तिष्कले त्यसैलाई सामान्य ठान्न थाल्छ । त्यसपछि सेवा भाव कमजोर र स्वार्थ बलियो हुन्छ । यही कारणले राजनीतिक संस्कार परिवर्तन नगरी केवल अनुहार परिवर्तनले दीर्घकालीन परिणाम दिन सक्दैन । यो त भाडो भित्र दुर्गन्धित बस्तु राखेर भाँडोलाई बाहिरबाट सफासँग धोएर सुगन्ध लेपन गरेजस्तै हुन्छ । भित्रको फोहोर झन दुगन्धित बन्छ ।
    चुनावको समय नजिकिँदा नेपालमा उत्सवजस्तो माहोल देखिन्छ । तर चुनावको वास्तविक अर्थ देशको भविष्यको निर्णय हो । भोट भनेको केवल एउटा चिन्हमा छाप लगाउने काम मात्र होइन, यो सामूहिक चेतनाको निर्णय हो । यदि भोट भावनाबाट दिइयो भने, परिणाम पनि भावनात्मक हुन्छ । यदि भोट विवेकबाट दिइयो भने, परिणाम पनि विवेकी बन्छ ।
    पछिल्ला वर्षहरूको अनुभवले स्पष्ट देखाएको छकि झूटा वाचाले देश बन्दैन, सत्यनिष्ठ कामले मात्र राष्ट्र बन्छ । समाजको चेतना जति परिपक्व हुन्छ, राजनीति पनि त्यति नै परिपक्व हुन्छ । यदि समाज भावनात्मक रूपमा विभाजित छ भने, राजनीति पनि विभाजित हुन्छ । यदि समाज विवेकी छ भने, राजनीति पनि जिम्मेवार बन्छ ।
    देशका सबैभन्दा ठूलो जनशक्ति युवा हुन् । न्यूरोसाइन्सका अनुसार युवाको मस्तिष्क परिवर्तन स्वीकार्न, नयाँ कुरा सिक्न र जोखिम लिन तयार हुन्छ । त्यसैले युवाहरू परिवर्तनका प्रमुख वाहक हुन्छन् । उनीहरू ऊर्जावान छन्, प्रविधिमैत्री छन्, विश्वसँग जोडिएका छन्, नयाँ सोच राख्छन् । अब युवाले नेतृत्व लिनुपर्ने समय आएको छ । यो पुस्ताबीचको द्वन्द्व होइन, यो प्राकृतिक नेतृत्व हस्तान्तरणको प्रक्रिया हो । 
    पुराना नेताहरूले देशका लागि ठूलो भूमिका खेलेका छन् । आन्दोलन गरेका छन्, त्याग गरेका छन्, परिवर्तनका लागि संघर्ष गरेका छन् । राणा शासन अन्त्यदेखि गणतन्त्र स्थापनासम्म उनीहरूको योगदान ऐतिहासिक छ । तर प्रकृतिमा जस्तै राजनीतिमा पनि नयाँ पुस्तालाई अगाडि आउने अवसर दिनुपर्छ । पुराना नेताहरूले अनुभव, ज्ञान र मार्गदर्शन दिन सक्छन्, तर नेतृत्वको अग्रपंक्ति युवाको हातमा जानुपर्छ ।
    अन्ततः राजनीति सुधार्न संविधान मात्र होइन, चेतना परिवर्तन आवश्यक छ । मस्तिष्कको डर, लोभ र अहंकारलाई नियन्त्रण गरेर सेवा, जिम्मेवारी र सहकार्यको संस्कार विकास गर्नुपर्छ । यही एनएलपी र न्यूरोसाइन्सले दिने मुख्य सन्देश होकि बाहिरी परिवर्तन भन्दा पहिले आन्तरिक परिवर्तन आवश्यक हुन्छ ।
    आइन्स्टाइनको भनाइ आज पनि सान्दर्भिक छ। “राजनीति भौतिकशास्त्रभन्दा कठिन हुन्छ ।” किनकि परमाणुमा अहंकार हुँदैन, तर राजनीतिमा हुन्छ । यदि चेतना परिवर्तन भयो भने, राजनीति पनि परिवर्तन हुन्छ । युवाले नेतृत्व लिनुपर्छ, पुराना नेताले मार्गदर्शन दिनुपर्छ र जनताले विवेक प्रयोग गर्नुपर्छ अनि मात्र राजनीति संघर्षको मैदान होइन, सेवाको साधन बन्नेछ र नेपाल आशाको देश मात्र होइन, अवसरको देश बन्नेछ । त्यसैले विवेकशील बनेर सही नेतालाई आफ्नो अमूल्य मत दियौं ।

    धन्यवाद ।

    तीर्थ बहादुर रायक्षेत्री “श्रमिक”

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology