काठमाडौँ - एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज बिहीबारै सकिँदैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षलाई पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ नेपाल पक्षले बुधबारबाट दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।
भेलाले आगामी तीन महिने अभियानसहितको रणनीति तर्जुमा गर्ने नेताहरुको भनाइ छ । जुन रणनीति तल्लो तहसम्म पुर्याउने उक्त पक्षको तयारी छ । फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान खनाल–नेपाल पक्षले राख्दै आएको छ ।
तर ओली पक्षले यो पक्षलाई गुट भेलाको संज्ञा दिदै गुटका सदस्यहरुसँग कुनै ‘डिल’ नगर्ने चेतावनी दिएको छ । ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठकका नाममा नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रीय समिति नै पुनर्गठन गरेका थिए जसलाई खनाल नेपाल पक्षले खारेज गर्नुपर्ने बताउदै आएको छ ।
ओलीले बोलाएको संसदीय दलको बैठकमा वामदेव गौतम पनि नजाने
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजना गर्ने संसदीय दलको बैठकमा नेता वामदेव गौतम पनि नजाने भएका छन्।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले नेता गौतमलाई पनि खबर आएको तर उनी संसदीय दलको बैठकमा नजाने जानकारी दिए। प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि सरकारी निवास ९बालुवाटार० मा संसदीय बैठक राख्दै छन्।
तर त्यसअघि नै नेपाल–खनाल पक्षले पनि आफूपक्षीय सांसदको छलफल आयोजना गरेको छ। ललितपुरमा हिजोदेखि जारी राष्ट्रिय कार्यकर्ता भेला स्थलमै नेपाल पक्षले सांसदलाई बोलाएको हो।