इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले पराजित गर्दै किंग्स इलेभेन पञ्जाब पहिलो जित निकालेको छ ।
जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ अलमा अल आउट हुँदै लज्जास्पद हार बेहोरेको हो । विशाल लक्ष्य पछ्याएको बेंगलोरले पहिलो ओभरको चौथो बलमै ओपनर देवदत्त पाडिक्कललाई एक रनमा गुमाएको थियो ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडिमयममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन कप्तान तथा ओपनर लोकेश राहुलले ६९ बलमा १४ चौका र ७ छक्का सहित १ सय ३२ रनमा अविजित रहे ।
राहुलले १९ औं ओभरको पहिलो बलमा डेल स्टेनलाई पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै मात्र ६२ बलमा शतक प्रहार गरेका थिए । जारी आइपिएलको पहिलो शतक हो ।
पन्जाबले आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । सोमबार तेस्रो खेलमा बेंगलोरले मुम्बई इन्डियन्ससँग खेल्ने छ ।