गोरखामा निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न नागरिक समाजका अगुवाहरुले आग्रह गरेका छन ।
नागरिक समाजले आज (आइतबार) प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ध्यानकर्षण पत्र बुझाउँदै निषेधाज्ञाका कारण नागरिकको जनजिवन पूर्ण प्रभावित भएकाले मोडालिटी परिवर्तन गरि केही खुकुलो बनाउनु पर्ने माग समेत राखेका छन् ।
पिसिआर जाँच बढाउनु पर्ने , बजार र बित्तिय क्षेत्र केही समय खुलाउनु पर्ने , जिल्ला भित्रको आउजाउलाई केही सहज बनाउनु पर्ने ,नाकामा थप कडाई गर्नु पर्ने लगायतका माग नागरिक समाजले राखेको छ ।
त्यस्तै जिल्ला भित्रका आइशोलेसन र क्वारेन्टिनलाई गुणस्तरीय र मापदण्ड पुगेको बनाउनुपर्ने,म्याद नाघेका सामाग्री बिक्रि वितरण गर्ने, अत्यावस्यक वस्तु र सेवा नदिने अवस्था श्रृजना भएको भन्ने जनगुनासो आएकाले जिल्लाभर वजार अनुगमन प्रकृयालाई नियमित र प्रभावकारी बनाउन पर्ने समेत माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष सिताराम श्रेष्ठ, नागरिक साझा सबाल गोरखाका सहजकर्ता मोहसिन अलि मियाँले हस्ताक्षर गरेका छन ।
यस्ता छन् सुझाव तथा अनुरोधहरु :
कोरोना भाइरसको विश्वब्यापी महामारीको नियन्त्रण तथा प्रतिकार्यको लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य संस्था लगायत स्थानीय सरकारको तर्फबाट भए गरेका कार्यको हामी उच्च मुल्यांकन एवं सरहना गर्दछौ । यस्तो विषम परिस्थितिमा सिमित श्रोत साधनका वीच भएको प्रयासलाई अझ बढाउन र प्रभावकारी कार्यान्वयनका लागि हामी अनुरोध गर्दछौ ।
कोरोना भाइरसको नियन्त्रण तथा यस विरुद्धको प्रतिकार्यका लागि सरकार एक्लैको प्रयास प¥याप्त छैन । त्यसैले यस अभियानमा नागरिक, नागरिक समाज संघसंस्था, आम सञ्चार माध्यम एवं निजि क्षेत्रको संलग्नता बढाउन सरकारको तर्फबाट आवस्यक समन्वय गर्ने एवं सहकार्यको वातावरण तयार गर्न र जिल्लास्तरको बिभिन्न समितिहरुमा समेत नागरिक साझा सवालको प्रतिनिधत्व सुनिश्चित गर्न हार्दिक अनुरोध गर्दछौ ।
समुदायस्तरमा समेत कोरोना भाइरसको संक्रमण देखिन थालेसंगै थप जोखिमको आँकलन गर्दै गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञाका कारण जिल्लाका सम्पूर्ण नागरिकहरुको जनजिवन पूर्ण रुपमा प्रभावित बनेको बिषयलाई मध्यनजर गर्दै जारी निषेधाज्ञाको मोडालिटीमा केहि परिवर्तन गर्नु आवस्यक रहेको नागरिक समाजको निश्कर्ष छ । अतः जिल्ला भित्रिने सबै नाकाहरुमा थप कडाई गर्ने, जिल्लाभर नै पिसिआर परिक्षणको दायरा बढाउने र कन्ट्राक्ट ट्रेसिङ गरी लिइएका नमुनाहरुको रिपोर्टको अध्ययन गरी जिल्लाका वित्तिय क्षेत्र, बजार, ब्यवसायहरुमा निश्चित समय किटान गरी अनिवार्य स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिने र जिल्लाभित्र मात्रै आवतजावतलाई केहि सहज बनाउने गरी ब्यवस्थापन गर्न अनुरोध गर्दछौ ।
जिल्लाभर स्थापना गरिएका क्वारेन्टाइन, होल्डिङ सेन्टर र आइसोलेशन केन्द्रलाई गुणस्तरिय, भरपर्दो र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुकुल बनाउन, नियमित सुधार गर्न अनुरोध गर्दछौ ।
कोरोना महामारीको अवसर छोपी बजारमा बस्तु तथा सेवा प्रवाहमा अवरोध श्रृजना हुने, बजार भाउ वृद्धि गर्ने, म्याद नाघेका सामाग्री बिक्रि वितरण गर्ने, अत्यावस्यक वस्तु र सेवा नदिने अवस्था श्रृजना भएको भन्ने जनगुनासो आएकाले जिल्लाभर वजार अनुगमन प्रकृयालाई नियमित र प्रभावकारी बनाउन अनुरोध गर्दछौ ।
हाल किसानलाई यूरिया मलको अति आवस्यक छ तर जिल्लामा यूरिया मलको चरम अभाव र कालोबजारी समेत भइरहेको ब्यापक जनगुनासो आएकाले तत्काल यसको सहज आपूर्ति ब्यवस्था मिलाई किसानलाई सर्वसुलभ मुल्यमा वितरण गर्ने गरी ब्यवस्थापन मिलाउन अनुरोध गर्दछौ ।
निषेधाज्ञा र यस जोखिमका बिच पनि सरकारी, गैरसरकारी संघसंस्थाहरुमा आवद्ध कर्मचारीहरु, सुरक्षाकर्मीहरुको सरुवा प्रकृया नियमित भइरहेको र यसले जिल्लामा समेत थप जोखिम हुन सक्ने भएकाले तत्कालका लागि यो प्रकृया नगर्न, नगराउन र गर्नै परे सरुवा भई आउने कर्मचारीलाई अनिवार्य क्वारेनटाइनमा बस्ने ब्यवस्था मिलाउन अनुरोध गर्दछौ ।
जिल्लामा सञ्चालित तर लकडाउनका कारण अवरुद्ध भएका विकास निर्माणका आयोजनाहरुको निर्माण कार्य निरन्तरता र आवश्यक निर्माण सामाग्री ढुवानी व्यवस्थापनको लागि सहजिकरण गरिदिनु हुन अनुरोध गर्दछौँ ।