काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणसँगै नेपाल–भारत आर्थिक सहकार्य, लगानी विस्तार र उद्यमशीलताको क्षेत्रमा नयाँ सम्भावना देखिएको छ। दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्नुपर्ने धारणा नेपाली उद्योगपति तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक डा. वरुण चौधरीले व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि भारतले नेपालका लागि दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेको छ। आर्थिक तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त दृष्टिपत्र सार्वजनिक हुनुका साथै आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै चौधरीले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर रहेको बताएका थिए। उनका अनुसार दुई देशबीचको सम्बन्ध व्यापार र कूटनीतिमा मात्र सीमित नराखी लगानी, प्रविधि, रोजगारी र आर्थिक विकाससँग जोड्न आवश्यक छ।
नेपालको कुल व्यापारमा भारतको उल्लेखनीय हिस्सा रहेको उल्लेख गर्दै चौधरीले दुवै देशले सहकार्यबाट पारस्परिक आर्थिक लाभ लिन सक्ने बताएका छन्। नेपाल र भारतबीचको निकट भौगोलिक सम्बन्ध, साझा बजार र सांस्कृतिक सामीप्य आर्थिक साझेदारीका प्रमुख आधार बन्न सक्ने उनको धारणा छ।