• आइतवार, कार्तिक ९ गते २०७७

सांगठनिक फाँटका समस्याबारे

सांगठनिक फाँटका समस्याबारे

सांगठनिक फाँटका समस्याबारे

  • 397
    SHARES

  • सांगठनिक फाँटका समस्याबारे

    आज विश्व साम्राज्यवाद पहिलेदेखि चुलिदैं आएका समस्या र कोभिड– १९ को महामारीका कारण गम्भीर प्रकारका आर्थिक, राजनीतिक तथा सांस्कृतिक सङ्कटको भुमरीमा फस्दै गएको छ । वर्तमान नेपाली प्रतिक्रियावादी राज्यसत्ता पनि एकातिर साम्राज्यवाद तथा विस्तारवाद परस्त चरित्र र अर्कोतिर सरकार संचालक पार्टीमा पैदा भएको अन्तःकलह तथा असक्षमताका कारण चौतर्फी संकटमा परिरहेको छ । यो बेला विश्व झैं नेपालमा पनि क्रान्तिका लागि वस्तुतग परिस्थिति अनुकूल बन्दै गएको छ । परन्तु, आत्मगत स्थिति भने विभिन्न समस्याका कारण कमजोर नै छ ।

    तसर्थ, यो बेला हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा पार्टीमा विद्यमान समस्याहरूको ठोस रूपमा अध्ययन गरी तिनको सही समाधान खोज्न, आत्मगत तयारीका काम सम्पन्न गर्दै जान र सांगठनिक फाँटमा एउटा गुणात्मक फड्को हान्न जरूरी छ । अनि मात्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्नका लागि आत्मगत तयारीका काम पुरा गर्न सकिन्छ ।

    १. कम्युनिस्ट पार्टीका मूल मान्यता

    कम्युनिस्ट पार्टी निश्चित, सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधार एवम् मान्यताहरुको जगमा निर्मित भएको हुन्छ । हामीले कम्युनिस्ट पार्टी सम्बन्धी यस प्रकारका मूल आधार तथा मान्यतालाई सही ढङ्गले आत्मसात गर्न जरूरी छ ।

    यस सन्दर्भमा अहिले ध्यान दिनुपर्ने विषय मूलतः यी हुन्

    (क) कम्युनिस्ट पार्टीलाई परिभाषित गर्ने प्रश्न । माक्र्स र एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमा कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको पार्टीका रूपमा सङ्गठित गर्नुपर्ने कुरा बताउनु भएको थियो । लेनिन र माओले यो मान्यतालाई विकसित तुल्याउनु भएको छ । तदनुसार कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको राजनीतिक पार्टी हो । हरेक वर्गले जस्तै सर्वहारा वर्गले पनि आफ्ना हक, हित तथा उद्देश्यको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी बनाउन आवश्यक हुन्छ । त्यति मात्र होइन, कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गका सवैभन्दा उन्नत, लडाकु र क्रान्तिकारी तत्वहरूद्वारा निर्मित पार्टी हो । कम्युनिस्ट पार्टीलाई परिभाषित गर्ने उक्त मान्यताबारे हामी स्पष्ट हुन जरूरी छ ।

    (ख) पार्टी सदस्यताका शर्त र तिनको महत्व । लेनिनले मेन्सेविकहरूसितको वैचारिक सङ्घर्षको क्रममा भन्नु भएको थियो — “पार्टी सदस्य त्यो हो जसले पार्टीको कार्यक्रम मान्दछ र पार्टीलाई आर्थिक रूपमा तथा पार्टीको कुनै सङठनमा व्यक्तिगत रूपमा सम्मिलित भएर सहायता गर्दछ” । (एक कदम आगे, दो कदम पीछे पृ.६० प्रगति प्रकाशन मास्को १९८५) । यहाँ पार्टी सदस्यताका लागि कार्यक्रम मान्नु, आर्थिक सहायता गर्नु र कुनै समितिमा आबद्ध हुनु भनी तीन शर्तहरूको उल्लेख गरिएको छ । विश्वका सबै कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीद्वारा पनि उक्त शर्तहरू स्वीकार गरिदै आएका छन् । हाम्रो पार्टीको विधानमा पनि यी तीन शर्तहरूको पालन गर्नु पर्ने कुराबारे उल्लेख गरिएको छ । तसर्थ, हामी पार्टी सदस्यताका शर्तहरूको पालन गर्नेबारे गम्भीर बन्न जरूरी छ ।

    (ग) पथप्रदर्शक सिद्धान्त । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त अनिवार्य रूपमा आवश्यक हुने कुराबारे लेनिन र माओले स्पष्ट पार्दै आउनु भएको छ । माक्र्सवाद कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्त हो र आज त्यो माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा विकसित भएको छ । हामीले यस सिद्धान्तलाई दृढतापूर्वक अवलम्बन गर्दै त्यसको रक्षा, प्रयोग र विकास गर्दै जानु पर्दछ ।

    (घ) कार्यक्रम, नीति र कार्यदिशा । पार्टीले क्रान्तिका लागि कार्यक्रम, नीति र कार्यदिशाको निर्धारण गर्दछ । आन्दोलनको वस्तुगत पक्ष अनुरूप कार्यक्रम र आत्मगत पक्षमाथि ध्यानदिंदै नीति निर्धारण गरिन्छ । कार्यक्रम, नीति र योजनाको समग्रतामा कार्यदिशाको निर्धारण हुन्छ ।

    कार्यक्रममा सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका हक, हित र उद्देश्यलाई समेटिएको हुन्छ । देशको अर्धसामन्ती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्था अनुरूप हाम्रो न्यूनतम वा आधारभूत कार्यक्रम नयाँ जनवाद हो । हाम्रो अधिकतम कार्यक्रम समाजवाद हो । हाम्रो अन्तिम उद्देश्य वा गन्तव्य साम्यवाद हो । आन्दोलनको विशेष अवस्था अनुसार विशिष्ट वा तात्कालिक कार्यक्रम पनि बनाउने गरिन्छ । कार्यक्रमका प्राप्तिका लागि नीतिको आवश्यकता पर्दछ । नीति दुई प्रकारका हुन्छन् — रणनीति र कार्यनीति । आवश्यकता अनुसार तात्कालिक वा विशिष्ट नीति पनि बनाउने गरिन्छ । कार्यदिशा क्रान्तिको बाटो अर्थात् मार्गचित्रमा आधारित हुन्छ । कार्यदिशालाई विचारधारात्मक, राजनीतिक, सामरिक आदिका रूपमा वर्गीकृत गर्न सकिन्छ । हाम्रो सामरिक कार्यदिशा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह हो ।

    (ङ) अन्तसङ्घर्ष÷दुईलाइन सङ्घर्ष । पार्टी भनेको विपरीतहरूको एकत्व हो । एउटा सजीव पार्टीमा अन्तःसङ्घर्ष वा दुईलाइन सङ्घर्ष निरन्तर चलिरहन्छ र त्यसो हुनु स्वाभाविकै हो । दुईलाइन सङ्घर्षको प्रारम्भ बिन्दु अन्तःसङ्घर्ष हो भने अन्तःसङ्घर्षको विकसित बिन्दु दुईलाइन सङ्घर्ष हो । हामी यस प्रकारका सङ्घर्षहरूबाट डराउनु हुँदैन । अपितु, यिनलाई स्वस्थ तथा मैत्रीपूर्ण रूपमा एकता–सङ्घर्ष–एकताको पद्धतिद्वारा समाधान गर्दै र रुपान्तरित हुँदै जानु पर्दछ ।

    (च) तीन गर र तीन नगरको मान्यता । क्रान्तिकारी कम्युनिस्ट पार्टीका सदस्यहरूले तीन गर र तीन नगरको सैद्धान्तिक मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ । ती मान्यता हुन् — माक्र्सवाद लागु गर संशोधनवाद होइन, एकताबद्ध होऊ नफुट, खुला र स्पष्ट होऊ छलछाम र षड्यन्त्र नगर । यी माओद्वारा चीनी कम्युनिस्ट पार्टीमा चलेका ठुला दुईलाइन सङ्घर्षका बीचबाट संश्लेषित गरिएका मान्यता हुन् ।

    २. जनवादी केन्द्रीयता र अनुशासनको प्रश्न

    जनवादी केन्द्रीयता पार्टीको साङ्गठनिक सिद्धान्त हो । यस अन्तर्गत जनवाद, केन्द्रीयता, कमिटि प्रणाली, अनुशासन लगायतका विषयहरू पर्दछन् । हामीले यिनको वास्तविक मर्मलाई बुझ्न र तदनुरुप व्यवहारमा जान आवश्यक छ ।
    हाम्रो पार्टी विधानमा भनिएको छ — “पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ । यस अनुसार व्यक्ति सङ्गठनको मातहत, अल्पमत बहुमतको मातहत, तल्लो कमिटि उपल्लो कमिटिको मातहत, सिङ्गो पार्टी केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय महाधिवेशनको मातहत हुनेछन् ।” (नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) विधान ः २०७४ असोज) । यो पार्टीको जनवादी केन्द्रीयता संबन्धी आधारभूत मान्यता हो ।

    जनवादी केन्द्रीयतालाई बुझ्ने र लागु गर्ने क्रममा जनवाद र केन्द्रीयता दुबैलाई निरपेक्ष र स्वायत्त ठान्नु हुँदैन । जनवादमा अतिशय जोडदिंदा अराजकतावादी र केन्द्रीयतामा अतिशय जोड दिंदा नोकरशाही प्रवृत्तिको खतरा पैदा हुन्छ । तसर्थ, हामीले जनवादमा आधारित केन्द्रीयता र केन्द्रीयतामा आधारित जनवादको मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ । हाम्रो पार्टीमा जनवादी केन्द्रीयतालाई सही ढङ्गले बुझ्ने तथा लागुगर्ने सन्दर्भमा अतिजनवाद, नोकरशाही केन्द्रीयता, बैठकमा लिइएका निर्णयहरूको कार्यान्वयनमा उदासीनता, पार्टीविधानको मर्म तथा भावना विपरीत आचरण जस्ता समस्या देखिदै आएका छन् । हामीले यी समस्याबारे गम्भीरतापूर्वक आत्मसात गरी सही समाधान निकाल्नु पर्दछ ।

    ३.कमिटि परिचालनका समस्या

    कमिटि परिचालनका समस्या एकातिर जनवादी केन्द्रीयता र अर्कोतिर कार्यशैलीसित गाँसिएका छन् । यी समस्या मूलतः तीन साङ्गठनिक क्षेत्रका तीन प्रकारका सम्बन्धमा आधारित छन्, ती हुन्ः

    प्रथम, यो उपल्ला र तल्ला कमिटिका बीच सम्बन्धको समस्या हो । उपल्ला र तल्ला कमिटिहरूका बीच जुन सजीव सम्बन्ध भइरहनु पर्ने हो त्यो हुन सकिरहेको छैन । यस निम्ति रिपोर्टिङ्ग र निरीक्षण प्रणालीलाई नियमित बनाइराख्नु पर्दछ ।

    द्वितीय, यो सम्बन्धित कमिटिमा सेक्रेटरी र सदस्यहरूका बीच संबन्धको समस्या हो । यस प्रकारको संबन्ध वास्तविक रुपमा कायम हुन सकिरहेको छैन । हरेक तहका कमिटिहरूमा सेक्रेटरी र सदस्यहरूका बीचमा निरन्तर सजीव संबन्ध कायम राखिरहनु पर्दछ ।

    तृतीय, यो पार्टी, संयुक्त मोर्चा र जवसमोर्चाहरूका बीचको संबन्धको समस्या हो । कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी कमिटिहरू बनाउने तर संयुक्त मोर्चा र जवस मोर्चाका कमिटिहरूको निर्माण तथा परिचालन भने नगर्ने देखिएको छ । फलतः विभिन्न प्रदेश तथा जिल्लाहरूमा आवश्यकता र सम्भावना अनुसार जवस मोर्चाका काम हुन सकिरहेका छैनन् । साथै, कैयौं जवस मोर्चाहरूको केन्द्रीय नेतृत्व र स्थानीय नेतृत्वका बीच पनि आवश्यकता अनुसार सम्बन्ध÷सम्पर्क हुन सकिरहेको छैन । कतिपय ठाउँमा पार्टी र जवसमोर्चाका बीच अधिकार क्षेत्रको विषयलाई लिएर केही प्रश्न पनि उठ्न थालेका छन् । यस समस्याको समाधानका लागि एकातिर सबै तहमा पार्टी, फ््रयाक्सन तथा जवस मोर्चाका बीचको सजीव सम्बन्धमा आधारित संयोजन प्रणालीलाई व्यवस्थित बनाउन र अर्कोतिर होरिजोन्टल (तेर्सो) तथा भर्टिकल (ठाडो) सम्बन्धलाई सुचारू तुल्याउन जरूरी छ ।

    ४.कार्यशैली र चिन्तन शैलीबारे

    कार्यशैली र चिन्तनशैली परस्पर सम्बन्धित छन् । कार्यशैलीसित जोडिएका समस्या चिन्तनशैलीसित जोडिएका हुन्छन् । हामीमा यस प्रकारका शैलीसित सम्बन्धित विविध समस्या रहिआएका छन् ।

    निर्णय गर्ने, योजना बनाउने तर तिनको कार्यान्वयन गर्न नसक्ने, समान्यीकरणमा त जाने तर विशिष्टीकरणमा नजाने— यो जडसूत्रवादसित पनि सम्बन्धित एउटा गम्भीर प्रकृतिको समस्या हो । यसले सिद्धान्तमा जोड दिन्छ, तर व्यवहार वा सिद्धान्तको प्रयोगमा जोड दिदैन । काम गर्ने, व्यवहारमा जाने, तर पार्टीका नीति, निर्णय, योजना वा सिद्धान्तमा ध्यान नदिई आफ्नै सुरले हिड्ने, विशिष्टीकरणमा त जोड दिने तर सामान्यीकरणमा जोड नदिने— यो अनुभववादसित संबन्धित गम्भीर प्रकृतिको समस्या हो । यी दुबै चिन्तन तथा प्रवृत्ति मनोगतवादमा आधारित छन् ।

    यसैगरी हामीसित कार्यशैली र चिन्तनशैलीसित सम्बन्धित अन्य समस्या पनि छन्, ती हुन्–जनवाद वा स्वतन्त्रताको बढी पक्षपोषण गर्ने, तर केन्द्रीयता वा अनुशासनमा ध्यान नदिने, आफूले जिम्मा लिएको भूगोल, क्षेत्र, पार्टी वा जनवर्गीय मोर्चासित संबन्धित काम मात्रमा जोडदिने तर अन्य काममा भने उपेक्षा गर्ने, जिम्मेवारी लिई अर्को क्षेत्रबाट आएका कमरेडहरूलाई तिरस्कार गर्ने— आदि, आदि । यी सबै समस्या बेग्लाबेग्लै प्रकारका सङ्कीर्णतावादसित सम्बन्धित छन् । आफ्नो स्वतन्त्रता वा जनवादमा मात्र जोडदिनु तर केन्द्रीयता वा अनुशासनलाई उपेक्षा गर्नु सङ्कीर्ण व्यक्तिवाद हो । आफ्नै भूगोल, जिम्मा वा समिति मात्रका कामलाई जोडदिनु अन्य ठाउँ, जिम्मा वा समितिका कामलाई उपेक्षा गर्नु सङ्कीर्ण विभागवाद हो । आफ्नै ठाउँ वा क्षेत्रका कमरेडहरूलाई महत्व दिनु अन्य ठाउँ वा क्षेत्रका जिम्मेवारी लिई आएका कमरेडहरूलाई उपेक्षा गर्नु स्थानीय वा क्षेत्रीय सङ्कीर्णतावाद हो । हामीले यस प्रकारका गलत चिन्तन तथा प्रवृत्तिजन्य समस्याहरूको सम्बन्धित समितिहरूमा आवश्यक छलफल गरी समाधान गर्नु पर्दछ ।

    माओले तीन प्रकारका कार्यशैलीमा जोड दिनु भएको थियो, ती थिए — सिद्धान्तलाई व्यवहारसित मिलाउनु, जनसमुदायसित घनिष्ठ सम्बन्ध राख्नु र आत्मालोचना–आलोचनाको विधिलाई प्रयोगमा ल्याउनु । सिद्धान्तलाई व्यवहारसित मिलाउनु भनेको एकातिर सिद्धान्तलाई प्रयोगमा ल्याउनु हो भने अर्कोतिर सिद्धान्त र व्यवहारका बीच एकरूपता कायम गर्नु हो । जनतासित घनिष्ठ संबन्ध राख्नुको अर्थ जनदिशाको मान्यता अवलम्बन गरी जनताबाट लिएर जनतालाई दिनु हो । आत्मालोचना–आलोचनाको विधि भनेको कमरेडहरूमा विद्यमान कमी तथा कमजोरीहरूलाई सच्याउने, रूपान्तरण गर्ने र पार्टीमा विद्यमान अन्तर्विरोधहरूको हलगर्ने पद्धति हो ।

    ५.प्रधान तथा सहायक कामको निर्धारणमा समस्या

    हामीमा पार्टी, संयुक्त मोर्चा, जवस मोर्चा, विभाग लगायत सङ्गठन र सङ्घर्षका सबै कामलाई समानान्तर ढङ्गले ग्रहण गर्ने, त्यसमा पनि सहायक वा दैनिक भैपरिआउने कामलाई प्रधानता दिने र दीर्घकालीन महत्वका कामलाई उपेक्षाका दृष्टिले हेर्ने प्रवृत्ति जान वा अनजानमा बढ्न थालेको पाइन्छ । फलतः क्रान्तिको तयारीका दृष्टिले प्राथमिक महत्वका कामहरू पछाडि पर्न गएका छन् । यसप्रति गम्भीर बन्दै प्राथमिक महत्वका कामहरू सम्पन्न गर्ने तर्फ आवश्यक दृष्टिदिनु पर्दछ ।

    ६.कार्यकर्ता समस्याबारे

    कार्यकर्ता समस्याका विभिन्न पक्ष छन् । यी वस्तुतः नेतृत्वका पनि समस्या हुन् । हामीले यो बेला ध्यान दिनु पर्ने समस्या मूलतः यी हुन् 

    पहिलोः पूर्णकालीन कार्यकर्ताको पहिचानको समस्या । अहिले हाम्रो पार्टीमा तीन प्रकारका कमरेडहरू हुनुहुन्छ — साधारण सदस्य, पार्ट टाइमर र होल टाइमर । यो सामान्य वर्गीकरण मात्र हो, तर कुन कमरेड कुन प्रकारको तहमा हुनुहुन्छ भन्नेबारे हाम्रो लेखाजोखा हुन सकेको छैन । हामीसित यो लेखाजोखा हुनु पर्दछ । यस सन्दर्भमा साधारण पार्टी सदस्य, पार्ट टाइमर, होल टाइमर सबैका ठोस सङ्ख्या र तहको निर्धारण गर्न जरूरी छ ।

    दोस्रोः अध्ययनको समस्या । कतिपय कमरेडहरूले अध्ययनमा रूचि राख्नु हुन्छ र गम्भीर अध्ययन पनि गर्नु हुन्छ । यो राम्रो कुरा हो । तर, एउटा ठुलो तप्काले अध्ययनको महत्वलाई राम्रोसित बुझेको पाइदैन । अध्ययन दुई प्रकारका हुन्छन् — किताबी अध्ययन र व्यावहारिक अध्ययन । हामीले यी दुबै अध्ययनमा जोड दिनु पर्दछ । क्रान्तिका लागि आज दार्शनिक, अर्थशास्त्री, राजनीतिज्ञ, प्रविधिविद लगायत प्रशस्तै बौद्धिक तथा क्रान्तिकारी प्रतिभाहरूको खाँचो छ । हामीलाई दैनिक अखबार र फेसबुके अध्ययनले मात्र कदापि पुग्दैन । यसबारे सिङ्गो पार्टी पङ्क्तिले गम्भीरतापूर्वक सोच्नु पर्दछ ।

    तेस्रोः व्यवस्थापनको समस्या । कार्यकर्ताहरूको व्यवस्थापन एक अनिवार्य आवश्यकता हो । परन्तु, हामीले त्यसतर्फ ध्यान दिन सकेका छैनौं । कार्यकर्ताहरूको व्यवस्थापन गर्न नसक्दा पार्टी हुने खानेले भरिने र नहुनेहरू पाखालाग्ने अवस्था पैदा भई गम्भीर समस्या पैदा हुन सक्दछ । त्यसैले व्यवस्थापन पक्षबारे गम्भीर बन्न जरूरी छ ।

    चौथोः मूल्याङ्कनको समस्या । कार्यकर्ताहरूको मूल्याङ्कनमा पनि केही समस्या पैदा हुँदै आएका छन् । कार्यकर्ता मूल्याङ्कनका कसीका रूपमा क्रान्ति, पार्टी तथा सिद्धान्त प्रतिको निष्ठा, निरन्तरता, काममा खटाइ तथा लगनशीलता, त्याग तथा बलिदानी भावना, अध्ययनको स्तर आदिलाई लिनु पर्दछ । तदनुसार कार्यकर्ताहरूको पदोन्नति र अवनति गरिनु पर्दछ । ज्येष्ठता मात्र पदोन्नतिको आधार बन्न सक्दैन । मूल्याङ्कनको प्रश्नमा न्याय गरिनु पर्दछ ।

    पाँचौः उत्तराधिकारी तयार पार्ने समस्या । यो समस्या जटिल र गम्भीर प्रकारको छ । यो कसैलाई तोकेर हल गर्ने विषय पनि होइन । पार्टी समितिहरूमा एकातिर वृद्ध, प्रौढ र युवाहरूको सन्तुलन मिलाउनु पर्दछ भने अर्कोतिर प्रशिक्षित तथा पदोन्नति गर्नेतर्फ जोड दिनु पर्दछ । यसनिम्ति कुनै विशेष उत्तराधिकारी नभई उत्तराधिकारीहरूको फौज तयार पार्नु पर्दछ ।

    ७. पार्टी स्कुल सञ्चालनबारे

    पार्टी स्कुल सञ्चालन एक अनिवार्य आवश्यकता हो । यो काम अझै नियमित र व्यवस्थित बन्न सकेको छैन । स्कुल सञ्चालनमा व्यवस्थापन, निरन्तरता, मूल्याङ्कन लगायतका समस्या रहिआएका छन् र तिनको समाधान गर्दै जानु पर्दछ । यस सन्दर्भमा ध्यान दिनुपर्ने विषय मूलतः यी हुन् — पाठ्यक्रममा परिमार्जन, शास्त्रीय ज्ञान, विकसित ज्ञान र व्यावहारिक आवश्यकताका बीच एकरूपता, केन्द्रीय तहमा प्रशिक्षकहरूको प्रशिक्षण, प्रदेश तथा जिल्ला तहमा स्कुल सञ्चालन र त्यसको निरन्तरता, सरल तथा राम्रो व्यवस्थापन आदि । पार्टीका विविध कामको कारण स्कुल सञ्चालनमा आवश्यक ध्यान जान सकेको छैन, परन्तु स्कुलिङ्लाई पनि पार्टीकै एउटा महत्वपूर्ण कामका रूपमा लिनु पर्दछ ।

    . पार्टी प्रकाशनबारे

    पार्टी प्रकाशन कतिपय मुस्किलले चल्दै र कतिपय चल्नै नसक्ने अवस्थामा छन् । पार्टी प्रकाशनका समस्यालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छः

    पहिलोः प्रकाशनको आवश्यकता र महत्वलाई बुझ्ने समस्या । पार्टीमा एकथरी कमरेडहरूले प्रकाशनको महत्वलाई बुझ्दै आउनु भएको छ भने अर्कोथरी कमरेडहरू पुरै उदासीन र असहयोगी रहेको पाइन्छ । सर्वप्रथम हामीले यस स्थितिलाई अन्त्य गर्नु पर्दछ । पार्टी प्रकाशन नभए सबै प्रचारात्मक र जनसम्बन्ध तथा सम्पर्क लगायतका काम ठप्प हुन पुग्दछन् । त्यो बेला पार्टीकै अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुन पुग्दछ । तसर्थ, प्रकाशनको कामलाई हामीले वर्गीय विश्वदृष्टिकोण र वर्गचेतनाको एउटा प्रमुख मापनका रूपमा ग्रहणगर्नु पर्दछ ।

    दोस्रोः आर्थिक व्यवस्थापनको समस्या । यो अति जटिल समस्या अवश्य नै हो, तर प्रकाशनको आवश्यकता र महत्वलाई सिङ्गो पार्टी पङ्क्तिले बुझ्न सकेमा यस समस्याको हल गर्न सकिन्छ । लेनिन भन्नुहुन्छ — “कम्युनिस्ट अखबारको अस्तित्वका लागि अति विशाल भौतिक र आर्थिक बलिदानको आवश्यकता निरन्तर रहिरहने छ । जबसम्म कम्युनिस्ट आन्दोलनको स्वयं बलियो आधार बन्ने गरी यो त्यस्तो दृढ सङ्गठनको स्थितिमा पुग्ने छैन र कानुनी जन पार्टी बीच त्यस्तो व्यापक प्रसारमा पुग्ने छैन त्यतिखेर सम्म यसको विकास र आन्तरिक सुधारका साधनहरू आम पार्टी सदस्यहरूबाट नै निरन्तर आपूत्र्ति हुनु पर्नेछ ।” (पार्टी संगठनका सिद्धान्तहरुः सन् १९२१ मा कम्युनिस्ट इन्टरनेस्नलको तेस्रो महाधिवेशनमा पारितः अनु. निनु चापागाईँ, सिर्जनशीन प्रकाशन काठमाडौं, २०५७) । स्मरण रहोस्, रूसमा सन् १९१२–१३ को अति जटिल स्थितिमा त्यहाँका मजदुरहरूले आफ्ना तलबबाट आर्थिक सहयोग गरी “प्राब्दा” पत्रिकाका प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    तेस्रोः अन्य समस्या । साथै, प्रकाशनका क्षेत्रमा स्तरीयता, ग्राहक, बिक्री वितरण, विज्ञापन, सम्वाददाता आदिसित सम्बन्धित अनेकौं समस्या पनि छन् । परन्तु, पार्टी पङ्क्ति सचेत र एकढिक्का भई लाग्ने बित्तिकै हामीले प्रकाशनका समस्यालाई समाधान गर्न सक्तछौं र अनिवार्य रूपमा गर्नु पर्दछ ।

    ९. आर्थिक व्यवस्थापनको समस्या

    पार्टीमा आर्थिक व्यवस्थापनको समस्या जटिल र गम्भीर बन्दै गएको छ । समस्याका कारण र समाधानका उपायबारे गम्भीर प्रकारको छलफल चलाउन जरूरी छ । आर्थिक समस्याको कारण पार्टीका कार्यालयहरूको सञ्चालन र प्रकाशन लगायत विविध प्रकारका समस्या पैदा हुँदै आएका छन् । आर्थिक व्यवस्थापनको समस्याका मूलतः दुई ओटा कारण रहेका छन् । पहिलो कारण पार्टीमा आर्थिक अनुशासन कमजोर बन्दै जानु हो । दोस्रो कारण विभिन्न प्रकारका वैकल्पिक उपायहरूको खोजी तथा तिनको कार्यान्वयनमा जोड दिन नसक्नु हो ।

    आर्थिक समस्या वस्तुतः आर्थिक मात्र नभई वैचारिक समस्या हो । आर्थिक समस्याको समाधानका लागि यसरी सोच्न जरूरी छः पहिलो, आर्थिक अनुशासनको प्रश्नमा आवश्यक छलफल गरी निष्कर्षमा पुग्नु पर्दछ । दोस्रो, आत्मनिर्भरताको बाटो अवलम्बन गर्न तथा त्यसका विविध पक्षबारे ठोस प्रस्ताव ल्याउन जरूरी छ । र तेस्रो, विविध प्रकारका वैकल्पिक योजना बनाउनु आवश्यक छ ।

    आर्थिक विषयसित सम्बन्धित प्रश्नमा केन्द्र, प्रदेश र जिल्लाहरूमा व्यापक बहस तथा छलफल चलाई सार्थक तथा परिणाममुखी निष्कर्ष निकाल्नु पर्दछ ।

    १०. आत्मालोचना–आलोचना

    पार्टीलाई गतिशील, जुझारू तथा क्रान्तिकारी रूपान्तरण गर्नका लागि आत्मालोचना र आलोचना पद्धतिको विशेष महत्व छ । तर, यस पद्धतिलाई व्यवस्थित र प्रभावकारी बनाउन भने सकिएको छैन । यसो हुनुको एउटा मुख्य कारण कमिटिहरू आकारका दृष्टिले अलि ठुला हुनु पनि हो । तर यति भनेर मात्र पुग्दैन । यस पद्धतिको उपादेयता र महत्व बुझ्नेबारे हामीमा अझै एकरूपता पैदा हुन सकेको छैन ।

    आत्मालोचना र आलोचना पद्धतिको महत्व यस प्रकार रहेको छ —

    (१) यसले सम्बन्धित कमरेडहरूमा विद्यमान कमी, कमजोरी तथा सीमालाई सच्याउन र हटाउन राम्रो मद्दत गर्दछ ।

    (२) आत्मालोचना–आलोचना पद्धति भनेको पार्टीमा विद्यमान अन्तर्विरोधहरूको समाधान गर्ने एउटा प्रमुख साधन हो ।

    (३) यो पद्धति शुद्धीकरण आन्दोलनको एउटा महत्वपूर्ण प्रारम्भिक रूप हो । शुद्धीकरण आन्लदोलनमा एकता–आलोचना–एकताको प्रक्रिया अवलम्बन गरिन्छ र त्यसो गर्दा आलोचना–आत्मालोचनाको विधिलाई प्रयोगमा ल्याइन्छ । उक्त कुराहरूमाथि ध्यानदिदै हामीले आत्मालोचना–आलोचना गर्ने पद्धतिलाई केन्द्रीय समितिदेखि तलसम्म नियमित प्रक्रियाका रूपमा प्रयोगमा ल्याउन सक्दो प्रयन्त पर्दछ ।
    साभार ः नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय मुखपत्र, पूर्णाङ्क १५, भाद्र २०७७

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology