गाेरखा- जिल्लाका तीन पालिका जित्ने जनप्रतिनिधिलाई आर्थिक, प्रशासनिक तालिम दिइएको छ।
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पहलमा गोरखामा अजिरकाेट, सिरानचाेक गाउँपालिका र पालुङटार नगरपालिकाका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको हो।
प्रशासनिक रुपमा पालिका सञ्चालन गर्ने विधि, तरिका, नियम र कानुनदेखि जनस्वास्थ्य र विकास निर्माणका बजेट निर्माण सम्मको कुरा सिकाइएको थियो।
सोमबार एक दिन भएको अभिमुखीकरण तालिम अजिरकाेटमा भएको हो। पूर्वप्रशासकदेखि कृषिविद्, शिक्षाविद् जनस्वास्थ्यविद् लगायतले तालिम दिएका थिए।
पूर्वराजदूत महेश मास्के, पूर्वमुख्य सचिव तथा राजदूत लीलामणि पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. मीनबहादुर श्रेष्ठ, आयुवेर्दीक चिकित्सक डा. उमेश श्रेष्ठ, शिक्षाविद प्रा.डा. लेखनाथ न्यौपाने, जनस्वास्थ्यविद् डा. शरद वन्त, इन्दिरा पराजुली, अर्थविद् डा. जीवन अंगाई लगायतले पालिका चलाउने विधि, तरिका र कार्यक्रमबारे प्रशिक्षण दिएका थिए।
नयाँ पालिका जितेका जनप्रतिनिधिलाई कसरी पालिकालाई नयाँ बनाउने, जनताको काम कसरी गर्ने? विकास निर्माण कसरी गर्न सकिन्छ भन्ने बारेमा तालिम दिइएको हो। तालिम फलदायी भएको सहभागिहरूले बताएका छन्।
माओवादी केन्द्रले जितेका जिल्लाका नाैं पालिकाका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने तयारी भएपनि अजिरकाेट, सिरानचाेक र पालुङटारमा मात्रै जनप्रतिनिधि उक्त कार्यक्रममा सहभागि भएका थिए ।
गत आईतबार नीति तथा कार्यक्रम ल्याएकाे अजिरकाेटसहित गाेरखाका स्थानीय तहले असार १० अघि नीति तथा कार्यक्रम र असार १६ अघि बजेट ल्याउदैंछ । त्यसकै तयारीका क्रममा ब्यस्त भएकाले उक्त कार्यक्रममा उपस्थिति हुन नसकेकाे जिल्लाका जनप्रतिनिधिकाे तर्क छ ।