नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पुर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसँग भेटवार्ता गरेका छन्।
प्रवक्ता श्रेष्ठलाई भेट्न राजदुत विनय मोहन क्वात्रा श्रेष्ठको निजी निवास हरिसिद्दि पुगेका थिए ।
भेटमा नेपाल भारत सम्बन्धका बिषयका साथै दुई देशकाबीचमा देखिएका समस्या वार्ताको माध्यमबाट गर्नु पर्ने लगायतको बिषयमा छलफल भएको थियो ।
भेटमा परराष्ट्र मन्त्रालयका दक्षिण एसिया मामिला हेर्ने टिकाराम उपाध्यायको पनि सहभागीता थियो ।
नेपालका नेताहरु एक्लाएक्लै खुसुक्क विदेशी राजदूतहरुलाई भेट्ने गरेको भनेर आलोचना भइरहेका बेला श्रेष्ठले परराष्ट्रका पदाधिकारीलाई साथमा राखेका हुन्।
विदेशका कुटनीतिक नियोगसँग भेट गर्नु पर्दा परराष्ट्र मन्त्रालय माध्यमबाट नै भेट गर्नुपर्ने नियम प्रवक्ता श्रेष्ठ परराष्ट्र मन्त्री भएको समयमा बनाएका थिए ।
नेकपाभित्र मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भइरहेको बेला राजदूत क्वात्रा र श्रेष्ठबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।