नेकपा नेता डा.भीम रावलले सल्लाह गरेर महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने गर्ने स्थायी समिति र सचिवालयको निर्णय उल्लंघन भए पार्टीमा फेरि संकटको पुनरावृत्ति हुने चेतावनी दिएका छन् ।
रावलले भदौ २६ गते स्थायी समिति र २९ गते बसेको सचिवालय बैठकको निर्णयसमेत स्मरण गराएका छन्। उनले पार्टी निर्णयको उल्लंघन नगर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
पार्टीमा सल्लाह नै नगरी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको प्रस्तावमा बिहीबार बिहान मन्त्रिपरिषद्ले तीन देशका लागि राजदूत र मुख्य सचिव नियुक्त गरेपछि रावलले यसअघि जस्तै पार्टीमा अविश्वास पैदा हुने चेतावनी दिएका हुन् ।
मन्त्रिपरिषद् पुनः गठनका विषयमा दुई अध्यक्षबीच कुरा नमिलिरहेका बेला ओलीले एकलौटी रुपमा मुख्य सचिवबाट लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
रावलले ट्वीटरमा लेखेका छन्, ‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ। देश,जनता र पार्टी हितमा आघात पर्नसक्छ। जिम्मेवारहरूको ध्यान जाओस्।
त्यस्तै पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका सल्लाहकार युवराज खतिवडालाई अमेरिका र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।