साविक विजेता मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बईको दोस्रो खेलमा पहिलो जित हो ।
जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो ।
त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईका कप्तान तथा ओपनर रोहित शर्माले सर्वाधिक ८० रनको योगदान दिएका थिए ।
कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ३ ओभरमा ४९ रन खर्चिदा विकेट लिन सकेनन् ।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा मुम्बईले सोमबार बेंगलोरसँग खेल्ने छ । कोलकाताले दोस्रो खेलमा शनिबार सनराइजर्स हैदराबादसँग खेल्ने छ ।