काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूह भित्र भाडभैलो मच्चीएको छ। धेरै जना मन्त्रीका आकाक्षि भएपछी सबैलाई भाग पुर्याउन र चित्त बुझाउन प्रधानमन्त्रीलाई हम्मे हम्मे परेको छ।
अहिले गृह, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, संघीय ममिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालय रिक्त छ । आफू निकट नेताहरुको दाबीमा भौगोलिक, जातीय, लैंगिक सन्तुलन समेत मिलाउनुपर्ने दबाव प्रधानमन्त्रीमाथि छ । अहिलेको मन्त्रिपरिषद्मा एक जना पनि दलित समुदायका परेका छैनन् ।
त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाव पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी रहेको छ ।त्यसमध्ये पनि जसपा विभाजन गराउँदै सरकारमा सहभागी गराउनेसम्मको राजनीतिक कोर्समा देखिने गरी संलग्न भएका पूर्वमन्त्री महेश बस्नेतको बलियो दावी छ ।
उनीप्रति ओली पनि सकारात्मक रहेको बताइन्छ । बस्नेत २०७१ मा उद्योगमन्त्री थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित बस्नेत २०७४ मा भने भक्तपुर–२ बाट निर्वाचित भए ।
साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कलह चर्केर जाँदा ओलीको सरकार जोगाउने प्रयोजनमा जसपा (साविकको समाजवादी पार्टी, नेपाल)का सांसद ‘अपहरण’को आरोप समेत खेपे । ३० वैशाखमा पनि भक्तपुरको एक रिसोर्टमा जसपाको ठाकुर पक्षका सांसदहरू भेला गराउन पनि उनले नै भूमिका खेलेका थिए ।
बस्नेतसँगै खगराज अधिकारी र कर्णबहादुर थापा पनि गृहमन्त्रीको दौडमा छन् । अधिकारी गण्डकी प्रदेश र थापा सुदूरपश्चिमका हुन् । अहिलेको मन्त्रिपरिषद्मा प्रदेश–२ बाट एघार जना मन्त्री रहेकाले भौगोलिक सन्तुलन कायम गर्न बस्नेत नभएर अधिकारी वा थापा मन्त्री बन्नुपर्ने लविङ ओली समूहमा भइरहेको छ । अधिकारी र थापा दुवै ओलीलाई साथ दिँदै आएका नेता हुन् ।
अधिकारी, थापा, बस्नेतबाहेक प्रधानमन्त्री ओलीलाई लगातार साथ दिँदै आएका नेताहरूले मन्त्रीको आकांक्षा राखेका छन् । सार्वजनिक खपतका निम्ति मन्त्रीको लालसा नराखेको बताउने गरेपनि विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत मन्त्री बन्ने दौडमा छन् ।